विशेष
भुटानी शरणार्थी नेता, टेकनाथ रिजाल । ०६० सालवरिपरि जनकपुरमा विद्यालय तहको अध्ययन गरिरहँदा कान्तिपुर एफएममा धेरै पटक सुनेको नाम । जुवाडेलाई तासको लत लागेझैं मलाई पनि समाचार सुन्ने लत लागेको त्यतिबेला । कान्तिपुरमा खुब बज्थ्यो त्यो नाम । बरु एउटा पुस्तक कम किनेर साथीहरूसँग मागेरै पढिन्थ्यो तर समाचार सुन्ने पर्नै । त्यसैले रेडियो कहिले साथमा छुटेन । जथाभावी जंगलमा च्याउ उम्रेजस्तो स्थानीय रेडियो थिएनन् त्यतिबेला जनकपुरमा । यसैले समाचार सुन्नुपरे कान्तिपुर एफएम खोल्नुपथ्र्यो । केन्द्रमा रहेको एफएमबाट स्थानीय समाचार सुन्न पाउने कुरै भएन । नेपालीभाषी भुटानीहरूको कहिले पूर्वाञ्चलमा आन्दोलन त कहिले काठमाडौंमा विरोध प्रदर्शन । आन्दोलन जहाँ भए पनि समाचारको बीचमा नछुट्ने नाम थियो, टेकनाथ रिजाल । बाल मष्तिष्कले एउटै नाम एउटै संस्थाबाट सयौं पटक सुनेकाले हुनुपर्छ– टेकनाथ रिजाल मेरो मानसपटलबाट कहिले नबिर्सने नाम हुन पुग्यो ।
टेकनाथ रिजालको बारेमा अर्काे एउटा संयोग के रह्यो भने । ०६८ फागुनमा हुनुपर्छ । नेपाल घुम्न भन्दै हिँडेका तीन नेपाली फिरन्तेसँग बीबीएस अध्ययन गर्ने क्रममा सुनसरीको इनरुवामा भेट भएको थियो । दुईजना दिल्लीमा सीए पढ्दै गरेका र एकजना काठमाडौंबाट इन्जिनियरिङ सकेका युवाहरू थिए । तीन दिन इनरुवा बस्दा उनीहरूसँग साँझपख भेट हुन्थ्यो । त्यसमध्येको आकाश नाम गरेका यात्रीले अनायसै टेकनाथ रिजालको ‘निर्वासन’ पढ्नू भनी एउटा कागजमा नाम लेखेर दिए । मैले पनि कारण नसोधी त्यो स्लिप पर्सभित्र राखें । जीवनको सबैभन्दा गाह्रो काम लाग्थ्यो पढ्न त्यतिबेला । आफू अंगे्रजी नजान्ने । त्यतिबेला अंग्रेजी जान्ने मान्छे सर्वज्ञाता जस्तो लाग्थ्यो । यसैले अंग्रेजी बोल्नेले पढ्नू भनेर दिएको पुस्तक नपढ्ने कुरै भएन ।
भोलिपल्ट इनरुवामा त्यो पुस्तक खोजें । पाइनँ । इटहरीको प्रत्येक पसल चहारें । कतै भेटिएन । सोही दिन विराटनगर पनि पुगें । अहँ कतै पाइएन । पछि पत्रकारिता पढ्न भनेर काठमाडौं आएपछि किनेर पढेको पहिलो पुस्तक हो ‘निर्वासन’ । म्यक्सिम गोर्कीको ‘आमा’पछि क्याम्पसको कोर्सबाहेक पढेको दोस्रो पुस्तक हो त्यो । राजनीतिमा होमिएका जो–कसैले आफूमा भएको क्रान्तिकारी स्वभाव जीवित राखिराख्न गोर्कीको ‘आमा’ पढ्न जसरी जरुरी छ । उसैगरी राजनीतिमा आइपर्ने जोखिमका लागि तयार रहन टेकनाथको ‘निर्वासन’ पढ्नैपर्छ ।
उनको त्यो पुस्तक अध्ययन गर्दा त्यहाँ लेखिएका कतिपय घटनाले आङ सिरिंग पार्छन् । इतिहासविद् सुरेन्द्र केसीले पनि गान्धी, मन्डेला, बीपी कोइरालालगायत धेरैका आत्मकथाहरू पढेको तर टेकनाथको जस्तो क्रूर र कठोर दुव्र्यवहारको जेल जीवन कसैको नपढेको भनेका छन् ।
टेकनाथ १० वर्षको जेल जीवनमा कयौं पटक मृत्युको मुखमा पुगेर पनि फर्केका छन् । मानवताको सम्पूर्ण बलि दिएर एकजना राजनीतिज्ञमाथि कुनै पनि शासकले सत्ता जोगाइराख्न कतिसम्मको क्रूरता अपनाउँछ भन्ने जानकारी ‘निर्वासन’ पढेपछि मात्र थाहा पाएँ । यसपछि रिजालसँग भेट्ने उत्कट चाहना पैदा भयो । उनकै मुखबाट उनलाई भुटानी राजाले दिएको पीडा सुन्ने चाहनाले मनभित्र हुटहुटी चलाइरह्यो । पत्रकार हुनुको सबैभन्दा फाइदा शायद यही होला । समय लागोस् तर चाहेको मान्छेसँग भेट गर्न पाइने । टेकनाथसँग भेट गरेर उनले सुखसयलको उज्यालो जीवनबाट वर्तमानमा बिताइरहेको अँध्यारो जीवनमा आउनुपर्ने कारण उनकै मुखबाट थाहा पाउने इच्छा पूरा हुन झन्डै ४ वर्ष लाग्यो ।
२ महिनाअघि ठिमीस्थित भाडामा लिइएको कोठमा बिहान ७ बजेतिर पुगें । हेर्दा बलिष्ट देखिन्थे । उनलाई देख्दा मेरो मनमा एउटा प्रश्न जन्म्यो, “यति धेरै यातना पाएको मान्छेको शरीरमा अझै यति चमकता जीवित रहन सक्छ र ?”
तर सोधिनँ । उनले कोठाभित्र लगेपछि कुनै विलम्ब नगरी मैले भनें, “तपाईंले भोग्नुभएको र लेख्नुभएको जीवन भोगाइ मैले पढेको छु । मलाई तपाईंको आवाजबाट ती कुराहरू सुन्न मन छ । र, लेख्न मन छ । यसैले यहाँ आएको हुँ ।”
झन्डै एक मिनेटको मौनतापछि उनले भने, “मा¥यौ तिमीहरूले । मलाई तिमीहरूले खायौ यार । म यहाँ बसेको २२ वर्ष भयो । २२ वर्षदेखि सबले यही जीवनीमात्रै लेख्दै आएका छौ । सबैले मेरो बाल्यकाल मात्र लिएर जान्छन् ।”
यति भनिसकेपछि उनी चुपचाप भए । मेरो मुखबाट पनि कुनै शब्द निस्किएनन् । म निःशब्द भएँ । कोठा एकछिन सुनसान भयो । केही समयपछि पुनः रिजालले नै मौनता तोडे, “साढे ९ बजे मलाई एउटा कार्यक्रममा जानु छ ।”
मैले आग्रहयुक्त प्रश्न गर्दै भनें, “सर २ घण्टामा कुरा सकिँदैन ?”
उनले तुरुन्त जवाफ फर्काए, “अर्काको दुःख सुन्न आतुर छौ भने ठिकै छ ।”
रिजालको भनाइ मलाई बिझ्यो । फेरि सोचें । उनले मलाई उनको दुःख सुनेर आनन्द लिन आएको सोचेछन् क्यार । एक मनले सोचें– मेरो पेसै यस्तो हो । आफ्नो दुःख पैतालामा राखेर अर्काको दुःख खोज्दै हिँड्ने । म केही बोलिनँ । मात्र उनी बोल्दै गए । मैले सुनिरहें–
सन् १९४७ मा भुटानको लामीडाँडामा सामान्य परिवारमा जन्मिएँ र हुर्किएँ । मैले सानोमा सुख पनि पाइनँ । र, कुनै ठूलो दुःख पनि पाइनँ । अन्य परिवारका मानिसले जस्तै मैले पनि घाँसदाउरा गरें । खेतालो भएँ । गोठालो भएँ । सामान्य मध्यमवर्गीय परिवारले गर्ने सबै काम गरें । यसरी नै मेरो बाल्यवस्था बित्यो । म ब्राह्मण परिवारमा जन्मिएको हुनाले संस्कारले पनि मलाई पढायो । मैले कुनै विश्वविद्यालयको औपचारिक अध्ययन भने गरिनँ । सानोमा घरमै अक्षर चिनें । ब्राह्मण भएकोले चण्डी पढें । रुद्री पढें । संस्कृत भाषा घरमै सिकें । यसपछि गाउँमा रहेको सरकारी विद्यालयमा भर्ना भएँ र त्यहीं पढें ।
त्यतिबेला भुटानमा सरकारी विद्यालयमा पढ्नेले सरकारी विकास–निर्माणको काम गर्न जानुपथ्र्याे । यो अनिवार्य थियो । सन् १९६४ मा सरकारले मलाई पनि सरकारी विकास निर्माणको काममा पठायो । त्यतिखेर म विद्यालयमा पढ्दै थिएँ । बाटोघाटो कतै थिएन । कयौं दिन हिँडेर काम गर्ने ठाउँमा पुग्नुपथ्र्याे । म सानो भए पनि त्यतिखेर मैले मेरो देश बुझें । समाज चिनें । लामीडाँडाभन्दा धेरै दुःख पाएका गाउँहरू देखे । मैलेभन्दा धेरै दुःख गरेर बाँचिरहेको मान्छे देखें । मैले आठ वर्ष त्यो काम गर्नुप¥यो । सन् १९६४ देखि १९७२ सम्म भुटानको दर्जनौं स्थानमा पुल, अस्पताल, विद्यालय, बाटोलगायतका भौतिक निर्माणको काम गर्दै हिँडें । सानोमा पढ्ने उमेरमा त्यसरी सरकारको काम गर्दै हिँड्नु परे पनि मलाई कहिले दुःखी बनाएन । यसले त मलाई परिपक्व बनायो । दुःख भोगेपछि, दुःख देखेपछि मानिसमा परिपक्वता आउँदो रहेछ । मैले त्यही भोगाइबाट जीवन बुझें । सबैभन्दा ठूलो उपलब्धि त मैले यो आठ वर्षमा गाउँलेको माया पाएँ, जसकारण नै म राजनीतिमा होमिन पुगें । राजनीतिले मलाई सुख दियो या दिएन, यो फरक पाटो भयो ।
कहिलेकाहीँ सोच्छु । राजनीति नगरेको भए मैले यति धेरै दुःखकष्ट सहनुपर्ने थिएन होला । मेरै कारण परिवारले यसरी एउटा फ्ल्याटमा शरणार्थी जीवन बिताउनुपर्ने थिएन होला । राजनीति आगो रहेछ । अझ आगोमात्र होइन, राजनीति त आगोको पोखरी नै रहेछ । यसमा एकपटक हामफालेपछि पीडाबाहेक केही नदिने । यो यस्तो लत रहेछ । एकपटक लागेपछि जीवनभरि छोड्न नसकिने । तर, अर्काे मनले सोच्छु– राजनीति नगरेको भए आज म यहाँ हुन्नथें । भुटानको लामिडाँडामा बसिरहेको टेकनाथ हुन्थें होला । आज जे छु, राजनीतकै कारण छु ।
सन् १९७२ पछि मैले सामाजिक काम पनि गरें । व्यापार पनि सुरु गरें । भारतबाट आएका व्यापारीले थोरै पैसा तिरेर गाउँलेले फलाएको स्याउ, सुन्तला, अलैंची लान्थे । मैले गाउँलेलाई बढी मूल्य दिएर भारततिर निकासी गर्न थालें । यसले मलाई प्रशस्त आम्दानी पनि दियो । परिवार आर्थिक रूपमा सबल भयो । गाउँलेको थप माया, स्नेह दियो । उनीहरूको बीचमा म रुचाइएको पात्र भएँ । सन् १९७३ मा राज्य सभाको चुनाव भयो । लामिडाँडालगायत थुप्रै गाउँबाट हाम्रो प्रतिनिधि तपाईं हुनुपर्छ भनेर आग्रहमात्र नभई दबाब आउन थालेपछि मैले निर्वाचनमा भाग लिएँ । नतिजा मेरो पक्षमा आयो । त्यतिखेर मलाई लाग्यो– पढ्न पाउनुपर्ने बेलामा आठ वर्ष सरकारको काम गर्दै हिँडेर समय खेर फालेको रहेनछु ।
यसरी मैले राजनीतिको पोखरीमा हाम्फालें ।
म २५ वर्षको उमेरमा सांसद भएको हुँ । मैले निकै उमंगका साथ काम गरें । मेरो कामबाट जनतामात्र होइन, राजा जिग्मेसिंगे वाङचुक पनि प्रभावित भएछन् । मलाई अंग्रेजी भाषा पढ्न अस्ट्रेलिया पठाए । सन् १९८४ मा मलाई राजकीय सल्लाहकार परिषद्को सदस्य निर्वाचित गराए । १५१ जनाको राज्य सभा थियो । यसबाट १० जना परिषद्का लागि चुनिन्थे । संसद् सदस्यमा १५ जनामात्र नेपालीभाषी थियौं । म राजा जिग्मेकै सिफारिसमा उम्मेदवार भएर परिषद्को सदस्यमा निर्वाचित भएको थिएँ । राजाले भुटानमा सुधार र विकासको काम गर्न मलाई विश्वास गरेका थिए । मेरै कार्यकालमा विभिन्न कारखाना, प्रोजेक्ट, संस्थान खुले । मदेखि राजा यति धेरै प्रभावित भएका थिए कि मैले एकपटक राजासमक्ष ‘थिम्पुबाट प्रशासन चलाएर सबै ठाउँमा न्याय दिन सकिँदैन, प्रशासनको विकेन्द्रीकरण गर्नुपर्छ’ भनें । राजाले यो प्रस्ताव पारित गरे । राजाका आफ्ना तथा उच्चपदस्थले थिम्पुमा व्यापार, व्यवसाय गर्थे, जसले सरकारी निर्णयलाई सजिलै आफूअनुकूल पार्न सक्थे । यसले राजधानी थिम्पुबाहिरका नागरिक रोजगारीबाट बञ्चित हुनुपरेकाले यो परिपाटी अन्त्य हुनुपर्छ भनेपछि राजाले यो प्रस्ताव पनि पारित गरे । त्यसबखत मैले ल्याएका कुनै प्रस्ताव राजाले अस्वीकार गरेनन् । मप्रति राजालाई धेरै विश्वास थियो ।
बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न बनाइएको एक समितिमा राजाले मलाई सदस्य बनाए । भ्रष्टाचारमा संलग्न अधिकांश दरबारमा पहुँच भएकाहरू थिए । हामीले काम सुरु ग¥यौं । छानबिनका क्रममा राजदरबारका नातेदार, प्रहरी, सेना, न्यायाधीश, मन्त्रीहरू भ्रष्टाचारमा संलग्न भएको पायौं । त्यही बेला मसँग सेना प्रमुखले हात जोडेर राजासमक्ष प्रतिवेदन नदिन आग्रह गर्दै माफी मागेका थिए । भ्रष्टाचारमा संलग्न अधिकांश व्यक्ति राजाबाट नियुक्ति पाएकाहरू थिए । यसैले एकपटक सबैलाई माफ गरिदिन राजालाई अनुरोध गरेको थिएँ, यो पारित पनि भयो । तर, त्यो घटनाले मलाई आजको स्थितिमा पु¥याइदियो ।
भित्रभित्रै मेरो कामबाट रिसाएकाहरूले मविरुद्ध एउटा गुट खडा गरेका रहेछन् । त्यही गुटले मलाई भारतपरस्त भएको भनेर राजसमक्ष कुरा लगाइदियो । मैले भ्रष्टाचारविरुद्व काम गर्दादेखि नै मविरुद्व षड्यन्त्र भएको रहेछ । उनीहरूले के–के कुरा लगाए, थाहा छैन । यसपछि राजाले नागरिकता र भूअधिनियम संशोधन गरी नेपालीभाषी भुटानी लखेट्ने प्रपञ्च सुरु गरे ।
सन् १९८८ को जनगणनामा एउटा नाटक मञ्चन गरियो । थिम्पुबाट नेपाली भाषा नजान्ने युवालाई जनगणनाका लागि दक्षिण भुटान पठाइयो । नेपालीभाषीसँग १९५८ अघि भुटानमा बसोबास गरेको प्रमाण मागे । तर, सो प्रमाण सरकारले यसअघि नै जनतालाई घर नम्बरसहितको परिचयपत्र प्रदान गर्ने भन्दै संकलन गरिसकेको थियो । नेपालीभाषीहरूसँग कुनै प्रमाण थिएन । यसबीचमा यस्ता षड्यन्त्रका तानाबुनाहरू रचिए कि मन्त्रिपरिषद्का बैठकमा मलाई सहभागी गराइएन । मलाई निष्कासन गरियो । राजद्रोहको आरोप लगाइयो । ममाथि छानबिन समिति बन्यो । यसपछि नेपालीभाषी भुटानीहरू त्यहाँबाट लखेटिन सुरु भए । त्यतिखेर मलाई लागेको थियो– दरबारका मान्छेहरू मात्र लागेका थिए । तर, त्यसो होइन रहेछ । नेपालीभाषी भुटानी लखेट्न भारतसमेत लागेको रहेछ ।
राज्य सभा सदस्य नभएको ८ वर्ष नपुग्दै मलाई निष्कासित गरियो । तीन जनाभन्दा बढीलाई नभेट्नू भन्ने आदेश दिइएको थियो । त्यहाँ बस्न सक्ने अवस्था रहेन । मलाई संसद्बाट हटाइएपछि आफन्तहरूले पनि उनीहरूको घरमा नआइदिए हुन्थ्यो जस्तो गर्थे । त्यतिखेर कोही साथीभाइ पनि काम लागेनन् । म उनीहरूको घरमा पुग्दा उनीहरू घरभित्र छिर्थे । म पदमा हुँदा उनीहरू आउँथे, मैले दुःख पाउँदा कसैले वास्ता गरेनन् । म भारत आएँ । त्यहाँ गोर्खाल्यान्डको आन्दोलन चलिरहेको थियो । नेपालीभाषी जो देखे पनि मार्थे । त्यसैले भारतमा पनि बस्न सक्ने अवस्था रहेन । अनि सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीले नेपाल गएर लुक्न सल्लाह दिएपछि म नेपाल पसें । तर, यहाँका राजा वीरेन्द्रले मलाई बाँधेर भुटान पठाए । म एउटा नेपालीभाषी नेपालमा शरण लिन आउँदासमेत राजाले मलाई बाँधेर पठाए । त्यतिखेर मलाई लाग्यो– राजाको जात हुँदो रहेनछ । राजाहरू सबैको एउटै जात हुने रहेछ ।
त्यसपछि मलाई १० वर्षको कठोर जेल सजाय दिइयो । काठमाडौंबाट भुटान लगेपछि सुरुमा मलाई थिम्पुमा राखियो । धेरै पटक बयान लिइयो । सुरुमा मलाई मृत्युदण्ड दिने सुनाइएको थियो । धेरै समय मलाई केही नगरेपछि लाग्यो– मलाई यिनीहरूले मार्दैनन् । तर्साउन मात्र राखेका हुन् । पछि मलाई सेनाको हिरासतमा राखियो । बाहिर सेनाको पहरा, भित्रको सानो कोठामा म । त्यो कोठाभित्र पनि सैनिक राखिएको थियो । कोठा अँध्यारो थियो । बाहिरी उज्यालो आउन पाउँदैनथ्यो । तर, भित्र बत्ती बालिएको हुन्थ्यो । यसरी कोठा चौबीसै घण्टा उज्यालो हुन्थ्यो । रात वा दिन– केही थाहा हुँदैनथ्यो । भित्र रहेका सैनिकहरू मलाई मात्र हेरिरहेका हुन्थे ।
म हरदम सिरकमा टाउको लुकाउने प्रयास गर्थें तर २४ घण्टा को सिरकभित्र बसिरहन सक्छ र ! टाउको बाहिर निकाल्दा कोठाभित्र रहेको सबै सैनिक मलाई नै हेरिरहेका हुन्थे । मलाई टेलिभिजनको टावर भएको नजिकै राखिएको थियो । हात पछाडि बाँधिएको थियो । कुकुरले चाटेजसरी मुखले खाना खानुपथ्र्याे । पछि हात खोलिदिए । खाना खान सजिलो भयो । तर नङ काट्न दिइएन । पछि–पछि खाना खाँदा थालमा सुरुमै नङ पुग्थ्यो । भातको सितो टिप्न पनि कष्ट हुन्थ्यो । ट्वाइलेट जान दिँदैनथे । सयौं पटक लुगामै ट्वाइलेट भयो । त्यहीँ सुक्थ्यो । पछिपछि म पहिलेका कुरा सम्झिनै नसक्ने भएँ । सानो हुँदादेखि नै पढेको गायत्री मन्त्र नै सम्झिन सकिनँ । कैयौं दिनपछि सम्झिएँ । यसरी सम्झिँदाको क्षण धेरै ठूलो कुरो सम्झिएजस्तो लाग्थ्यो । युद्ध जितेजस्ते हुन्थ्यो । तर, त्यो त सधैं जप गरिरेहेको मन्त्र थियो । मन बुझाउन पहिलेका कुरा सम्झिने प्रयास गर्थें तर सक्दिनथें । रुन मन लाग्थ्यो । एक्लै रुन्थें । कहिले हाँसिरहन्थें । अहिले सम्झिँदा आफैंलाई अचम्म लाग्छ ।
भुटानी राजा र जनताप्रति बफादार भएर काम गरेको सजाय भुक्तान गरिरहेको थिएँ । मैले धेरै पटक बयान दिँदा भनें, “म राजद्रोही होइन ।” तर, जतिपटक मेरो बयान लिइन्थ्यो, झन्झन् कठोर यातना दिइन्थ्यो । देशका विभिन्न बन्दीगृहमा लगिन्थ्यो मलाई ।
मसँग जम्मा एउटा पाइन्ट र दुइटा सर्ट थिए । सुरुदेखि नै अन्डरवेयर लगाउन दिइएको थिएन । बन्दी बनाएको धेरै दिनपछि एकदिन मलाई ट्वाइलेटले लत्पतिएका लुगा धुन र नुहाउन दिइने भयो । पहिला पाइन्ट लगाएर नुहाएँ । त्यसपछि मैले तीनवटै लुगा धोएँ र सुकाएँ । आफूले सिरकको खोल बेरें । पछि त सुकाएका लुगा सेनाले लुकाइदिएछन् । दिएनन् । सिरकको खोल बेरेको थिएँ । मक्किएको खोलले धेरै दिन टिकेन । कोठाभित्र यताउता गर्दा च्यातियो । च्यातिएको खोल पनि धेरै दिन बेरें । एकदिन सबै धुजाधुजा भएपछि बेर्न सक्ने केही रहेन । त्यो दिन नांगै भएँ । आफैंदेखि आफैंलाई लाज लागेर आयो । कसैले नदेख्दा पनि आफैंदेखि लाज लाग्यो । सिरक बेर्ने कुरा भएन । हातमा हत्कडी हुन्थ्यो । कोठाभित्र हुँदा सिरकमा हुन्थें, पछिपछि त त्यो पनि हुन छाड्यो । ट्वाइलेट जाँदा सिरक ओढेर जान सकिन्थेन, हातमा हतकडी थियो । यसैले पछि लाज मान्न पनि छोडें । नांगै ट्वाइलेट जानुपर्ने अवस्था आयो । ट्वाइलेट जाँदा सैनिकहरू हेरिरहेका हुन्थे । कहिल्यै राम्रोसँग निदाउन सकिनँ ।
दिन बिताउन गाह्रो हुन्थ्यो । कोठामा मुसा आउँथे । सुरुमा झ्याउ लाग्यो । मुसालाई लखेट्थें । फेरि आइहाल्थे । पछि दिन कटाउन तिनै मुसाका क्रियाकलाप हेरिरहन थालें । आफूलाई दिइएका खानेकुरा मुसालाई पनि राखिदिन्थें । खानामा सधैं सिसाका टुक्रा, प्लास्टिक, कीरा हुन्थे । ती सबै पन्छाएर खान्थें । मुसा आएको, यताउता दौडेको हेरेर दिन काट्थे । पछिपछि लाग्न थाल्यो– जीवन जिउन साँच्चिकै सजिलो छ । कोठाभित्र एक्लै हुँदा मेरा साथी मुसाहरू थिए । उनीहरू खेलेको हेरेर बस्दा आनन्द आउँथ्यो । कहिले हाँसोको फोहोरा छुट्थ्यो । बाहिर केही नदेखिने । जेल जंगलभित्र रहेकोले बाहिरका चराचुरुंगीको आवाज सुनेर बस्थें । रमाइलो लाग्थ्यो । मेरा एकान्तका साथीहरू कहिले कीरा–फट्यांग्रा, वर्षातमा कोठा छिरेका भ्यागुता, मुसा भए । कहिलेकाहीं भँगेरा आउँथे । तिनै भँगेरा उडेको हेरेर पनि दिन बिताएँ । जीवन जिउन सिक्दै गएँ । १० वर्ष बिते । पछि जेलबाट रिहा हुँदा थुप्रै नेपालीभाषीहरू लखेटिसकेका रहेछन् । म पनि निर्वासनमा नेपाल आएँ ।
नेपाल आएको पनि २२ वर्ष भइसकेछ । हाम्रो घरफिर्ती आन्दोलनलाई तितरबितर पारिएको छ । थुप्रैलाई तेस्रो मुलुक पठाइएको छ । अहिले पनि भुटानले नेपालीभाषी लेखेटिरहेको छ । उनीहरूले शरणार्थी परिचयपत्र पनि पाउन सकेका छैनन् । यहाँ बस्नेलाई पनि समस्या छ । म आफैं पनि मागेर खाइरहेको छु । राजनीतिमा नलाग्दै व्यापार गरेर म सम्पन्न भइसकेको थिएँ । अहिले यहाँ कोठाभाडा तिर्न पनि हात पसार्नु परेको छ । मसँग के थिएन ? घर, खेत, गाडी सबथोक थियो । तर, नेपालीभाषी भुटानीका लागि लड्दा यो अवस्थामा पुगेको छु । बहिनी अमेरिका गएकी छे । कहिलेकाहीँ पैसा पठाइदिन्छे । तर, हामी कुनै देशको नागरिक नभएको मान्छे, बैंकबाट पैसा निकाल्न पनि नमिल्दो रहेछ । पैसा पठाइदिने पनि शरणार्थी, निकाल्ने पनि शरणार्थी हुँदा बैंकबाट आफ्नै पैसा पनि निकाल्न नपाइने रहेछ । भुटान जान चाहन्छौं भन्दा तेस्रो मुलुक पठाइदिने नेपाल सरकारले कम्तीमा यसमा एउटा सुधार गरिदिए हुन्थ्यो ।
काठमाडौंबाहिर जाँदा राम्रो होटलमा बस्न पाइँदैन । नागरिकता माग्छ । शरणार्थी परिचयपत्र देखाउँदा होटलमा बास पाइँदैन । पैसा तिरेर कतै जान्छु भन्दा पनि पाइँदैन । कहिलेकाहीँ आफैंदेखि दिक्क लाग्छ । परिवारका सदस्यले पनि कहिलेकाहीँ गाली गर्छन् । राजनीति नगरेको भए यस्तो दुःख पाइँदैनथ्यो भन्छन् । जसका लागि लडें, उनीहरूले पनि जस दिँदैनन् । अनि नमीठो लाग्छ । कहिलेकाहीँ एक्लै रुन मन लाग्छ । र, मनमनै भन्छु– संसारमा कोही पनि कहिल्यै शरणार्थी बन्न नपरोस् । मान्छेसँग बरु घर, खेत केही नहोस् तर कम्तीमा एउटा नागरिकता होस् ।
तस्बिर: bhutandnc.com
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३ ०९:४२
प्रतिक्रिया दिनुहोस्