
काठमाडौं । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले पाहुना टोली बंगलादेशसँग दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा जारी पाँच दिवसीय श्रृंखलामा सोमबार भएको दोस्रो खेलमा नेपालले बंगलादेशमाथि २९–२२ अंकको सहज जित निकालेको हो । डिफेन्डर मीना नेपाली र रेडर मानमति विष्ट चम्किँएपछि घरेलु टोली दोस्रो दिन पनि हाबी भयो ।
मीनाले आठ अंक र मानमतीले सात अंक दिलाइन् । उक्त खेलमा मीना प्लेअर अफ दी म्याच भइन् । यसअघि मानमतीले भने लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेकी हुन् । उद्घाटन खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेपछि मानमती प्लेअर अफ दी म्याच चयन भएकी थिइन् । पहिलो खेलमा पनि नेपालले ४१–१८ अंकले जित निकालेको थियो ।
अब तेस्रो खेल मंगलबार हुनेछ । त्यसपछि वैशाख १० गते विश्राम दिइएको छ । वैशाख ११ गते चौथो र वैशाख १२ गते पाँचौँ खेल तय गरिएको छ । कबड्डीको लोकप्रियता बढेसँगै सुखद् नतिजा आएको समयमा नेपालले बंगलादेशसँग श्रृंखला खेलेको हो ।
नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक काँस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गएको छ ।
नेपालको कबड्डीले पहिलोपल्ट एसियन गेम्समा पदक जितेको हो । त्यतिबेला बंगलादेशलाई हराउँदै नेपालले त्यो पदक जितेको थियो । त्यसपछि पहिलोपल्ट बंगलादेशसँग नेपालले खेलेको हो । बंगलादेश कबड्डी संघसँग हरेक वर्ष तीन वटा शृंखला खेल्ने अखिल नेपाल कबड्डी संघले सम्झौता गरेको छ ।
यसअघि नै नेपाली पुरुष टोलीले भने बंगलादेश भ्रमण गरिसकेका छन् । उक्त पाँच खेलको श्रृंखलामा बंगलादेशले ४–१ को जित निकालेको थियो । यस श्रृंखला एसिया कबड्डी महासंघको मान्यतामा भएको हो । कबड्डीमा कुनै पनि राष्ट्रिय महिला टोलीले पहिलोपल्ट श्रृंखला खेल्न लागेको अखिल नेपाल कबड्डी संघले उल्लेख गरेको छ ।
पछिल्लो दुई वर्षयता नियमित रूपमा प्रशिक्षण गर्दै नेपाली महिला कबड्डी टोलीले श्रृंखलामा पनि सोहीअनुरूप प्रदर्शन गरेको छ । नेपाली महिला टोली अहिले विश्व वरीयतामा तेस्रो स्थानमा छ । नेपाली टोली अहिले भारतको बिहारमा जुन १ देखि १३ सम्म हुने विश्वकपको तयारी पनि रहेको छ । यसैको तयारी स्वरूप नेपालले बंगलादेशसँग श्रृंखला खेलेको हो ।