site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘पुरानो डुंगा’को अग्निपरीक्षा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
नरेश फुयाँल
नेपाली चलचित्र जगतमा परिचित नाम हो रामबाबु गुरुङ । थोरै तर फरक गरेर स्थापित भएका रामबाबु एउटै चलचित्रबाट शिखरमा पुगेका निर्देशक हुन् । ‘कबड्डी’ बनाएर आफूलाई सफल निर्देशकका रूपमा चिनाएका गुरुङले ‘कबड्डी कबड्डी’ बनाएर आफूलाई थप अब्बल निर्देशकको सूचीमा पु¥याए ।
मूलधारका चलचित्रबाट अलग रहेर उनले फरक धारका चलचित्र बनाए । दूरदराजका सामान्य विषयवस्तुलाई टपक्क टिपेर दर्शकमाझ उभ्याउने रामबाबुका विषयवस्तु त आफैंमा फरक हुन्छन् नै, तिनको प्रस्तुति पनि फरक हुन्छ । यो उनको आफ्नै ‘अन्दाज’ हो ।
थोरै तर सफल चलचित्र बनाउने उनै रामबाबु यतिबेला अर्को चलचित्र बनाइरहेका छन्, ‘पुरानो डुंगा’ । पोखराको बेगनास र फेवाताल वरपर खिचिएको यो चलचित्रको सुटिङ सकेर उनी अहिले एडिटिङ रुममा छन् । ‘कबड्डी’भन्दा फरक विषय लिएर दर्शकमाझ आउन लागेका रामबाबुको नयाँ चलचित्रचाहिँ कस्तो छ ? विषयवस्तु र प्रस्तुतिका हिसाबले चलचित्र कस्तो बनेको छ ? बाह्रखरीका यस्तै प्रश्नको जवाफ दिँदैछन् रामबाबु :
 
‘पुरानो डुंगा’को काम कहाँ पुग्यो ?
पोस्ट प्रोडक्सनको काम चलिरहेको छ । रफ एडिटको काम सकियो । अब यसलाई फेरि एकपटक हेरेपछि साउन्डको काममा लाग्छौं । प्रमोसनका लागिचाहिँ अहिले टिजरमात्र आउट गरेका छौं । यसको कम्प्लिट प्रमोसनको कामचाहिँ असोज पहिलो हप्ताबाट सुरु हुन्छ । 
 
दर्शकले टिजर कत्तिको मन पराए ?
युट्युबमा अपलोड गरेको २४ घण्टामा ८६ हजारले हेरेका थिए । 
 
चलचित्रको विषयवस्तु के हो ?
‘पुरानो डुंगा’को विषयवस्तु सामान्य नै हो भन्न रुचाउँछु म । तालमा डुंगा चलाएर बसेको व्यक्तिको कथा हो । डुंगा चलाएर तालका माछा मार्ने र पर्यटकलाई डुंगामा घुमाएर सामान्य तरिकाले जीवन गुजारिरहेको हुन्छ घरको जेठो छोरो दाइले । तर, भाइचाहिँ सहरिया रहनसहनबाट प्रभावित भएर बतासे भएर हिँड्छ । बतासेको बाइक किन्ने सपना हुन्छ । बाइक किन्नका लागि उसले दाइसँग अंशका रूपमा डुंगा माग्छ । सम्पत्तिको रूपमा भएको डुंगा मागेपछि दाजुभाइको पारिवारिक सम्बन्धमा दरार पैदा हुन्छ । दाजुले डुंगा चलाएर गाउँको परिवार धान्नुपर्ने बाध्यता र यता सहरमुखी बनेको भाइ बतासेको कथालाई समानान्तर रूपमा लैजाँदा उनीहरूले जीवनमा भोग्नुपर्ने समस्या नै चलचित्रको कथा हो ।
 
यो कथा वास्तविक हो कि काल्पनिक ?
रियल कथा होइन । तर, पूरै काल्पनिक पनि होइन । माओेत्से गुरुङको स्टोरी आइडिया हो । मेरो ससुराली पोखरा हो, उहाँको पनि उतै । हामी दुवै फिल्म मेकर पोखरा आउने–जाने क्रममा कुरा भइरहन्थ्यो । उहाँले एकदिन तालमा डुंगा चलाएर बस्नेको कथामा मेन स्ट्रिमकै चलचित्र गर्न सकिन्छ भन्नुभयो । मैले ‘हुन्छ, स्टोरी डेभलप गरौं, सँगै मिलेर काम गरौं’ भनें । मैले स्टोरी लेख्न सुरु गरें । उहाँ र मेरो कम्पनी मिलेर काम गर्न थाल्यौं । ‘पुरानो डुंगा’को कन्सेप्ट यसरी आयो र सुरु भयो । कमर्सियल रूपमा जान रियलसँगै केही कथा काल्पनिक पनि छ । तर, कथा यथार्थपरक भएकाले विश्वास गर्न सहजै सकिन्छ ।
 
कथावस्तुका हिसाबले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ र ‘पुरानो डुंगा’ कुन बलियो ?
‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ दुवै लेखिसकेपछि केही कमी–कमजोरी म आफैंले पनि भेटेको थिएँ । सच्याउन मिल्ने कति ठाउँमा सच्याएँ पनि । कति ठाउँमा चाहेर पनि सच्याउन सकिएन । यसमा पनि केही कमीकमजोरी छन् । त्यो फिल मैले पनि गरेको छु । म आफैं जुन लेबलमा गएर लेख्न सक्छु, त्यो ठाउँसम्म पुगेर लेख्न सकेको छैन । कति कुरा सुटिङमा गएपछि पनि कम्प्रोमाइज गर्नुपर्छ । 
अघिल्ला फिल्म र यो बेग्लै छन् । ‘पुरानो डुंगा’ इमोनसनल र सेन्टिमेन्टल छ । बतासेको रोलचाहिँ हँसाउने खालको छ । लेख्ने मै हो, त्यसैले धेरै फरक त नहोला । तर, कथावस्तु, लोकेसन र सुटिङ भने फरक नै छ । 
 
आफैंले लेख्न सक्नेजति पनि लेख्न नसक्नुको कारणचाहिँ के नि ?
कतिपय कुराहरू भनेजस्तो गर्न सकिँदो रहेनछ । लेख्दै जाँदा टेक्निकल्ली मिस्टेकहरू हुँदारहेछन् । देख्दादेख्दै पनि सच्याउन सकिँदैन । किनभने, एउटै व्यक्तिले सबै कुरा गर्नुपर्ने हुँदा त्यो गर्न सकिँदैन । यसमा लेखककै कमजोरी मान्नुपर्छ । म आफैं स्क्रिप्ट लेख्छु । खासमा म त निर्देशक हुँ नि । लेखकको अभाव नै हो । हेरौं, सोचेजस्तो त के पो हुन्छ र ? तर पनि दर्शकलाई न्याय गर्ने प्रयास गरेको छु । सत्यचाहिँ के भने– ओहो ! मैले गज्जब नै लेखें, आफ्नै लेखाइले आफूलाई आनन्द दियो भन्ने गरीचाहिँ लेख्न सकिएको छैन । 
 
रामबाबु चलचित्र लेखकभन्दा पनि निर्देशक हुन् । हुन त उनले धेरै चलचित्र निर्देशन गरेका छैनन् । ‘अनागरिक’, ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ निर्देशन गरेका छन् । ‘अनागरिक’ पूर्ण व्यावसायिक थिएन । त्यसैले उनको पहिलो व्यावसायिक चलचित्र ‘कबड्डी’ हो, जसमा उनले आफूलाई दर्शकमाझ ‘एक्सपेरिमेन्ट’ गरेका थिए । त्यही चलचित्र हिट भयो । मूलधारका चलचित्रको बाढी आइरहेका बेला त्योभन्दा फरक गरेका उनको कथा र निर्देशकीय क्षमतालाई दर्शकले पत्याए । सिक्वेलका लागि कथा उठाउन मिल्ने ठाउँ छोडे पनि उनले सिक्वेल गर्छु भन्ने सोचेका थिएनन् । तर, पछि सिक्वेल नै गरे । कथा थकाली जातिको थियो । त्यो पनि आफैंले लेखे, त्यो पनि हिट भयो । आफैंले लेखेका चलचित्र हिट भए पनि सकेसम्म व्यावसायिक लेखकले नै चलचित्रको कथा लेख्नुपर्छ भन्ने उनको मान्यता छ ।
 
भनेजस्तो स्क्रिप्ट लेख्न सक्दिनँ भन्ने जान्दाजान्दै आफैं किन लेख्नुहुन्छ त ?
काम त गर्नु नै पर्छ नि । कामको ‘प्लान’ गरिएको हुन्छ । कथाको कन्सेप्ट मोटामोटी दिमागमा हुन्छ । काम गर्ने निश्चत समय हुन्छ तर कथा लेख्ने मान्छे खोज्दा पाइँदैन । अनि म आफैं लेख्न बस्नुपर्छ । धेरै कम्प्लिकेटेड भएर पनि काम बन्दैन । ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ लेखिसकेर ‘पुरानो डुंगा’सम्म आइपुग्दा धेरै प्रोगे्रस भयो होला, आफूलाई सुधार्दै लगें होला भन्ने पनि लाग्छ ।
 
फिक्सन लेखिरहेको साहित्यकारलाई कथा लेखाउन सकिँदैन ?
मैले भनेको र खोजेको त्यही त हो । नेपालमा चलचित्र राम्रो बन्न नसक्नुको कारण पनि यही हो, दक्ष स्क्रिप्ट राइटर नभएर । यहाँ निर्माता÷निर्देशकहरू राम्रो स्क्रिप्टलाई ५ देखि १५ लाख रुपैयाँसम्म तिर्न तयार छन् । तर, लेख्ने दक्ष राइटर भेटिँदैन । साहित्यमा लागेका साथीहरूले अध्ययन गरेर स्क्रिप्ट लेखिदिए भने पावरफुल स्क्रिप्ट आउला भन्ने लोभले मैले थुप्रै साहित्यकार साथीहरूलाई स्क्रिप्ट लेख्न आग्रह पनि गरेँ । तर, त्यो सम्भव भएन । 
 
कस–कसलाई आग्रह गर्नुभयो ?
लेखक तथा कवि उपेन्द्र सुब्बा, बुद्धिसागर, श्याम शाह, श्रवण मुकारुङ, राजन मुकारुङसँग त मैले पटक–पटक आग्रह गरेको छु । तर, उहाँहरूका पनि आफ्नै बाध्यता होलान् । केहीले हुन्छ भन्दाभन्दै पनि पछि विभिन्न कारणले लेख्नुभएन । राजन मुकारुङसँग त तीन महिना सँगै बसेर स्क्रिप्टका लागि काम नै गरें । तर, बीचमा उहाँले अरु उपन्यास नै लेखिसक्नुभयो । त्यो काम यत्तिकै भयो । 
श्याम शाहले लेखेको ‘लाटीको छोरो’ मलाई मन परेर ‘यसलाई स्क्रिप्ट नै बनाऊँ न’ पनि भनें । यस्ता धेरै उदाहरण छन् । नेपाली कथा र स्क्रिप्ट पूर्ण र पावरफुल नभएर नै चलचित्र राम्रा नबनेका हुन् । पत्रकार यज्ञशलाई पनि भनेको हो । सामान्यतया एउटा स्क्रिप्टलाई ३० हजारदेखि एक लाखसम्म त दिने हो । तर, राम्रो लेख्यो भने १०/१५ लाख रुपैयाँसम्म दिन सकिन्छ । आखिर बुक पनि राम्रोसँग चल्यो भने कमाउने त्यही त हो । कृति र चलचित्र एकै पटक तयार पार्न पनि सकिन्छ नि । तर, यो गहिराइमा गएर हुन सकेकै छैन । 
 
यसरी साहित्यकारलाई आग्रह गर्दा पनि स्क्रिप्ट नआउँदा पुराना चलेका आख्यानमा चलचित्र पनि बनाउन सकिन्छ नि ! पछिल्लो समय यो भई पनि रहेको छ । हैन र ?
पहिलो कुरा त म पुस्तक नै धेरै पढ्दिनँ । त्यसैले योचाहिँ ठीक छ है भन्ने लाग्ने कुरा भएन । दोस्रो– त्यो यति लामो आख्यानलाई पटकथामा ढाल्न पनि समस्या हुन्छ । क्यानभास ठूलो हुन्छ । कति राख्नैपर्ने कुरा छुट्न सक्छन्, कति नभएका कुरा थप्नुपर्ने पनि हुन सक्छ । यसो हुँदा कृति र सर्जकलाई अन्याय पनि होला । सबै कुरा व्यावसायिक हुन्छ भन्ने त छैन । तर, लगानी गरिसकेपछि नाफा नभए पनि कम्तीमा लगानी त उठ्नुपर्छ भन्ने मान्यता मेरो छ । त्यसैले पनि यतातर्फ हात नहालेको हुँ ।
 
बजार र व्यापारको हिसाबले तपाईंलाई ‘कबड्डी’, ‘कबड्डी कबड्डी‘ र ‘पुरानो डुंगा’ कुन सफल होला जस्तो लागेको छ ?
‘कबड्डी’ त मेरो पहिलो प्रोजेक्ट थियो । त्यो प्रयोग थियो तर पनि राम्रो भयो । ‘कबड्डी कबड्डी’ पनि राम्रो चल्यो । ‘पुरानो डुंगा’ पूरै व्यावसायिक होइन भनेर पनि भन्न सकिँदैन । किनभने यसमा पूरै रियल स्टोरीमात्र नभएर कहीँ काल्पनिक कथा बुनेर प्रस्तुत गरिएको छ । यसको अर्थ व्यावसायिकता नै हो । दर्शकले मन पराइदिऊन् भन्ने नै हो । अहिले दर्शकले ‘इन्टरटेन’ गरिरहेको भने हाँस्य क्यारेक्टर हो । यो पनि हामीले बतासेमार्फत दिएका छौं । तुलनात्मक हिसाबले ‘कबड्डी कबड्डी’जस्तो नभए पनि व्यावसायिक नै हो । त्योभन्दा राम्रो बनाउने लक्ष्य छ । त्यहीअनुसार काम पनि भइरहेको छ । ‘कालो पोथी’जस्तो पनि सिनेमा पनि त चल्यो । बनाउँदा त्यो व्यावसायिक भनेर बनाएको त होइन । त्यसैले राम्रोसँग बनाउन सकियो भने जुनसुकै सिनेमा पनि व्यावसायिक हुन्छ । दर्शकले मन पराउँछन् । 
 
‘पुरानो डुंगा’मा सिक्वेल बनाउने ठाउँ छोड्नुभएको छ कि छैन ?
यो सिक्वेल बनाउने स्टोरी होइन । तालको छेउमा बसेर जीवन गुजारा गरिरहेको देखेर त्यसलाई चलचित्रमा उतार्न सकियो भने फरक टेस्ट पनि हुन्छ भनेर गरेको हो । स्टोरी नै साँघुरो छ । सिक्वेल बनाउन सकिँदैन । राम्रो पनि हुँदैन । 
 
‘पुरानो डुंगा’ कुनै व्यक्ति विशेषमा आधारित कथाबाट प्रभावित भएर गर्नुभएको हो ?
होइन । तर, यसको महसुस पछि भयो । पुस्तौंदेखि डुंगा चलाएर बसिरहेका व्यक्ति हुँदाहुँदै त्यो गर्न सकिन्थ्यो । मैले स्टोरी विकास गर्दा रियल लोकेसनमा गएर बसेर त्यहाँको वास्तविकता थाहा पाएर कथा लेख्छु । 
यसमा काम गर्दा त्यहाँका भुजेल, गुरुङ, माझी, श्रेष्ठहरू तालमा माछा मारेर र डुंगा चलाएर खाने परम्परा थियो । तर, पछि बिस्तारै पोखरा पर्यटनमा आकर्षित भयो । त्यहाँ व्यावसायिक हिसाबले मान्छेहरू आउन र व्यवसाय गर्न थाले । त्यहाँका स्थानीयको मौलिकपन हराउँदै गयो । त्यहाँ उनीहरू नै अल्पसंख्यक हुन पुगे । बजार ठूलो हुँदै गयो । ताल मिचिँदै गयो । तालका माछा पनि अरुले नै मार्न थाले । उनीहरूको पेसा नै संकटमा पर्न थाल्यो । ताललाई व्यापारीहरूले आयस्रोतको बाटो बनाए । बिस्तारै उनीहरुको पेसा नै लोप हुँदै गयो । 
यो सबै कुरा सिनेमामा देखाउन खोजिएको थियो । तर, सम्भव भएन । दाजु र भाइको कथामात्रै देखाएका छौं । 
 
डुंगा चलाएर बस्ने दाजु र सहरिया रहनसहनबाट प्रभावित भाइ कसलाई सफल पात्रको रूपमा देखाउनुभएको छ ?
दुवै पात्र विफल छन् । 
 
तपाईंका चलचित्र सफल हुनुका पछाडि स्थापित कलाकारको पनि मुख्य हात रहँदै आएको छ भन्ने टिप्पणी हुने गरेको छ । यसमा पनि त्यही हो ?
ठीक हो । यसलाई म पूरै नकार्दिनँ । दयाहाङ राई मेरो चलचित्रमा देखिने नियमित पात्र हो । लामो संगत छ हाम्रो । उसले मलाई र मैले उसलाई जसरी चिन्छौं, शायद यति नजिकबाट अरुले बुझ्छन् जस्तो लाग्दैन । 
कथावस्तुअनुसार मैले अरु पात्रलाई पनि लिएको छु नि । त्यो चलचित्रमा देखिरहनु पनि भएको छ । ‘पुरानो डुंगा’मा मेन क्यारेक्टर माओत्से गुरुङ हो । दयाहाङ राईलाई बजारमा प्रयोग पनि गर्नुप¥यो । कास्टिङमै प्रब्लम आउने भयो भने राखिँदैन । यो चलचित्रमा उनीहरूको पृष्ठभूमि पनि मिल्छ । त्यही भएर उहाँहरूसँग काम गरेको हो ।
लोकल आर्टिस्टमा मात्र पनि भर पर्न सकिएन । व्यावसायिकता पनि हेर्नुपर्छ । निर्देशकका हिसाबले मैलेमात्र इन्टरटेन गरेर पनि हुँदैन । निर्माताको एंगलबाट पनि हेर्नुपर्छ । मैले चलचित्र बनाउँदा करोडमाथि खर्च गरिदिने अनि चलचित्रले लगानी पनि उठाएन भने के हुन्छ ? त्यो पनि त गर्नु भएन । हामी त यही क्षेत्रमा लामो समय रहने मान्छे भविष्य पनि हेर्नुपर्छ । आफू बचेर अरुलाई पनि बचाउनुपर्छ । 
 
‘पुरानो डुंगा’को पोस्ट प्रोडक्सनको काम भइरहेको छ । भर्खर टिजर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक हुन बाँकी नै छ । चलचित्र साउन्डमा पनि गएको छैन । तर, उनले चलचित्रको कथा बताउन जिब्रो चपाएनन् । कथा सविस्तार बताए । मूलधारका निर्देशक वा निर्माता भएका भए कथाको ‘क्लु’ दिन हच्किन्थे । ‘चलचित्र नै हेरेर थाहा पाउनुहोला’ भन्थे । ‘चलचित्र उत्कृष्ट छ, हेर्नैपर्ने छ’ भन्थे । तर, उनले त्यसो भनेनन् । आधा घण्टाको बसाइमा ‘पुरानो डुंगा’को कथा भने, त्यसका पात्र र प्रवृत्ति बताए । आफ्ना कमीकमजोरी र चलचित्र जगतबारे बताए र आफ्नो पाइपलाइनमा रहेका प्रोजेक्टबारे पनि सुनाए । किनकि, उनी मूलधारका निर्देशक होइनन् । त्यसैले त रामबाबु अरुभन्दा फरक छन् । तुलनात्मक रूपमा अब्बल र सक्षम छन् । 
 
मैले रामबाबुलाई सोधेँ, “दयाहाङ राई ‘बतासे’ र प्रियंका कार्की ‘चन्दू’ कस्ता पात्र हुन् ?
सहरिया केटाहरूझैं मोटरसाइकलका लागि डुंगा नै अंश मागेर बेच्न खोज्छ बतासे । ऊ हाउडे पात्र हो । चन्दूलाई आफूतर्फ आकर्षित गर्न मोटरसाइकल किन्न चाहन्छ । मोटरसाइकल पनि चलचित्रको एउटा पात्र हो । मेनुका प्रधानलाई पौडी खेल्न आउँदैन, बतासेलाई बाइक चलाउन । बतासे मेनुकासँग बाइक सिक्न उनलाई पूरै दिन पौडिन सिकाउँछ । यता, चन्दू पनि सपना बोकेर घरबाट भागेर पोखरा आएकी केटी हो ।
 
चलचित्रमा लगानी कति छ ?
पब्लिसिटी खर्चसहित १ करोड ५ लाख । 
 
कथा लेखन : रामबाबु गुरुङ/उपेन्द्र सुब्बा
निर्देशन : रामबाबु गुरुङ
कलाकारहरू : दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर मुकारुङ, धनबहादुर गुरुङ आदि ।
निर्माता : रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार, धनबहादुर गुरुङ 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC