विशेष
काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनाव आउन पाँच दिन मात्रै रहेका बेला अमेरिकी राष्ट्रपतिका दुई प्रमुख प्रतिस्पर्धीले आफ्नो ध्यान तीव्र प्रतिस्पर्धा रहेका राज्यहरुमा केन्द्रित गरि चुनाव प्रचार अभियानलाई थप गती दिएका छन् ।
पछिल्ला मत सर्वेक्षणहरुले हिलारी क्लिन्टन तथा डोनल्ड ट्रम्पबीच तीव्र प्रतिस्पर्धा रहेको देखाएको अवस्थामा उनीहरु दुवैले छुट्टा—छुट्टै चुनावी सभा गर्दै एक अर्का बिरुद्ध कडा प्रहार गरेका बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
पछिल्लो मत सर्वेक्षणहरुमा क्लिन्टनको अग्रता कम भएको देखाएको बेला उनले रिपब्लिकन उमेदवार ट्रम्पको स्वभाव तथा महिलाहरु प्रतिको प्रवृत्तिको चर्को आलेचना गरेकी छन् ।
ट्रम्पले भने उनले राष्ट्रपति चुनाव जितेमा डेमोक्रेटिक उमेदवार हिलारी बिरुद्ध आपराधिक मुद्दा लगाउने बताएका छन् ।
ट्रम्पको चुनावी सभामा उनकी पत्नी मेलानिया तथा छोरी इभान्काले पनि पहिलो पटक उनको समर्थनमा प्रचार गरेका छन् । पेन्नसेलभेनियामा बोल्दै मेलानिया तथा उनकी छोरी इभान्काले ट्रम्पको समर्थन महिलाहरुलाई भोट दिन अपिल गरेका थिए ।
सभामा मेलानिया ट्रम्पले चुनाव जितेमा प्रथम महिलाको हिसाबले महिलाको दैनिक जीवन सुधार गर्ने बाचा गरिन् । उनले आफू राष्ट्रपति भएमा साइबर बदमासीको बिरुद्ध अभियान थाल्ने बताइन् । तर, उनका पतिले सामाजिक सञ्जालमा गालीगलौज तथा मानहानी गरेको बारेमा भने मौन रहिन् ।
पछिल्लो समय ट्रम्पले कडा प्रतिस्पर्धा भएको मानिएका फ्लोरिडा, नर्थ क्यारेलिना जस्ता राज्यहरुमा आफ्नो पकड राम्रो बनाएका खबरहरु सार्वजनिक भएका छन् ।
ट्रम्पले चुनाव प्रचार अभियानमा हिलारी क्लिन्टनको नयाँ इमेलको छानविन गर्ने संघीय अनुसन्धान ब्यूरोको निर्णयलाई प्रमुख मुद्दा बनाइरहेका छन् ।
उता डेमोक्रेट पार्टीकी उमेदवार हिलारी क्लिन्टन पनि प्रतिस्पर्धा भएको मानिएका राज्यहरुमा लगातार प्रचार अभियानमा छिन् । नर्थ क्योलिनमा बोल्दै ट्रम्प राष्ट्रपति बनेमा राष्ट्रिय सुरक्षाका लागि उनी खतरा हुने बताएकी छन् ।
“यदी डोनाल्ड ट्रम्प चुनाव जितेर कमान्डर इन चीफ बनेमा यो एकदमै खतरनाक हुनेछ, ’’ हिलारीले भनिन् ।
राष्ट्रपति चुनावमा प्रतिस्पर्धा बढेको बताइएसागै राष्ट्रपति बाराक ओबामा पनि लगातार हिलेरीको समर्थनमा सभाहरुमा भाग लिँदै आएका छन् । फ्लोरिडाको मियामीमा आयोजित एक सभामा ओबामाले ट्रम्पको कडा आलोचना गरेका छन् ।
“यदी तपाईं राष्ट्रपति हुनुभन्दा पहिले नस्लभेदी संगठनका समर्थकप्रती सहानुभूति राख्नुहन्छ भने के राष्ट्रपति बनेपछि पनि उनको सर्मथन लिनुहुन्छ ? तपाईं राष्ट्रपति हुनुभन्दा पहिले सम्विधानको बेइज्जती गर्नुहुन्छ र मिडियालाई बन्द गर्ने कुरा गर्नुहुन्छ, प्रत्यक्ष बहसमा आफ्नो विरोधीलाई जेल हान्ने कुरा गर्नुहुन्छ भने के राष्ट्रपति बनेपछि यस्तो गर्ने तागत तपाईंमा हुन्छ ? हामीले कस्तो व्यक्तिलाई राष्ट्रपति बनाउने हो अब हामीले बिचार गर्नुपर्छ,’’ आेबामाले भने ।
नर्थ क्यारोलिनाको सभामा डेमोक्रेट पार्टीका उमेदवार छनोटका बेलाका हिलारीका प्रतिष्पर्धी बर्नी स्यान्डर्सको उपस्थितीले हिलारीलाई सहयोग मिलेको बीबीसीले उल्लेख गरेको छ ।
उक्त सभामा म्युजिक स्टार फरेल विलियस्सको उपस्थितिले हिलारीलाई निक्कै फाइदा मिलेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३ १०:३६
प्रतिक्रिया दिनुहोस्