खेल
काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा शनिबार नेपालले लाओसको सामना गर्दैछ । समूह एको बिजेता बनेको नेपालले समूह बिको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको लाओसलाई सेमिफाइनल प्रतिद्वन्दी पाएको हो ।
नेपाल र लाओसबीचको खेल कुचिङस्थित सारावाक रंगशालामा नेपाली समयअनुसार दिउसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । र, सेमिफाइनलमा आफूभन्दा माथिल्लो बरियताका लाओसविरुद्धको खेलमा लागि नेपाली टोलि तयार रहेको प्रशिक्षक गोटुकु कोजीले बताएका छन् ।
सेमिफाइनल अघिको प्रि म्याच कन्फरेन्समा जापानिज प्रशिक्षक कोजीले भने–“नेपाल सेमिफाइनलका लागि खेल्न तयार छ । लाओस निकै राम्रो टोलि हो । उनीहरुले निकै राम्रो खेल्दै आएको छ । लाओसलाई हल्का लिदैनौं ।” नेपाल र लाओसले गत मेमा पहिलोपटक अन्तराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले आफुभन्दा माथिल्लो बरियताको लाओसलाई १–१ गोलको बराबरीमा रोकेको थियो । हाल फिफा बरियतामा लाओस १७५ औं स्थानमा छ भने नेपाल १८६ औं स्थानमा छ ।
तर, प्रशिक्षक कोजीले नेपालले यसअघि भएको मैत्रीपूर्ण खेलमा बराबरी खेलेको स्मरण गर्दै आफ्नो टोलि फाइनलमा पुग्ने विश्वास ब्यक्त गरे । कोजीले थपे, “हामीले केहि महिनाअघी मात्र लाओससँग मैत्रीपूर्ण खेलमा बराबरी खेलेका हौँ । तर, हाम्रो टोलि अहिले रामो छ । त्यसैले हामी जितको लक्ष्य लिएर मैदानमा उत्रनेछौ ।” यस्तै म्याच कन्फरेन्समा कोजीले नेपाललाई एक दिन बढी विश्राम हुनु पनि फाइदाजनक रहेको बताए । तर, मैदानमा वर्षा भए नेपाललाई खेल्न केहि कठिनाई हुने कोजीले बताए ।
सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्यका साथ मलेसिया पुगेको नेपाल समूह ए मा ४ अंक जोडेर समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । यता, समूह बिमा रहेको लाओसले समूह चरणको अन्तिम खेलमा मंगोलियालाई ३–० ले पराजित गर्दै ६ अंक जोडी समूह उपविजेता बनि सेमिफाइनलमा पुगेको हो । यस्तै प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा मकाउले ब्रुनाइको सामना गर्ने छ । मकाउ समूह बिको बिजेता र ब्रुनाइ समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३ १३:२१
प्रतिक्रिया दिनुहोस्