site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सीमाङ्कनको नाममा तराईका जिल्लालाई पहाडबाट अलग नगरौँ 

संविधानको कार्यान्वयन अझै पनि  जटिल देखिएको छ । संविधानअनुसार अहिलेको संसद्को अवधि अब एक वर्ष २ महिनामात्र बाँकी छ । सरकारको प्रमुख काम तीन तहका व्यवस्थापिकाको चुनाव सम्पन्न गर्नु हो । तर, चुनावका लागि सामान्य वातावरण पनि निर्माण हुन सकेको छैन । सञ्चार माध्यमका अनुसार सरकारले पाँच नम्बर प्रदेशका तराईका जिल्लालाई अलग्याउने गरी संविधान संशोधनको प्रस्ताव तयार गरेको छ । यसैगरी पूर्व तथा सुदूर पश्चिम तराईका जिल्लाका सम्बन्धमा आयोग बनाएर काम गर्ने सोचसमेत सरकारको रहेको बुझिएको छ । संविधान संशोधन किन र कसका  लागि भन्ने स्पष्ट धारणासमेत सरकारले सार्वजनिक गर्न सकेको छैन । 
सीमाङ्कनको औचित्य
संविधान सम्झौताको दस्तावेज हो । राजनीतिक दलहरूका बीचमा आआफ्नै अडान भए पनि ९० प्रतिशतभन्दा बढी सांसदको हस्ताक्षरबाट अहिलेको संविधान जारी भएको हो । यति धेरै सभासद्हरूको अनुमोदनबाट संसारको कुनै पनि देशमा संविधान बनेको छैन । प्रजातान्त्रिक प्रक्रियामा भाग लिएपछि सार्वभौम संसद्को सम्मान गर्नु सबैको कर्तव्य हो । बेलायतमा ५१ प्रतिशत जनताले युरोपियन युनियनबाट अलग हुने निर्णयलाई त्यहाँका राजनीतिक दलले सम्मान गरेका छन् । यिनै ५१ प्रतिशतको निर्णयका आधारमा बेलायत युरोपियन युनियनबाट अलगिँदै छ । अमेरिकाको इलेक्ट्रोरल मतदान विधिका कारण डोनाल्ड ट्रम्पभन्दा चार लाख बढी भोट प्राप्त गरे पनि हिलारी क्लिन्टन अमेरिकाको राष्ट्रपति हुन सकिनन् । तर, पनि उनले सहजै हार स्वीकार गरिन् ।

प्रजातान्त्रिक प्रक्रियामा भाग लिएपछि जनताको अभिमतको सम्मान सबैले गर्नुपर्छ । नेपालमा अहिले जसरी  प्रदेशको सीमाङ्कनमा परिवर्तन गर्न खोजिँदैछ, त्यो गलत छ । संविधानअनुसार संघीय आयोगमार्फत् सरकारले प्रदेशको सीमाङ्कनमा फेरबदल गर्नुपर्छ । यसैगरी जनताको  अभिमतद्वारा असन्तुष्ट पक्षले आफ्नो अनुकूल प्रदेशको संख्या तथा सीमाङ्कनमा फेरबदल गर्न सक्छ । संविधान जारी गर्ने बेलामा सुदूर पूर्व र सुदूर पश्चिममा तराईका जिल्ला विवादमा थिए । तर, हाल यी जिल्लामा खासै विवाद देखिएको छैन । पाँच नम्बर प्रदेशका सन्दर्भमा त कुनै पनि विवाद थिएन । तर, सरकारले जहाँ विवाद थियो त्यसका लागि आयोग र  विवाद नै नभएकाका लागि संविधान संशोधन गर्ने तयारी गरेको छ । त्यसो गर्नुको औचित्य भने पुष्टि गर्नसकेको छैन । तराईका जिल्लालाई पहाडबाट अलग किन गर्नुपर्‍यो भन्ने स्पष्ट जवाफ सरकारले दिनसकेको छैन । 

दुई नम्बर प्रदेश र तराईका जिल्ला
भारतको विहार, मणिपुर, गुजरात, नागाल्यान्ड, लक्ष्यद्वीप, तामिलनाडु, केरललगायतका राज्यमा मदिराको विक्रीवितरणमा रोक लगाएको छ । मदिराको विक्रीवितरणमा रोक लागेका कारण मानिसको चेतनाको स्तरमा सुधार आई घरेलु हिंसामा कटौती तथा सामाजिक सद्भावमा निकै प्रगति भएको  र यसले शिक्षा, स्वास्थ्यलगायत समग्र मानवीय तथा आर्थिक प्रगतिमा सघाउ पुगेको भारतीय संचार माध्यमहरूले जनाएका छन । तराई भए पनि नेपालको दुई नम्बर प्रदेश शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका मानवीय तथा आर्थिक विकासका क्षेत्रमा निकै पछाडि परेको छ । उदाहरणका लागि नेपालमा सबैभन्दा बढी शिशुको अकाल मृत्यु रौतहटमा हुन्छ । यस जिल्लाका  एकहजार नवजात शिशुमध्ये ८१ जनाको एक वर्ष नपुग्दै मृत्यु हुन्छ । महिला साक्षरता प्रतिशत पनि यही जिल्लामा सवैभन्दा कम जम्मा ३२ प्रतिशतमात्र छ । यसैगरी सप्तरी र सिराहामा ८० प्रतिशत घरधुरीमा शौचालय छैन । घरेलु तथा सामाजिक हिंसाका कारण समग्र तराई विशेषगरी दुई नम्बर प्रदेशका दलित तथा महिला निकै  पिछडिएका र पिडित छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस क्षेत्रका मानिसको चेतनाको स्तरमा सुधार गर्न ढिलोचाँडो मदिरा विक्रीवितरणमा रोक लगाउनै पर्छ । चेतनाको स्तरमा सुधार आयो भने समग्र विकास प्रक्रियामा गुणात्मक सहयोग पुग्छ । हाल भारत सरकारले भारु ५०० र  १००० दरका नोट विस्थापित गर्ने नीतिले तत्कालिकरूपमा समस्या देखिए पनि दीर्घकालमा यसले भारतको हित नै गर्छ । मदिराको अवस्था पनि यस्तै हो । तत्कालिक रुपमा राजस्वमा कमी देखिएला तर यसको रोकमा हुने बहुआयामिक फाइदा धेरै छन् ।  आ.व. ०७१/७२ को तथ्यांकका आधारमा नेपालका ७५ जिल्लामध्ये राजस्व संकलनमा १५ वटा जिल्लाको योगदान ९६ प्रतिशत छ  । यी जिल्लामध्ये पर्साको सबैभन्दा धेरै २७ प्रतिशत छ ( रु १११ अर्ब ) । पर्साको कुल राजस्वमा वीरगंज भन्सारको योगदान ९१ प्रतिशत छ । भन्सार विन्दुबाट संकलित आय घटाउँदा पर्साबाट संकलन हुने राजस्व जम्मा रु १० अर्बमात्र हुनआउँछ । भन्सारबाहेक पर्साको योगदान ४ प्रतिशतमात्रै छ ।

भन्सार छाडेर पर्सामा संकलित सबभन्दा बढी राजस्व मदिराको अन्तःशुल्कलगायत (उत्पादन, विक्री, इजाजत, नवीकरणआदि ) बाट रु ४ अर्ब ९८ करोड छ । मदिराको अन्तःशुल्क हटाउने हो भने पर्साको राजस्व पुग नपुग  रु ५ अर्बमात्र हुन्छ । हालका ७ वटा प्रदेशमध्ये सबभन्दा बढी राजस्व संकलन तीन नम्वर प्रदेशको ३०.१० प्रतिशत छ । यसपछि दुईनम्वर प्रदेशको ८.५१ प्रतिशत छ । भन्सार र मदिराको अन्तःशूल्क हटाउँदा दुईनम्बर प्रदेशको राजस्व ४.१० मात्र प्रतिशत हुन्छ । यसले के संकेत गर्छ भने दुई नम्बर प्रदेश राजस्वका दृष्टिले समर्थ छैन । 
यसैगरी समग्र जिल्ला विकास समितिहरूको आयका आधारमा जिल्लाको आयको विश्लेषण गर्ने हो भने निश्चय पनि पहाड/हिमालका जिल्लाभन्दा तराईका जिल्ला अगाडि छन्  ।

Global Ime bank

तराईका जिल्लाको राजस्वको ग्राफमाथि जानुमा ढुंगा, गिटी र वालुवाको विक्री र घरजग्गा रजिष्ट्रेशनवाट प्राप्त रोयल्टीका कारणले मात्र हो । तर पहाडी र हिमाली जिल्लाको आयको प्रमुख स्रोतमा यी क्षेत्रका अतिरिक्त वन, पर्यटन र विद्युतबाट प्राप्त हुने रोयल्टी हो । ढुगां, गिटी, वालुवा  र घरजग्गा रजिष्ट्रेशन आयका दीगो स्रोत हैनन् । तराईमा चुरेको दोहन रोकिनेबित्तीकै ढुंगा, गिटी र वालुवाको आम्दानी निकै नै न्यून हुन जान्छ । जग्गाको उपलब्धता कम हुदै जाँदा घर जग्गाको विक्री वितरणबाट प्राप्त हुने रोयल्टी पनि घट्दै जान्छ ।  कृषि तथा पशुपालनका क्षेत्रमा तराईले लाभ लिन सकेको छैन । पर्यटन र विद्युत्का अतिरिक्त पहाड/हिमालमा पशुपालन र जडिबुटीको प्रचुर सम्भावना रहेको छ । प्रचुर मात्रामा लगानी गर्ने हो भने अबको एक दशकभित्रमा अहिलेका जिल्लाको आयको संरचनामा तलमाथि पर्नसक्छ ।

तराईका अधिकांश जिल्ला अनुदानमा निर्भर र पहाड एवं हिमालका जिल्ला आत्मनिर्भर हुन सक्छन् । दुई नम्बर प्रदेशलाई यथास्थानमा राख्ने हो भने कालान्तरमा यो प्रदेश आर्थिक, मानवीय तथा सामाजिकरूपले कमजोर हुँदै जाने अवश्यभावी छ । दुई नम्बर प्रदेशको सीमाङ्कन पहाड/हिमालका जिल्लामा जोडिनुपर्छ भन्ने आवाज उठिरहेको सन्दर्भमा पुनः अन्य प्रदेशका तराईका जिल्लालाई पहाडबाट अलग्याउन जुन तयारी सरकारले गरेको छ । यो सरासर गलत छ । 
उत्तर दक्षिण सीमाङ्कन
सामर्थ्य तथा पहिचानका आधारमा विश्लेषण गर्दा हालका कुनै पनि प्रदेशको सीमाङ्कन वैज्ञानिक छैन । तराई/मधेससँग सम्बन्धित बुद्धिजीवीहरूले समेत दुई नम्बर प्रदेशको सीमाङ्कन व्यावहारिक नभएको जनाएका छन् । प्रदेशको सीमाङ्कन गर्दा राजनीतिक, आर्थिक, प्राविधिकलगायतका पक्षलाई पटक्कै ध्यान दिइएन । भौगोलिक बनावट, लगानीकर्ताको आर्कषण, चीन र भारतजस्ता ठूला बजार क्षेत्रमा सहज पहुँच, आयको दीगो स्रोतआदिलगायतका कारणले प्रदेशको सीमांकन उत्तर दक्षिण छुनेगरी गरिनु पर्थ्यो ।  

हिमाल पहाडको पर्यटन, जडिबुटी, हाइड्रोपावर, पशुपालन, तराईको अन्न, उद्योग कलकारखानाआदिको संयोग र सबै जात, वर्ग र क्षेत्रको उपस्थितिका कारणले प्रदेशको  विकासले गति लिन सक्ने सम्भावना थियो ।  जस्तो नारायणी अच्चलको चितवन जिल्ला मानव विकास सूचांकमा सबैभन्दा अगाडि हुनु त्यही अञ्चलको रौतहट र अलि परको महोत्तरी सबैभन्दा पछाडि पर्नुको ठूलो कारण नै एकै किसिमका जातजातिको बाहुल्यलगायतका कारणले  हो । जातियता/भाषिक र क्षेत्रको नाममा पहाड\\तराई जिल्लालाई अलग गरियो । यो बिल्कुल गलत थियो । 
पहाड/तराईका जिल्लालाई मिलाएर एउटै प्रदेश बनाइएको भए प्राकृतिक साधन र स्रोतको उपयुक्त बाँडफाँटसमेत हुने थियो ।

जस्तो अहिले पनि एक विकास क्षेत्रमा उठेको विद्युत्को रोयल्टी सोही विकास क्षेत्रका जिल्लामा मात्र बाँडफाँट हुन्छ । अर्को विकास क्षेत्रमा बाँडिदैन । कालीगण्डकीबाट प्राप्त विधुत् रोयल्टी नवलपरासी, रुपन्देहीलगायत पश्चिमाञ्चलका जिल्लामा पनि वितरण गरिन्छ । अहिलेको अवस्थामा निर्माणाधीन दोलखाको तामाकोशीबाट प्राप्त हुने रोयल्टी मध्यमाञ्चल विकास क्षेत्रअन्तगर्तका दुई नम्बर प्रदेशका तराईका जिल्लासमेतमा बाँडफाँट हुन्छ । तर अब यस्तो अवस्था नरहन सक्छ । सगरमाथा चढ्न जाने रोयल्टी आसपासका जिल्लामा समेत विनियोजन हुन्छ । 
तराई र पहाडको कित्ताकाटले सामाजिक सद्भाव खलबलिएको छ । जनकपुरका वासिन्दाले गर्वका साथ तामाकोसी नदी, गौरीशंकर हिमाल, जिरी, हाम्रो हो भन्नसक्थे भने दोलखाका बासिन्दाका लागि पनि जनकपुर गौरवको विषय हुन्थ्यो  । गर्मी छल्न तराईका बासिन्दा आफ्नै प्रदेश अन्तर्गतका पहाड/हिमालमा जान्थे भने जाडो छल्न पहाड हिमालका बासिन्दा तराईमा । यसले प्रदेशभित्रको आन्तरिक पर्यटन प्रर्वधनमा समेत सहयोग पुग्थ्यो । यसैगरी व्यापारमा पनि सहजरूपमा दक्षिण भारतदेखि उत्तर चीनसम्मको भूगागको उपयोगबाट ठूलो लाभ लिन सकिने अवस्था थियो  ।  प्रदेशको सीमाङ्कनमा फेरबदल गर्ने हो भने उत्तर दक्षिण हुने गरी गर्दा उपयुक्त हुन्छ ।

दुई नम्बर प्रदेशको सीमाङ्कन त हामीले बिगार्‍यौँ बिगार्‍यौँ फेरि तराईका जिल्लालाई पहाडबाट अलग गर्नेगरी पाँच नम्बर वा अन्य प्रदेशबाट अलग नगरौँ । उत्तरदक्षिण सीमाङ्कनमा साबिकका पाँचवटै विकास क्षेत्रलाई आधार माने हुन्छ । पाँच विकास क्षेत्रलाई आधार मान्दा प्रदेशको संख्यामा कमी हुन गई मुलुकको प्रशासनिक खर्चमा कटौती हुन्छ । फेरि विकास क्षेत्रअनुसार प्रशासनिक तथा विकासका संरचना पनि बनेका छन् । हालका सातवटा प्रदेशमा प्रशासनिक संरचनामात्र तयार गर्न अर्बौं रुपियाँ खर्च हुन्छ । सीमित साधन र स्रोतका कारण अर्बौं खर्च गर्ने सामर्थ्य हामीसँग छैन ।

संसद् सचिवालयको सामान्य फर्निचर खरिदमा त विदेशी सहयोगको ट्याग झुन्डिएको अवस्थामा विदेशीसँग हारगुहार गर्नुबाहेक हामीसँग अर्को विकल्प हुँदैन । पाँच विकास क्षेत्रअनुसारको सीमाङ्कन हुनसकेमा यसको सम्पूर्ण जस मधेसवादी दललाई जान्छ । यी दलहरुले पहाडी, हिमाली जिल्लामा आफ्नो संगठन विस्तार गर्न सक्छन् । पाँच विकास क्षेत्रअनुसार सीमाङ्कन भएमा बरु प्रादेशिक राजधानी तराईका जिल्लामा बनाए हुन्छ । यसका लागि प्रमुख राजनीतिक दल सहमत हुनुपर्छ । यसैगरी प्रदेशभित्र आर्थिक तथा सामाजिकरूपमा पछि परेका क्षेत्र वा समुदायलाई राज्यका तहहरूमा संरक्षण गर्ने नीति बनाउँदा हुन्छ । पाँच विकास क्षेत्रलाई आधार नमान्ने हो भने साबिकका  २-२ अञ्चलको सीमाङ्कनका आधारमा गरे पनि हुन्छ ।

अन्त्यमा,
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक र बहुजातीय मुलुक हो । मधेसवादी दलले तराईलाई पहाडबाट अलग गर्नुपर्छ भन्ने सोच त्याग्नुपर्छ । सरकारले पनि यस्तो खालको विधेयक ल्याउन हुँदैन । सार्वभौम जनताको जनादेशको कदर सबैले गर्नुपर्छ । हामीले भने अनुसारै हुनुपर्छ भन्नु अधिनायकवादी सोच हो । दुई नम्बर प्रदेश आर्थिक, सामाजिकलगायत  विभिन्न दृष्टिले पछि परेको छ । दुई नम्बर प्रदेशलगायत समग्र तराईको विकासको मुद्दा उठाउने बेलामा तराईका जिल्लालाई पहाडबाट अलग गर्नैपर्छ भन्नुको औचित्य छैन । राजनीतिक दलका बीचमा सहमति गरी बरु प्रदेशको सीमाङ्कन उत्तर दक्षिण बनाउनेतिर लागौँ । यस्तो सीमाङ्कनले सामाजिक सद्भाव बढाउनुका अतिरिक्त मुलुकको दीर्घकालीन विकासमा सहयोग पनि गर्छ । 
devkotakl@gmail.com
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७३  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC