अर्थ व्यवसाय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आयोजना निरीक्षणका क्रममा आयोजनास्थल दोलखाको लामाबगर पुगेका प्रधानमन्त्रीले देश ऊर्जा संकटमा रहेको बताउँदै आयोजनाको काम चाँडै सम्पन्न गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आयोजनाको काममा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीले आयोजनाको कामप्रति सन्तुष्टि जनाउँदै चाँडै सक्ने गरी काम सम्पन्न गर्न निर्देशन दिएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताए । प्रधामन्त्री मंगलबार बिहान हेलिकप्टरबाट आयोजनाको निरीक्षणमा गएका हुन् ।
भूकम्पबाट प्रभावित आयोजनाको हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको श्रेष्ठले बताए । ४५६ मेगावाटको राष्ट्रिय गौरवको यो आयोजनाको जडित क्षमता ४५६ मेगावाट हो । सुख्खायाममा तामाकोसीबाट बढी बिजुली उत्पादन गर्न ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी मिसाई थप साढे १७ करोड युनिट बिजुली उत्पादन गर्ने योजना अघि बढेको छ । तामाकोसीबाट मात्र वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । भूकम्प र नाकाबन्दीले १ वर्षभन्दा बढी समय ढिलाइ भएपछि आयोजना ०७५ को असारसम्ममा काम सकिने गरी नयाँ योजना तयार पारिएको छ । हाल गौंगरबाट बाँध लामाबगरसम्म पुग्न आवश्यक वैकल्पिक सुरुङ मार्ग खन्ने काम अन्तिम चरणमा पुगको श्रेष्ठले बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ १२:४०
प्रतिक्रिया दिनुहोस्