दशकौं मिहिनेत गरेर, ऐतिहासिकरूपमै संविधान सभाबाट पारित गरेर ल्याएको नेपालको सिंवधान, २०७२ तेस्रो वर्षमा प्रवेश गरेकोमा व्यक्त भए जति खुसियाली आफ्नो जीवनप्रति व्यक्त गर्ने अवसर पाएका छौँ कि छैन ? विचारणीय छ । राष्ट्रको संविधान लागु गर्न, संशोधन गर्न, हामी जति सचेत, प्रतिबद्ध र विश्वसनीय छौँ त्यति नै हाम्रो जीवनको विधानप्रति सचेत बन्न सक्न हो भने धेरै नै शुभ अनुभूति गर्न सकिन्थ्यो ।
संविधान देशको कानुन, मर्यादा र अनुशासन हो भने जीवनको विधान, आफ्नो अनुशासन कत्तिको पालना गरेका छौँ हामीले ? संविधानत: नयाँ संविधान जारी भएपछि मुलुकले जुन किसिमको गति लिन्छ भन्ने आशा र विश्वास समाजमा थियो त्यसअनुरूप काम नभएको भनी जति गुनासा गर्छौँ त्यसको एक तिहाइ पनि आफ्नो जीवन बारे सोच्न सके जीवनमा कति संवृद्धि आउने थियो होला ? जनउत्तरदायी बन्नको लागि होस् या पारदर्शी शासन व्यवस्था कायम गर्नको निम्ति नैतिक मूल्य, मान्यतामा आधारित राजनीतिक व्यवस्थामार्फत राष्ट्रको आर्थिक संवृद्धिको मार्ग पहिचानमा संविधानको महत्त्व खोज्ने गर्छौँ त्यति नै मर्यादित आफ्नो जीवनप्रति हुन सके संवृद्धि ल्याउन कागजी दस्तावेज रुपी संविधानको सहारा नै चाहिने थिएन ।
संविधान लागु भएपछि पनि अपेक्षितरूपमा राष्ट्रमा विकास, शान्ति, न्याय र सहजता नदेखिनुको प्रमुख कारण हो राष्ट्रको लागि त संविधान बन्यो तर राष्ट्रका अगुवाहरूले यसको मर्मलाई आफ्नो जीवनमा उतार्न सकेनन् । जीवनको विधानमा लागु हुनुपर्ने संकल्पको विकास भएन । चेतनाको स्तरमा दस्तावेजरुपी संविधानले रुपान्तरण ल्याउन सकेन । जीवनको उद्देश्य, मर्यादा र लक्ष्य पहिचान गर्न सक्नु जीवनको प्रमुख विधान हो ।
मानव चेतना भएको प्राणी हो भन्ने सबैलाई थाहा छ । त्यस चेतना भित्रपनि संकल्प शक्ति छ जसलाई इच्छा शक्ति भनिन्छ । हामी जे बन्न चाहन्छौँ, जे गर्न चाहन्छौँ त्यो लक्ष्यमा पुग्नको लागि दिशा निर्देशको काम गर्छ संकल्पले । नयाँ वर्ष होस् या नयाँ केही थालनी गर्दा पनि संकल्प लिने चलन छ । पूजाआजा सुरु हुनु अगाडि गरिने संकल्प त प्राचीन संस्कार नै हो । बेलाबखत लिने गरेका संकल्प पूरा भएका छैनन् भने चाहिँ हामी संकल्पको विज्ञान अनुसार हिँडेका छैनौ । जे गर्न लागेको हो त्यसमा शतप्रतिशत समर्पित नभर्इकन लक्ष्य पूरा हुँदैन । राष्ट्र विकासको संकल्प होस् या आफ्ना व्यक्तिगत इच्छा पूरा गर्ने संकल्प हुन् त्यसको विज्ञान र नक्साअनुसार हिँडेनौ भने पुग्न सकिन्न अर्थात् सफलता हात लाग्दैन । आज हाम्रो राष्ट्र जुन अवस्थामा छ र हामी व्यक्तिगतरूपमा जुन अवस्थामा छौँ त्यो हाम्रो हिजोको संकल्पको परिणाम हो । हामी असल, खराब, राम्रो, नराम्रो जस्तो बन्न चाहेका थियौँ त्यस्तै बनेका छौँ । राष्ट्रको विकासमा जिम्मेवारी पाएका नेतृत्व गणले राष्ट्रलाई जुन स्थितिमा पुर्याउन चाहेका थिए त्यही अवस्थामा पुगेको छ उनीहरूको संकल्पको कारण । किनभने हामी जे सोच्छौँ, जे विचार गर्छौँ त्यो चेतनामा बीउको रूपमा बसेको हुन्छ संकल्पित भएर र त्यही बीउबाट नै फल निस्कने त हो ।
विचाररूपी बीउ रोज्न जान्यौ भने हामीले जे चाहेको त्यो लक्ष्य पूरा हुन्छ । आजका आधुनिक वैज्ञानिकले यसलाई आकर्षणको नियम भन्छन् । यो अस्तित्वको सृजनासँगै, मानिसको उत्पत्तिसँगै, सौर्यमंडलसँगै बनेको नियम थियो । जे बन्ने दृढ अठोट थियो प्रकृतिमा सबै चिज त्यसरी नै सृजना भए । मन भएको प्राणी मानिसमा चेतना, प्रेम र विवेकजस्ता गुण पनि हुन्छ । यो मानिस कस्तो बन्ने, के योगदान दिने घर, समाज र राष्ट्रमा, आफू आनन्दित बन्ने या तनावमा जिउने उसको रोजाइमा भर पर्छ । जिम्मेवारी लिएर पूरा गर्न सकिएन भन्ने कथा बनेको छ भनेपनि त्यो आफूलाई बचाउने उपायमात्र हो ।
गर्छु भन्ने काम गर्न प्रयत्नरत व्यक्तिले असफलता बेहोर्नु परेकै छैन । हाम्रो राजनीतिमा विपक्षीले काम गर्न दिएन, हामीले त गर्ने योजना बनाएका थियौँ भन्ने गरेको सिनन्छ । कसैको कारणले नभएको होइन बरू आफूले गर्न नचाहेर नभएको हो । चाहे बन्छ, नचाहे बन्दैन । अरूले नगरेको कुरा गरेर देखाउन पनि इच्छाशक्ति र साहस चाहिन्छ । किनभने परिणाम आफूले रोजेको बाहेक अरु आउँदैन । नचाहेर नभएको रहेछ भन्ने होस आइसकेको छैन भने अझैपनि सम्भावना छ 'युटर्न' गर्ने । आफूलाई बुद्दभन्दा कम चेतनाको स्तरबाट सम्झौता गर्नै पर्दैन । म प्रेम हूँ, करुणा हूँ, विवेक भएको व्यक्ति हूँ भनेर घोषणा गर्न सक्यो भने उसको अगाडिको मार्ग त्यसरी नै निर्धारण हुनेछ । अहिंसाको मार्ग मेरो मार्ग हो, कसैको लिनुभन्दा कसैलाई दिनु मेरो उद्देश्य हो । म बोध हूँ, जान्नेवाला हूँ भन्ने थाहा पाएपछि नकारात्मक मार्गमा लग्न कसैले पनि सक्दैन । तर, यसको लागि साहस भने अवश्यै चाहिन्छ । चाहेको कुरा प्राप्त गर्ने मार्ग निर्धारण र साहस नभएकै कारण मानिस दुखी छन् । बाहिर जति सम्पन्न र बलवान्, सशक्त देखिए पनि भित्रबाट खाली र खोक्रो छन् । यो यथार्थ हो । आफ्नो यथार्थ थाहा पाउन पनि साहस चाहिन्छ ।
आफ्नो इच्छाशक्ति बुझ्नेभन्दा पनि भयमा जिउने परिपाटी छ | सम्झौतामै जीवन बितिरहेको छ । जीवनले सही मार्ग पाएको छैन । विरोधाभास र विकल्प नै मानिसले खोजिरहेछ, रोजिरहेछ । म यो गरेरै छाड्छु, म यस्तो बनेरै छाड्छु भन्ने दृढ संकल्प लिन सकेको छैन ।
संकल्पको विज्ञानले सारा रहस्य उजागर गरिदिन्छ । हाम्रो जीवनको रहस्य, सफलता, असफलताका रहस्य थाहा पाएनौ भने हामी अझै बेहोसीमै छौँ । हाम्रो शक्तिमा के छ, सकारात्मक बन्ने शक्ति केले प्रदान गर्छ ? प्रेम नै शक्ति हो भन्ने कुरालाई व्यवहारिकता किन दिन सकिएन ? सुमधुर सम्बन्ध, असल कर्म, क्षमाशीलता, स्वीकार र विश्वास हाम्रा गुण होइनन् ? हुन् भने आफ्ना गुणको शतप्रतिशत उपयोग गरेका छौँ त हामीले ? किन एक अर्कामा विश्वास छैन ? प्रेम छैन, सम्बन्ध सुमधुर छैन । कर्म किन आफ्नै स्वार्थपूर्तिको लागि मात्र हुन्छ ? किन आफूबाट माथि उठेर हामीको भावनाको विकास हुन सकेको छैन ? किनभने हाम्रो मनले हाम्रो विवेक नै गुमाई दिएको छ, घुमाई दिएको छ ।
हाम्रो इच्छाशक्तिलाई प्रस्फुटन हुने वातावरण मिलेको छैन । हाम्रो लक्ष्य र जीवनको उद्देश्यको ज्ञान छैन । हामीले संकल्पको विज्ञानलाई बुझिसकेका छैनौ । 'जब जागा तब सबेरा' अब संकल्प गरौँ आफू आनन्दित हुने र आफ्नो कर्मले अरुलाई आनन्दित बनाउन कोसिस गर्ने । अब संकल्प गरौँ सेवा, परोपकार र असाधारण कर्म गरेर आफूलाई असाधारण व्यक्तिको रुपमा चिनाउने । अब संकल्प गर्ने बेला भएको छ आफ्नो विचार सकारात्मक बनाउने , शुद्द खानपानमा ध्यान दिने र स्वस्थ अनि मस्त रहने । साहस गरौँ र आफ्नो जीवनको उद्देश्यलाई आनन्दित हुने र सुकर्म गरेर लक्ष्यमा पुर्याउन कुनैपनि कुराको सम्झौता नगरौँ ।