बेइजिङ । सिनजियान प्रान्तका उइगर र तुर्किक मुस्लिम अल्पसंख्यकमाथि चिनियाँ अधिकारीको व्यवहारलाई ह्युमन राइट्स वाचले मानवताविरुद्धको अपराध ठहर गरेको छ । ५३ पृष्ठको प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले उइगर र तुर्किक अल्पसंख्यकको सामूहिक हिरासत, यातना र सांस्कृतिक उत्पिडनको नीतिका लागि चीन सरकारलाई जिम्मेवार देखाएको छ ।
प्रतिवेदनमा चिनियाँ अधिकारीले उइगरमाथि बल प्रयोग गरी बेपत्ता पारेको, सामूहिक निगरानी गरेको, परिवारलाई अलग गरेको, श्रम तथा यौन शोषण गरी प्रजनन् अधिकार उल्लंघन गरेको उल्लेख गरिएको अलजजिराले जनाएको छ ।
स्ट्यानफोर्ड ल स्कुलअन्तर्गतको ‘ह्युमन राइट्स एण्ड कन्फ्लिक्ट रिजोलुसन क्लिनिक’को सहयोगमा तयार गरिएको प्रतिवेदनले तुर्किक मुस्लिममाथिको दमन नयाँ विषय नभएको उल्लेख गर्दै पछिल्लो समय दमन बढेको जनाएको छ ।
सुरुको पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा सिनजियान प्रान्तमा प्रहरी गिरफ्तारी ३०६ प्रतिशतले बढेको प्रतिवेदनमा दाबी गरिएको छ । सन् २०१७ देखि चीन सरकारले यस क्षेत्रमा रहेका मस्जिद विभिन्न बहानामा भत्काएको जनाइएको छ ।
चीनले उइगर र तुर्किक मुस्लिम अल्पसंख्यकलाई पक्राउ गरी विभिन्न शिविरमा बन्दी बनाएको अमेरिकालगायत पश्चिमा राष्ट्रको आरोप छ । चीनले भने आरोपको खण्डन गर्दै उनीहरुलाई आतंकवादी हमलाबाट बच्न तालिम दिन शिविर खडा गरेको दोहोर्याउँदै आएको छ ।