site stats
बाह्रखरी :: Baahrakhari
देश
एक हप्तादेखि बन्द सिद्धिचरण लोकमार्ग अझै खुलेन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको हर्देनी–२ स्थित ठाँटीमा निरन्तर पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड अझैसम्म पनि खुल्न सकेको छैन । 
एक हप्तादेखि उक्त सडकखण्ड खुल्न नसक्दा मालबाहक सामान समेत ढुवानीमा अवरुद्ध हुँदा उदयपुरको घुर्मी, ओखलढुङ्गाको हर्कपुर र खोटाङलगायतका स्थानमा उपभोग्य वस्तुको अभाव हुन थालेको सम्बन्धित क्षेत्रका जनताले बताएका छन् । 
पेट्रोल, डिजेल तथा अन्य उपभोग्य वस्तुको अभाव हुँदा उदयपुरको घुर्मी बजारलगायत हर्कपुर क्षेत्रमा समस्या हुन थालेको घुर्मीका सरेन्द्र खड्काले बताए । 
सिद्धिचरण लोकमार्ग खुल्न नसकेपछि अहिले घुर्मी, हर्कपुरलगायत खोटाङको हलेसी क्षेत्रमा व्यापारीले व्यापकरुपमा वस्तुको अभाव देखाएर कालोबजारी गर्न थालेको हलेसी च्यास्मिटार–३ का दीपेन्द्र चामलिङले बताए । 
खानेतेल, पेट्रोल, डिजेललगायतका उपभोग्य वस्तुको मूल्य व्यापारीले दोब्बरले वृद्धि गरेको समेत चामलिङको भनाइ रहेको छ । यता लोकमार्ग अवरुद्ध हुँदा दसैँमा टाढा–टाढाबाट सिद्धिचरण लोकमार्ग हुँदै पहाडी क्षेत्रको ओखलढुङ्गा, सोलु र खोटाङ हिँडेका यात्रु बाटैमा बिचल्लीमा परेको घुर्मीका यातायात व्यवसायी कुमार लुङ्गेलीले बताए । 
केही यात्रु भने दुईचार दिनसम्म पनि सडक नखुलेपछि पैदल हिँडेर नै कठिन यात्रा गर्दै पहाडी क्षेत्र लाग्न थालेको समेत यातायात व्यवसायीले बताएका छन् । यता सिद्धिचरण लोकमार्ग खुलाउन सडक डिभिजन कार्यालय लहान, इलाका प्रहरी कार्यालय कटारीसहितका स्थानीय समेत लागेर दैनिक प्रयास गरेको भए तापनि पहिरो झर्ने क्रम जारी रहेकाले गर्दा काम गर्न बाधा परिरहेको कुरा इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । 
केही सञ्चारमाध्यमले सिद्धिचरण लोकमार्ग खुल्यो भनेर समाचार आएको कुरा समेत सत्य नभएको कुरा इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक मदन गिरीले बताए । रासस
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७३  १०:३८
प्रतिक्रिया दिनुहोस्