आँबु खैरेनीबाट काठमाडौं आउनु थियो । असोज ५ गते शुकबार कसैको बन्दको हल्ला चल्यो । खैरेनीतिर बन्दको प्रभाव पनि देखियो । त्यसको भोलि र पर्सीपल्ट पनि यता कि उता बन्दको हल्ला चलिरह्यो । फाटफुट गाडी चलेका पनि थिए तर ‘देख्नेका आँखा फुटे सुन्नेका सही’ त हाम्रो बानी नै हो । त्यसो गर्दागर्दै यही ८ गते सोमबारमात्र फर्कने साइत जुर्यो ।
सार्वजनिक यातायात प्रयोग गर्दा सकेसम्म सजिलो त सबैले खोज्छन् तर सुबिस्तासँग आवतजावत गर्न भने बिरलैले पाउँछन् । त्यसमाथि बीच बाटाबाट बस चड्ने यात्रुले सजिलो सिट पाउन त झन् मुस्किल हुन्छ । लेख्न त माइक्रो बसमा महिला र ज्येष्ठनागरिक लेखिएका सिट हुन्छन् तर तिनमा पहिले टिकट काट्ने बसेर आएका हुन्छन् । बीचमा उठाएर अर्को यात्रु राख भन्न पनि मिलेन र भने पनि कसैले मान्दैन । केबलकार स्टेसन कुरिनबाट सिट मिल्ने कन्डक्टरको आश्वासनमा सबा नौ बजेतिर पोखराबाट आएको माइक्रोबसमा चड्यौँ । नभन्दै सिट खाली पनि भयो । त्यही सिट ताकेर मुढामा बसेर आएकी नानीलाई पछाडि बस्न आग्रह गर्दा मानिन् र सिट पाइयो । एउटा लडाइँ जितेजस्तो भयो ।
मलेखु कटेपछि माइक्रोबसका चालकको खाना खाने ठाउँ रहेछ । निकै बेर रोके । एकै ठाउँमा धेरै बेर रोकेपछि गाडी बढी गतिमा कुदाएर सोधभर्ना गर्छन् चालकहरूले । हामी बूढाबुढी गनगन गर्न थालिसकेका थियौँ । सडक भने अपेक्षाकृत खाली थियो । त्यो कतै न कतै जाम भएको संकेत थियो । खाना खाएर हिँडेपछि १२ः३० बजे नौबीसे आइपुगियो । त्यहीँबाट गाडीको लाम सुरु भएको थियो । अनि ताती गर्ने र ताँती लाग्ने क्रम सुरु भयो । ड्राइभरले बेलाबखत दुस्साहस गर्थे । उछिन्दै र भित्र छिराउँदै गर्दा एकपटक त ट्रकसँग झन्डै ठोकिएन ।
बीच बाटामा एउटा ट्रक बिग्रेर बसेको बाहेक जामको कारण भने केही देखिएन । मोटरसाइकल र केही निजी गाडीका चालकको उछिनपाछिनले गर्दा सहज आवागमन अवरुद्ध हुँदो रहेछ । साथै ठूला मालवाहक ट्रकहरूका कारण मूल जाम हुनेरहेछ । सरकारले चाहे त्यो जाम केही खुकुलो बनाउन सक्छ भन्ने लाग्यो । हुनत, बाटो तत्काल फराकिलो बनाउन सकिँदैन । फराकिलो त के अब दसैँसम्ममा कलंकी नागढुंगा खण्डमा समेत खासै केही गर्न सकिँदैन । यसै पनि सडक फराकिलो हुँदैमा ट्राफिक जाम नहुने त हैन रहेछ । नत्र कोटेश्वरमा यस्तो जाम नहुनुपर्ने हो । यसैले ट्राफिक व्यवस्थापनबाहेक गर्न सकिने अरू केही देखिँदैन ।
ट्राफिक व्यवस्थापनमा सबैभन्दा पहिलो र महत्त्वपूर्ण काम प्रहरी र प्रशासनको मानसिकता बदल्नु हो । सडक यातायातको व्यवस्थापन यात्रुको सुविधा र सुरक्षालाई प्राथमिकता दिएर गर्नुपर्छ भन्ने मान्यता प्रहरीले आत्मसात् गर्नुपर्छ । प्रहरीको सजिलो हैन यात्रुको सुविधा हेरेर नियमहरू बनाउनु र पालना गराउनुपर्छ ।
यात्रुको सुविधालाई प्र्राथमिकता दिने हो भने पहिलो काम ठूला माल ट्रक कन्टेनरहरूलाई चाडबाडका बेलासम्म दिउँसो चलाउन रोक्नु उचित हुनेछ । ठूला ट्रकहरूले गर्दा साना सबै सवारी ढिलो हिँडाउनु पर्छ । साइड नपुग्दा पर्खेर बस्नुपर्छ । कतै एउटा गाडी बिग्य्रो भने घन्टौं जाम हुन्छ । अर्कातिर, माल गाडी आउन पनि दिनुपर्छ । यसैले यिनीहरूलाई रातिमात्र चल्न दिने र त्यति बेला अरू यात्रुवाहक गाडी नचलाउने गर्न सकिन्छ । यसमा पनि एक दिन काठमाडौं आउने र अर्को फर्कने व्यवस्था मिलाएमा एकतर्फी गर्न सकिन्छ ।
काठमाडौंबाट नारायणगढसम्म मालवाहक गाडीलाई राति १० बजेदेखि बिहान ४ बजेसम्ममात्र चल्न दिने हो भने यात्रुु सवारी अपेक्षाकृत सजिलोसँग चल्नेछन् । सामान्यतः काठमाडौंबाट छुट्ने रात्रि बस १० बजेसम्म नारायण गढ पुग्ने र काठमाडौं आउने बसहरू पनि १० बजेसम्म आइपुग्ने नै हुन्छ । यसैले रातिको समय मालवाहकलाई सडक एकतफी चलाउन दिएमा १५० – २०० किलोमिटर सडकको यात्राका लागि १० – १२ घन्टा लाग्नेछैन ।
नागढुंगाबाट भित्रिएका सवारीलाई गन्तव्य हेरी भित्र पस्ने अरू विकल्प पनि प्रयोग गर्न लगाउनुपर्छ । कलंकी पुग्नै पर्ने नभएमा केही जाम यसै कम हुन्छ । नागढुंगाबाटै सहरभित्र पस्ने बाटो माइक्रो बसलाई प्रयोग गर्न लगाउने अनि कीर्तिपुर वा ललितपुरतिर जाने सवारीलाई थानकोटबाट मातातीर्थको बाटो हुँदै भित्र जान लगाउने हो भने नागढुंगा कलंकीको जाम केही कम पक्कै हुनेछ । मूलतः माइक्रो बस, मोटरसाइकल जस्ता साना सवारीहरूलाई साना बाटातिर पठाउन सकिन्छ ।
सरकारले पृथ्वीराजमार्गमा क्रेन तैनाथ गर्ने निर्णय गरेको समाचार आएको छ । राम्रो उपाय हो । बाटामा अलपत्र परेका गाडी हटाउन त्यसले सहयोग गर्नेछ । साथै, गाडीको भौतिक अवस्था ठीक नभए पनि बलजफ्ती गर्ने चालकलाई जरिबाना गर्ने व्यवस्था पनि गर्नुपर्छ । बढी भारी ल्याएका वा अरू कारणले बाटामा बिग्रेर अरूलाई दुःख दिने सवारी साधनका चालक र मालिकले पनि छुट पाउनु हुँदैन ।
सडकका ठेकेदारलाई त सरकारले केही गर्न सक्ने यसै भएन । त्यसैले जे छ त्यसकै व्यवस्थापन राम्ररी गरिदिए हुन्थ्यो । यस वर्ष सवारी साधन थप नभएपछि संकट त बढ्ला तर आवागमन सहज भयो भने भएकैले बढी पटक आउनजान सक्छन् ।
के सरकार यात्रुलाई प्राथमिकता दिन तयार छ ?