site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दु:खी आत्माको हरियो राहदानी
SkywellSkywell

बलिउडका कलाकारहरु अमेरिका नजाने कुरा आएन, तर साहरुख खानको अमेरिका यात्रा भने कहिलेकाहीँ रोचक बन्ने गर्छ । कयौ पटक साहरुखलाई त्यहाँको अध्यागमन विभागले समातेर सोधपुछ गरेको छ । यसो हुनुमा २ वटा कारण हुन सक्छन् । एक- साहरुखले अमेरिका चिने पनि अमेरिकीहरु उनलाई चिन्दैनन् । र, दुई- जतिसुकै ठूला प्रोफाइल बटुलेका व्यक्ति भए पनि शंका लागेमा छानबिन गर्न अमेरिका 'कम्प्रमाइज' गर्न जान्दैन ।

साहरुखमाथिको त्यस्तो अपमानजनक व्यवहारका खबरहरु प्रकाशित भएपछि बलिउडप्रेमी सिंगो भारतीय जनताले एकमुखले विरोध जनाउँछन् । मिडियाहरुले राम्रो साथ दिन्छन् । फलत: अमेरिकाको अध्यागमन प्रतिनिधिले साहरुखसमक्ष माफी मागे भन्ने पनि सुनिन्छ । तर्क गर्नेहरुले 'खान' भन्ने जात मुस्लिम हो र मुस्लिमका गतिविधिसँग अमेरिका डराउँछ भन्छन् । मलाईचाँहि यो तर्क 'अर्धसत्य' लाग्छ ।

भट्टराई 'जात'सँग हङकङ डरायो होला भन्ने मलाई लाग्दैन । गोर्खाका पण्डित पुर्खा रहेको उनको खलक यसै पनि काटमारमा विश्वास राख्दैनन् । तर, बाबुरामको हकमा खलकको उदाहरण काम लाग्दैन । उनको प्रोफाइल 'स्टडी' गरे भने मानिसहरु डराउन सक्छन् । यद्धपि तत्कालीन माओवादीको शीर्ष नेता, जनयुद्धको योजनाकार भएकै कारण सदैव उनको मनमा ढुकचुक ढुकचुक रहिरहन्छ । हङकङ अध्यागमनले उनको 'हुर्मुत' काढ्यो ।

KFC Island Ad
NIC Asia

हङकङको अध्यागमनले गरेको अपमानको गाथा बाबुराम स्वयंले पर्दाफास गरेपछि केहीबेर हाँसो लाग्यो । किनभने आजभोलि बाबुरामको काम भनेको आफ्नो संमरणमा भएजतिका हरेक घटनाक्रमको पर्दाफास गर्दै जानु पनि हो । आखिर मानिस जे कुरा गर्दा खुसी हुन्छ, त्यही नै गर्ने हो । आफूले भोग्नु परेका अपमानहरु 'गुपचुप' राख्ने जमातको भीडमा तिमी 'एक्लेवीर' भएर निस्कियौ । स्याबास लालध्वज !

कलाकारिता र राजनीति भन्ने जिनिस आकाश जमिन हुन् भन्ने लाग्छ । हङकङको अध्यागमनमा बाबुरामले झेल्नु परेको दु:ख, साहरुखको अमेरिका यात्रासँग मिल्दोजुल्दो भएकाले 'बलिउडको' नाम उच्चारण गरेको हुँ । र, बलिउडकै शैलीमा बाबुरामले 'वाट डु यु मिन, सरी ?' भनेर अंग्रेजीमै थर्काउन भ्याएछन् हङ्कङ अध्यागमनका कर्मचारीहरुलाई । ती डरले लगलग काँपेपछि बाबुरामले मुख चुच्चो परेको रेल चढे ।

Royal Enfield Island Ad

बाबुरामको निधारमा 'यिनी नेपालका पूर्वप्रधानमन्त्री हुन्' लेखको छैन । लेखेको हुन्थ्यो भने विमानस्थलमै स्यालुट खान नि सक्थे । तर, उनले त्यो दिन किन रातो राहदानी बोकेनन् ? उनीसँग कसरी दुईथरी राहदानी भए ? राहदानीसम्बन्धी जानकार राख्ने व्यक्ति होइन म । तर एक व्यक्तिले दुईवटा राहदानी एकैसाथ होल्ड गर्न सक्छ होला भन्ने लाग्दैन ।

फेरि हाम्रा सभासदहरु कूटनीटिक राहदानी बेचेर पेट पाल्छन्, मानव तस्कर गर्छन् । आफ्नो फोटोमा अर्काको फोटो चिप्काइदिने यिनीहरुको बुद्धि हुन्छ । यो वास्तविक कुरा हो, स्वाभिमान झुकाएको होइन ।

हङकङको अध्यागमन विभागले बाबुरामलाई 'अस्थायी कस्टडी'मा लगेर राख्यो, जुन संसारका हरेक विमानस्थालमा आधारभूत संरचनाकै रुपमा तयार गरिएको हुन्छ । अध्यागमनका कर्मचारीलाई विशेष सूचना प्राप्त भए उनीहरुको प्रथामिकतामा नपरेको देशका यात्रुहरुको प्रवेश अनुमति 'भिसा' ठीक छ कि छैन भनेर उनीहरुले कडा जाँच गर्छन् । बाबुराम त्यही जाँचमा परेका हुन्, जुन अस्वाभाविक जाँचले अक्सर नेपालीहरुलाई पिरोल्छ ।

हङकङ अध्यागमनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहनु परेको अपमानबारे नेपालको मिडिया र सामाजिक सञ्जालमा सहानुभूति देखिएन । बरु उल्टै आम नेपाली नागरिकले हरेक दिन भोगेको पीडा आज नेताले भोग्नुपर्‍यो भन्दै खुसी व्यक्त गरे । पत्रकार स्वभावका बाबुरामले रोइलो गर्न भने छाडेनन् । के कति कारणले नेपाली अपमानित हुनुपरेको छ भन्ने कुरा बुझ पचाए उनले । तर, आर्थिक क्रान्ति भन्ने शब्द उच्चारण गर्न भने छाडेनन् ।

बाबुराम नेपालका पूर्वप्रधानमन्त्री भएकाले उनको भ्रमणको सन्दर्भमा सम्बन्धित देशमा कार्यरत भई कूटनीटिक काम गरिरहेका वाणिज्य दूत, राजदूत वा त्यस्तै किसिमका कर्मचारी चनाखो हुनुपर्ने थियो । तिनले के लाकुरीको रुख हेरेर बसेका थिए ? किनभने बाबुरामले आफ्नो भ्रमणबारे परराष्ट्रलाई जानकारी गराएकै हुनुपर्छ । नेपालको कानुनले वरिष्ठको विदेश भ्रमणबारे जानकारी गराऊ भन्छ ।

हरियो राहदानीको पीडा

हरियो राहदानीले नेपालको आफ्नै विमानस्थालमा अपमानको शृंखला सहँदै अन्तिम गेट बल्लबल्ल पार गर्छ । विदेशी र स्वदेशीका लागि अलग-अलग लाइन हुन्छन् । अझ अरबतिरको भिसा रहेछ भने ज्यादै अपमान हुन्छ । रातो राहदानी भएका भाग्यमानी एनआरएन सदस्य र नाफाका शुक्रकिट लाहुरेका सन्ततीहरु भने सम्मानित पात्र हुन्छन् । मनौं कि त्यो एकथान हरियो राहदानी सम्पूर्ण लज्जाबोध देखाउनको निम्ति जारी गरिएको हुन्छ ।

र, लज्जाबोधसँग ठिंग उभिएको हुन्छ एउटा अभागी । विदेशका विमानस्थालमा ऊ र कुकुरबीचमा कुनै फरक व्यवहार गरिन्न । बरु कुकुरलाई 'पप्पी' भनेर मायाले बोलाइन्छ तर मान्छेलाई घृणा गरिन्छ । त्यो पनि नेपाली लवजको मान्छेलाई । हरियो राहदानी होल्डिङ गरेको कारणमात्र होइन, नेपाली भएका कारण पाकिस्तानीले पाउने 'अनअराइभल भिसा'को सुविधा नेपालीले पाएका छैनन् ।

विदेशका अध्यागमनका कर्मचारी 'कन्फ्युज' भएका कारण हाम्रा भीआईपी र भीभीआईपीले एकछिन दु:ख पाउने कुरा स्वाभाविक हो । तर, आम नेपाली नागरिकको हैसियतबारे कोही कतै पनि कन्फ्युज छैनन् । तिनले धेरै टाढाबाट 'ओ नेपाली यता आइज' भनेर डाक्छन् । यस्तो लाग्छ कि नेपाली हुनु भनेको कुनै सामन्तवादीले आफ्नो मनोरञ्जनका खातिर घरमा पालेको 'जनावर' हो ।

औसत नेपालीहरुको आर्थिक वृद्धिदर कति हो, आम्दानी कति हो, उनीहरुले थेग्न सक्ने सेवा-सुविधाहरु के-के हुन्- सारा संसारलाई थाहा छ । हामीले लुकाउन खोजे पनि संसारसँग आँकडाहरु छन् । हरियो राहदानीको अपमान सहन नसकेर नै नेपालका धैरै पत्रकार, कर्मचारी, व्यापारी, नेता, नायक, नायिका, गीतकार, संगीतकार, कथाकार, आर्मी, पुलिस, गायक, गायिकाको हातमा ग्रिनकार्ड छ ।

ग्रिनकार्ड नै छैन रहेछ भने पनि कम्तीमा ऊसँग रातो राहदानी छ । संसारका सुन्दर विमानस्थलमा पुगेर भनोस् न म नेपाली होइन, यूकेको नागरिक हुँ । उसको छाती फुलेर बेलुनभन्दा ठूलो हुन्छ । यो सम्पूर्ण भेदको खुलासा लालबाबु पण्डितले गरिसके । अब हाम्रो बीचमा खुलासा हुन बाँकी के नै रह्यो र ? हामीसँग राष्ट्रिय गीतबाहेक बाँकी के नै छ र ?

बाबुराम दु:खी आत्मा हुन्

आफू अपमानित हुनु परेपछि डा. बाबुरामले ठूलै हंगामा मच्चाए । नेपाली सामाजको चरित्रको महान व्याख्याता हुँ भन्ने अनि खासगरी युवाहरुको सुन्दर भविष्यको खातिर मीठा प्रवचन दिने डाक्टर साहेबलाई हरियो राहदानीको कथा, व्यथा थाहै रहेनछ । मानौं उनी नेपालीमूलका बेलायती नागरिक हुन् । त्यस्ता नागरिकहरुलाई नेपालमा हिमाल, पहाड, खोलानालाहरु छन् भन्नेबाहेक अरुथोक थाहा हुन्न । ती दु:खी आत्मा हुन् ।

बाबुराम दु:खी आत्मा बोकेर छट्पटाइरहेका होलान् भन्ने ठानेको थिइनँ । लाखौँ नेपाली युवायुवतीले हरेक दिन भोग्नुपरेको दासको जस्तो अपमानिम र अमर्यादित व्यवहार बाबुरामले केवल एकदिन, एक घण्टा भोगेका मात्र हुन् । छाँगाबाट खसे जस्तो महसुस गर्न सजिलो छ, वास्तवमै खस्नचाँहि मुस्किल छ । हङकङ ट्रान्जिट भएको समयमा बाबुराम छाँगाबाट खसेको महसुस गरे, खसिहालेका छैनन् । यो सुन्दर पक्ष हो ।

नेपालमा पुलिसलाई फोन गरेर थर्काए जस्तो कहाँ हुन्छ र गगनचुम्बी महलहरु भएको देशमा । बाबुराम हुन् कि धनीराम हुन्- कानुन सबैलाई बराबर लाग्छ । तर डा. बाबुराम भट्टराई नेपालका पूर्वप्रधानमन्त्रीसमेत हुन् । उनी अपमानित हुनु भनेको उँट हेर्न र हाउसमेड बस्न हिँडेका कामदार अपमानित भएजस्तो होइन । देशै हाँक्ने लिडरसँग स्वाभाविक रुपमा देशको प्रतिष्ठा, गरिमा, स्वाभिमान पक्कै जोडिन्छ ।

तर, नेपालीलाई आधुनिक दास हुनबाट जोगाउन विगत दुई दशकमा बाबुरामले के-के गरे ? हरेक जनताको जनजिब्रोमा झुन्डिएको प्रश्न हो यो । हरियो राहदानीको अपमान आफूले भोगेपछि मात्रै चेत खुलेको हो भने उनले बेरोजगार युवाहरुको पीडालाई गम्भीर भएर बुझेकै रहेनछन् । केवल गाँस, बास र कपासका लागि काम गर्नुमात्र रोजगारी पाउनु होइन । रोजगारीको प्रश्न स्वाभिमानसँग गाँसिएको हुन्छ, जोडिएको हुन्छ ।

ग्लोबोलाइजेसनको दुनियाँ छ । मानिसहरु एक देशबाट अर्को देशमा जाने, उतै बस्ने, काम गर्ने भन्ने कुरा सामान्य भइसक्यो । स्वाभाविक रुपमा आफूलाई जहाँ सेवा-सुविधा मिल्छ, सजह अनुभूत हुन्छ, त्यहाँ नै व्यवस्थित भएर बस्न चाहन्छ मान्छे । कृषिप्रधान नाराबाजी भएको देशमा आज हाम्रा गाउँघर रित्ता छन् । खेतमा तीतेपाती फुलेको छ । खोलानाला, पहाड र रनवनहरु चुपचाप छन् ।

गाउँमा चौरासी पूजा गरिसकेका बाजेबजै, अपांग, अशक्त, असहाय र छोराछोरीले हेला गरेका बुबा-आमाबाहेक कोही पनि छैन । आजको कतार नेपाली कामदारले बनाएको हो भन्दा यो अतिवादी सोच हुन सक्ला तर वास्तवमै नेपाली कामदारको पसिना कतारका हरेक गगनचुम्बी महलमा पोतिएको छ । हाम्रो काठमाडौंको हालत हेर्‍यो भने २ दशकअगाडि भित्ताहरुमा 'यहाँ पिसाब नफेरौं' लेखिएको थियो, त्यो अझै मेटिएको छैन ।

नेपाली युवाहरुको काम भित्तामा पिसाब फेर्नेमात्र हैन । यो कुरा काठमाडौं र बाबुरामहरुले बुझ्न सकेनन् । बिल्कुल सकेनन् । बडो दु:ख लाग्छ । सही समयमा सही मार्गदर्शन पाए नेपालमै बन्न सक्छ आणबिक बम पनि । जम्मु-काश्मिरको स्याउदाना टोकेर स्वस्थ हुन्छु भन्ने हाम्रा पित्रहरुलाई मुस्ताङ र जुम्लाको स्याउ चखाउन पाएका छैनौं । कारण- हरियो राहदानी । अपमान र पलायनको एउटा परिचयपत्र । नाथे, हरियो राहदानी ।

आफ्नै अनुभव

खै किन हो किन, हरियो राहदानी र दु:खी आत्मा उस्तै-उस्तै लाग्छ । राहदानी नामको जिनिस हवाईजहाज चढ्दामात्रै परिचय बोकेर उड्दैन । यो जिनिसले देशको वर्तमान, विगत र भविष्यको अस्तित्वसमेत बोकेर उड्ने रहेछ । हामी उडिरहेका छौं । संयोगवश बाबुरामले रातो राहदानी बोकेका रहेनछन् त्यो उडानमा । उनलाई आम नेपालीको पीडा भोग्न लेखको रहेछ । यस अर्थमा अलिअलि खुसी हुनुपरेको छ भन्नुस् ।

म यूएईमा नोकरी गरिरहेका बेला अफगानिस्तान र हङकङ नै जाने अवसर पाएको छु, कामको सिलसिलामा । ट्रान्जिटको रुपमा बहराइन र कतारको विमानस्थलमा लामो समय पर्खेको छु । सामान्य कामदार (लेबर) पोजिसन लेखिएको त्यो हरियो राहदानीले भोग्नु परेको सास्ती सम्झँदा मलाई यस्तो लाग्छ कि त्यो राहदानीको परिचयमा 'रेबिज रोग लागेको भुस्याहा कुकुर' भनेर लेखिएको रहेछ क्यारे ।

विदेशीहरु एउटा लाइनमा तर हामी नेपालीहरु चाहिँ अर्को छुट्टै लाइनमा उभिएर सुरक्षा जाँच गर्नुपर्दा लाग्छ– नेपाल आमाको कोख कामदार उत्पादन गर्ने कारखाना हो !

"ए नेपाली बाबु, तिमी त यो लाइनमा हो उभिने, किन त्यहाँ गएको ?"

यस्ता अनेकौं वचन सुनेपछि म ट्वाइलेटभित्र गएर रोएको थिएँ । गफ होइन- यो साहित्यिक मन रोई पनि हाल्छ । पहिले-पहिले बाबुराम पनि रुन्थे ।

नेपाली नागरिकको पोजिसन के हो ? यो प्रश्न बाबुरामको लागि मात्र होइन, ठूला-ठूला सपना देखाएर स-साना कुरामा विवाद गरेर अल्झिने नेताज्यूहरुको लागि पनि हो । यो सतही र केटाकेटी प्रश्न नि होइन, गम्भीर र जटिल प्रश्न हो । हाम्रा झुपडीहरुमा आगो नबल्ने कहिलेसम्म ? हाम्रा यी भोका पेटहरुले ढुक्कसँग एकछाक खान नपाउने कहिलेसम्म ? मरूभूमि र जुठेल्नाहरुमा सिंगो जीवन अर्पण गर्नुपर्ने कहिलेसम्म ?

अपमानको भारी भोकेर यो दु:खी आत्मा कहिलेसम्म कहाँ-कहाँ भौतारिने ? यस्तो लाग्छ- अब त यो हरियो राहदानी उँटले पनि चिन्न थाल्यो । अध्यागमनको कुरा छाडौ- उँटले समेत अपमान गर्छ ।

त्यसै पनि वर्षौदेखि जुठेल्ना, बगैंचा र पाइखानाको अपमान सहेरै जीवन धानेका छौं बाबुरामजी ।

अन्तिममा फेरि मेरो नाम किन घुसायो यो पाखण्डीले भन्नुहोला ! 'आँशुमिश्रित करूणाको ध्वनिमा' तपाईंको नाम युगौं-युगसम्म घुसाउन मन लाग्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro