अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको नाफा उल्लेख्य रूपमा बढेको छ । असोजसम्ममा बैंकले ३७ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १७ करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको तुलनमा चालु आवको पहिलो त्रैमासमा बैंकको नाफा २० करोड रुपैयाँ बढेको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनमा नाफा, निक्षेप परिचालन र कर्जा लगानी उल्लेख्य रूपमा विस्तार भएको जानकारी दिएको छ । गत आवमा बैंकले १ अर्ब २७ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो ।
चालु आवको पहिलो त्रैमासमा बैंकले झण्डै ७० अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारसम्म बैंकको निक्षेप परिचालन ६४ अर्ब ९० करोड रुपैयाँ थियो । ३ महिनामा बैंकले झण्डै ६ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । यस्तै कर्जा तथा लगानी पनि बढेर पहिलो त्रैमासमा ५८ अर्ब ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत असारसम्म बैंकको कर्जा लगानी ५५ अर्ब ३० करोड ५१ लाख रुपैयाँ थियो । पहिलो त्रैमाशमा बैंकको गैरबैकिङ सम्पत्ति १.५ प्रतिशतमात्र छ । बैंकको प्रतिसेयर आम्दानी ४७.६ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्तपुँजी ३ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ छ । आगामी असारसम्म बैंकले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ १२:१९
प्रतिक्रिया दिनुहोस्