खेल
काठमाडौं । चौथो प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आयोजक त्रिभुवन आर्मी क्लबले विजय सुरुआत गरेको छ । शुक्रबार सुरु प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चल महिला फुटबल टिमलाई पराजित गर्दै विजय सुरुआत गरेको हो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ६–० ले पराजित गर्यो । प्रतियोगितामा नेपालका आठ र भारतका दुई महिला टोलीले सहभागिता जनाएका छन् । नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको बिजेताले ३ लाख प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टिमले १ लाख प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले स्कुटर तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले गरेका थिए । प्रतियोगितामा आयोजक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, पूर्वाञ्चल महिला टिम, मध्यमाञ्चल महिला टिम, पश्चिमाञ्चल महिला टिम, मध्य पश्चिमाञ्चल महिला टिम, सुदुर पश्चिमाञ्चल महिला टिम सहभागी छन् ।
त्यस्तै भारतको विहार महिला टिम र सिक्किम महिला टोलीले सहभागिता जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३ १७:५४
प्रतिक्रिया दिनुहोस्