अर्थ व्यवसाय
काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३.८ प्रतिशत बढेको छ । बैकले चालु आवको पहिलो त्रैमासमा २५ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २२ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो आवमा बैंकले १ अर्ब १२ करोड ८२ रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा नाफा, निक्षेप परिचालन र कर्जा लगानी बढेको जानकारी दिएको छ ।
समीक्षा अवधिमा निक्षेप परिचालन २६.६ प्रतिशत बढेर ५२ अर्ब ४१ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४१ अर्ब ४० करोड २७ लाख रुपैयाँ निक्षेप संकल गरेको थियो । यस्तै कर्जा लगानी पनि अघिल्लो आवको भन्दा पहिलो त्रैमाशमा २८ प्रतिशत बढेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकले ४३ अर्ब १६ करोड रुपैया कर्जा लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३२ अर्ब ८२ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
चालु आवको पहिलो त्रैमाशमा बैंकको सेयर मूल्य अधिकतम ९६२ रुपैयाँ र न्युतम ६५८ रुपैयाँमा कारोबार भएको थियो । बैंकको गैरबैकिङ सम्पत्ति १.३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ बढी छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १२:०७
प्रतिक्रिया दिनुहोस्