काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) को पहिलो संस्करण पोखरा पल्टनले जितेको छ । पोखरा रंगशालामा भएको खेलमा पोखराले चितवन राइनोजलाई हराएको हो । पोखराका कप्तान शरद भेषावकर हुन् भने चितवनका पारस खड्का । चितवनलाई पोखराले ३ विकेटले हराएको छ । विजेताले २७ लाख रूपैयाँ पुरस्कार पाउनेछ ।
फाइनलमा पोखराका रवि इन्दरले ५८ बलमा ९० रन बनाएपछि चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।
पहिलो ओभरमै ओपनर कुशल भुर्तेललाई गुमाए पनि आसिफ शेख र रवि इन्दरले पोखराको इनिङ सम्हाले । दुई दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे । आसिफ १२ रन बनाएर आउट भएपछि रवि इन्दरले मोहम्मद नाभिदसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गर्दै टोलीको दबाब चिरे ।
नाभिद आउट भएपछि रवि इन्दर सिंहलाई कप्तान शरद भेषावकरले साथ दिए । २२ रन बनाएर पवेलियन फर्किएका शरदले रवि इन्दरसँग ५० रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याएका थिए । तर १८औं ओभरमा भुवन कार्कीले दुई विकेट लिएपछि चितवनले पुनरागमनको प्रयास गर्यो ।
शरदलाई एलबिडब्यू आउट गरेका भुवनले रोहितकुमार पौडेललाई शक्ति गौचनमार्फत् क्याच गरे । लगत्तै कृष्ण कार्कीले छक्का हान्दै पोखराको दबाब चिर्ने प्रयास गरे । तर १९औं ओभरमा पारस खड्काले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गरेका रवि इन्दरलाई आरिफ शेखमार्फत् क्याच गरे । अर्को बलमा कृष्ण कार्की रन आउट भएपछि घरेलु टोली पोखरा पुनः दबाबमा परेको थियो । पोखरालाई जितका लागि अन्तिम ओभरमा ४ रनको आवश्यकता थियो । भुवन कार्कीले पहिलो बल डट खेलाए पनि दोस्रो बललाई विनोद भण्डारीले चौका हान्दै पोखरलाई ३ विकेटको रोमाञ्चक जित दिलाए ।
ट्वान्टी–२० घरेलु लिगमा यसअघि शरद र पारसको टोली दुई पटक आमने सामने हुँदा पारसले नतिजा आफ्नो पक्षमा पारेका थिए । तर, पोखरामा पारस त्यही नतिजा दोहोर्याउनबाट चुके । धनगढी प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिगको फाइनलमा पारस र शरदको टोली आमनेसामने भएको थियो । चितवनका भुवन कार्कीले २ विकेट लिँदा पारस, सन्नी पटेल र करण केसीको नाममा १–१ विकेट रह्यो ।
त्यसअघि घरेलु टोलीका कप्तान शरदले पोखरा रंगशालमा टस जितेर चितवनलाई ब्याटिङका लागि निम्त्याएका थिए । ललितनारायण राजवंशीले दोस्रो ओभरमै चितवनका अोपनर हरिशंकर शाहलाई विकेटकिपर विनोद भन्डारीमार्फत् स्टम्पिङ गराउँदै कप्तानको बलिङ गर्ने निर्णयलाई सही सावित गरे ।
तर, अर्धशतक बनाएका कप्तान पारसले दोस्रो विकेटका लागि अनिलकुमार शाहसँग दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दै चितवनको इनिङ उकासे । ३७ बलमा ९ चौकासहित ५१ रन बनाएका पारस रनआउट भए । पारस आउट हुँदा चितवन ८५–२ को स्थितिमा थियो ।
त्यसपछि अनिलकुमार र सन्नी पटेलले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै चितवनलाई सम्मानजनक स्कोरतर्फ डोर्याए । अनिलकुमारले ३७ रन जोड्दा सन्नी पटेलले ४३ रन बनाए । पटेलले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । आरिफ शेख १४ रनमा अविजित रहे । चितवनले ५ विकेट गुमाएर १ सय ६० रनको योगफल बनायो ।
पोखराका कृष्ण कार्कीले २ तथा ललितनारायण र मोहम्मद नाभिदले १–१ विकेट लिएका थिए ।