पेरिस । फ्रान्समा ऐतिहासिक फ्रेन्च रोटी ‘बागेट्टो’भन्दा अन्य केही ठेट फ्रेन्च चिजबिज पनि हुन सक्छन् । यसका बीच फ्रान्समा प्रत्येक दिन करिब १ करोड ६० लाखवटा बागेट्टो तयार हुन्छन् ।
केही वर्षयता ठूला ठूला सुपरमार्केट र नयाँ स्वादिलो रोटी ‘साउडो’सँग परम्परागत बेकरीले संघर्ष गर्नु परेकाले बागेट्टोको लोकप्रियता र प्रयोग घट्दो क्रममा रहेको पनि चर्चा हुने गरेको छ । तर, खुसीको कुरा हालै मात्र युनेस्कोले फ्रान्सको यस परम्परागत रोटीलाई ‘अमूर्त साँस्कृतिक सम्पदा सूची’भित्र राखेको छ ।
युनेस्कोले अन्य ६०० वा विभिन्न वस्तुको सूचीमा बागेट्टो रोटीको कला संस्कृति पनि थपिएको जनाएको छ । सूचीमा पर्ने अन्य कुरामा चीनको परम्परागत चिया बनाउने कला र ‘ताल्चम’ नामक कोरियाली मुखुन्डो नाच रहेका बीबीसीले लेखेको छ ।
युनेस्कोका अध्यक्ष अड्रे एसोलेले भनेका छन्, “यस समावेशीकरणले फ्रेन्च जीवनशैलीलाई उत्सवको दर्जा दिएको छ । यो रोटी दैनिक खानाको प्रतिनिधित्व हो । यसलाई बनाउने सिप र यसको समाजिक प्रयोग भविष्यपर्यन्त बाँचिरहनु पर्दछ ।”
सेनालाई साथमा बोकेर हिँड्न सजिलो हुने भएकाले नेपोलियनले यस्तो रोटी बनाउन आदेश दिएको फ्रान्समा किंवदन्ती रहेको छ । टुक्रा गर्न र बाँडेर खान छुराको आवश्यक नपर्ने भएकाले पेरिसमा कामदारहरु माझ यो रोटी निकै लोकप्रिय छ ।
केही व्यक्तिले भने बागेट्टोको आकारका लागि सन् १८३० को दशकका एकजना अष्ट्रियन बेकरलाई श्रेय दिने गरेका छन् ।
एकसय वर्षभन्दा पहिले अर्थात सन् १९२० मा यस रोटीलाई औपचारिक नाम बागेट्टो दिइएको हो । यसलाई गहुँको पिठो, पानी, नुन र यिस्ट मिसाएर बनाइने गरिन्छ ।