
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई समेत विपक्षी बनाइएको गभर्नर नियुक्ति मापदण्डविरद्धको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा परेको छ ।
तीन दिनदेखि लगातार 'हेर्न नभ्याइने'मा परिरहेको उक्त रिट आज इजलासको ११औँ नम्बरमा छ ।
सरकारले गभर्नर बन्न ६५ वर्षे उमेरहद नलाग्ने गरी संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध अधिवक्ता विशाल थापाले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरिम आदेश भएर तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा आदेश जारी भएको थियो । यसबीचमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टलाई गभर्नर बन्ने चर्चाकै भरमा विपक्षी बनाएर पूरक निवेदन परेको थियो ।
अन्तरिम आदेश छलफलका निम्ति आइतबारको पेसी तोकिएकामा शुक्रबार नै पूरक निवेदन दर्ता भएपछि उक्त रिट 'हेर्न नभ्याइने'मा पर्दै आएको थियो । आइतबार ३७औँ नम्बरमा, सोमबार १३औँ नम्बरमा र मंगलबार १७औँ नम्बरमा परेर 'हेर्न नभ्याइने'मा परेको थियो ।