तलको यो तस्बिर विभत्स छ । विभत्स भएपनि यो तस्बिर यहाँ राखिएको हो । किनभने यो वास्तविक तस्बिरलाई नियाल्नु जरुरी छ हामीले ता कि अब हाम्रा सन्ततिले आफ्ना सहपाठी या आफन्तलाई यस रूपमा देख्न नपरोस् । यिनी हाम्रै छिमेकी चेली हुन् ।
बीस वर्षअघि नै हिंसाको सिकारमा भएकी यी चेलीको तस्बिरले उतिखेरै हामीलाई झक्झकाएको थियो ता कि आज हाम्रा सम्झना, सिमा, हिमु, संगीता, वसन्तीलगायत चेलीहरू उही हिंसाको सिकार नबनुन् ।
बीस वर्षअघि (१९९८मा) म 'भर्चुअल पिक्चर एडिटिङ्ग वर्कशप’मा सहभागी हुन बंगलादेशको ढाका पुगेको थिएँ । सहभागीमध्ये दक्षिण एसिया, युरोपलगायत बंगलादेशका फोटोपत्रकार थिए । एकदिन बंगलादेशी फोटोपत्रकार शाफिकुल आलमले मलाई आफ्नो घर लगे जहाँ उनको कार्यकक्ष पनि थियो । उनले मेरो हातमा एउटा किताब थमाएर चिया बनाउन लागे ।
त्यो किताब ‘वर्ल्ड प्रेस फोटो’मा विजयी तस्बिरहरूको थियो । त्यसमा ‘पिपल इन द न्युज’ शीर्षकमा प्रथम भएको बंगलादेशकै तस्बिर कथा पनि थियो । र, त्यो कथा तेजाब आक्रमणमा परेकी एक महिलाको थियो - यिनै शाफिकुलले खिचेको ।
शाफिकुलले मलाई बताएका थिएनन् कि उनी ‘वर्ड प्रेस फोटो’का विजयी फोटोपत्रकार हुन् भनेर । मैले उनलाई बधाई दिन पनि बिर्सेछु यो हृदयविदारक विभत्स तस्बिर देखेर । म एकछिन स्तब्ध भएँ । ‘के हो यस्तो ? के भएको ? किन यस्तो भएको ?’
उनले मलाई बताएका थिए - ‘बंगलादेशमा महिनामा ८ देखि १० जना महिलामाथि तेजाब (एसिड) आक्रमण हुने गरेको छ । प्रायः असफल मायाप्रेम, घरेलु विवाद र कम दाइजोका कारण । बंगलादेशमा सल्फ्युरिक या नाइट्रिक एसिड सहजै फ्याक्ट्रीमा उपलब्ध हुन्छन् ।’
भारतमा हुने एसिड आक्रमणसम्बन्धी समाचार छिटफुट पढेको थिएँ । मलाई त्यो तस्बिर समाचार र कथावस्तुले अति नै खलबल्यायो । किनभने नेपालमा यस्ता तस्बिर देखेको थिइन, सुनेको थिइन र पढेको पनि थिइन । अर्थात्, यो अपराध नेपालमा भित्रिएको मलाई चाहिँ थाहा थिएन ।
यसले किन खलल पार्यो ? यो अपराधले त मानिसलाई जिउँदो लास पो बनाउँछ त । अस्थायी शारिरिक पीडामाथि स्थायी मानसिक पीडा । समाज र परिवारमा पनि जीवनभरको पीडा । यो त जघन्य अपराध पो हो त - निको भएपछि पनि स्थायी कुरुपता ।
तेजाब आक्रमण बेलायत र अमेरिकामा पनि नहुने हैन । संसारभर प्रायः महिलामाथि नै हुने यो अपराधको प्रायः कारण चाहीं मायाप्रेममा असफल हुनेहरूमा आउने प्रतिशोधको मानसिकता । अनि धेरैको लक्ष्य महिलाको सौन्दर्य स्थायी रूपमै बिगारिदिने । नभए तेजाबको आक्रमण अनुहार लक्षित हुँदैन थियो ।
हाम्रो दैनिकीको प्रायः समय जानी नजानी आफ्नो रूपको स्याहार सुसारमा बित्छ । हामी सौन्दर्यपक्षमा हुने समय र पैसाको खर्चमा कञ्जुस्याइ गर्दैनौँ । आर्थिक वर्ष ०७२-०७३ मा मात्रै नेपालमा ७ अर्ब ७६ करोडको सौन्दर्य सामाग्री आयात भयो । यो आँकडा, र अकस्मात हुने कुरुपताबीचको खाडल मापन हुनै सक्तैन । अर्थात्र, तेजाब आक्रमणबाट हुने तनाव पीडितले जति अरूले मापन गर्न सक्तैनौ । त्यसमाथि समाजले हेर्ने दृष्टिकोण । त्यसमा पनि आफूप्रति चिन्तित पारिवारको चिन्ता । यतिमात्र सोच्न सकिन्छ पीडितलाई यसले जीवनभर चितामा बसे सरह तुल्याउँछ ।
चार वर्षअघि, २०७१ माघ ८ गते ललितपुरस्थित मंगलबजारमा हिँड्दै गरेकी एक युवतीमाथि अनुप रानामगरले एक्कासि एसिड प्रहार गरेका थिए । मगरले उनको प्रेम अस्वीकार गरेपछि ती युवतीमाथि एसिड प्रहार गरेका थिए । यस अपराधको मुद्दाको फैसलामा ‘पीडकलाई कारबाही गर्न पर्याप्त कानुन नभएको’ भन्दै जिल्ला अदालत ललितपुरले तत्काल कानुन बनाउन आदेश दिएको थियो । यसको अर्थ हुन्छ यसअघि नेपालमा कानुनको नजरमा यो अपराध बनिसकेको थिएन ।
विसं २०७१ कै फागुन १० गते काठमाडौं बसन्तपुरमा तीन छात्रामाथि एसिड आक्रमण भएको थियो । प्रेममा असफलता र आमाबुबामाथि भएको अपमानको बदला लिने उद्देश्यले आक्रमण गर्ने जीवन बिकलाई प्रहरीले एक महिनापछि सार्वजनिक गरेको थियो । सो घटनामा सीमा बस्नेत र हिमु मुखर्जी सामान्य घाइते भएपनि संगीता पुलामीमगर गम्भीर घाइते भइन् । अपराधीले ‘सुन्दरता नष्ट गर्न एसिड हान्नुपर्छ’ भन्ने कुरा भारतीय च्यानलमा आउने सिरियलबाट सिकेको प्रहरीलाई बताएका थिए । रडले हान्ने वा कुट्ने योजना त्यागेर उनले न्युरोडको एक ब्याट्री पसलबाट १ सय २५ रुपैयाँमा एसिड किनेको बयान दिएका थिए ।
चन्द्रनिगाहपुरकी सम्झना दासको तेजाब आक्रमणमा परेको १० दिनपछि गत सोमबार मृत्यु भयो ।
सँगै आक्रमणमा परेकी उनकी बहिनी सुस्मिता अझै उपचारत छिन् । विसं २०७१ फागुनमा संगीतामाथि भएको तेजाब आक्रमण घटनापछि अहिलेको सम्झना घटनाले व्यापक हलचल मच्चायो । सञ्चारमाध्यमले निरन्तर समाचार दिइरह्यो । यो जघन्य अपराधले जरो नगाडोस् भनी सम्बन्धितको ध्यान खिंचिने आशामा मैले पनि कार्टुन बनाएको थिएँ चार वर्षअघि सेतोपाटीमा । (जुन माथि प्रकाशित छ)
तेजाव आक्रमणले पीडितलाई स्थायी रुपमा कुरुप बनाउँछ, समाजबाट अलग्याउँछ र मानसिक खतको जलन स्थायी रहन्छ । तर, राजनैतिक संक्रमणकालीन खिंचातानीको वातावरणमा रहेको सरकार र संसद्बाट उक्त तेजाब काण्ड उपेक्षामा पर्यो ।
सञ्चारमाध्यममा घटना बारे दिनहुँ समाचार आउन थालेपछि तत्कालीन गृहमन्त्री वामदेव गौतमले अपराधीलाई कडा सजाय दिने वचन त दिए तर कमैलाई थाहा छ, राज्यसँग उचित र पर्याप्त कानुनको अभावमा प्रधानमन्त्रीको पनि केही चल्दैन ।
विसं २०७१ मै अदालतले तेजाब आक्रमण अपराधीलाई दण्डित गर्न छुट्टै अनि छिट्टै कानुन बनाउने आदेश दिएपनि आजसम्म अभावै सरह छ । किनभने आज पनि नेपालको अपराध ऐनले तेजाब आक्रमण गरी कुरूप पारेमा जम्मा पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाखसम्मको जरिवाना तोकेको छ । यो सजायले न पीडितलाई न्याय दिएको छ, न त अपराध रोक्न ढालकै काम गरेको छ ।
तेजाब आक्रमण गोली हाने सरहकै जघन्य अपराध पो हो त । बंगलादेश र पाकिस्तानको कानुनले बरु आजीवन कारावासको सजाय तोकेको छ । भारतमा पनि कम्तीमा १० वर्षदेखि आजीवन कारावास र जरिवाना हुने कानुन छ ।
नेपालमा पनि अहिलेको तेजाब आक्रमणका घटना र दण्ड हेर्ने हो भने छिट्टै नै बीस वर्षअघिको बंगलादेशसँग तुलना हुन्छ । नेपालमा भएको तेजाब आक्रमणको तस्बिर सायद सम्झना दासको पहिलो पटक सार्वजनिक भएको हो । नेपालमा पर्याप्त कानुन र कडा सजाय प्रचलनमा नआउँदा सम्झनाको मृत्यु भएको भोलिपल्टै, अस्ति मंगलबार नवलपुरमा नयाँ घटना सार्वजनिक भयो - कावासोती १६ की वसन्ती परियारलाई छिमेकी विमल बिकले तेजाब खन्याएर गम्भीर घाइते तुल्याएका छन् । कडा कानुन र सजायको प्रचलन हुँदो हो त अपराधीले योजना बुन्दा नै एकपटक आफूले भोग्ने सजाय पनि सोच्दा हुन् ।
अदालद्वारा हत्यारा ठहर भए पनि, राजनीति इच्छ्या बक्स भए आममाफी पाइने, दण्डहीनता मौलाएको मुलुक हो हाम्रो । जहाँ राजनीतिक बागडोरको जग नै गैरन्यायिक हिंसामा आधारित छ, त्यहाँ तेजाब आक्रमण बलात्कार जघन्य हैन नगन्य अपराध हुन्छ, पाकेट मारे सरह । हिजोआज नेताले बलात्कार हुनुमा ‘महिलाकै चालचलन र पहिरन’माथि दोष थोपर्ने खालको अभिव्यक्ति आए पनि विद्यालयमा भने शिक्षकले विद्यार्थीलाई यी नेताले झैँ गैरजिम्मेबार शिक्षा नदेउन् । हामीले यस्तो गैरन्यायिक चरण पार गरिसक्यौं भन्ने सन्देश दिर्इ हाम्रो समाज र संततिलाई ढुक्क पार्न पनि जरुरी छ ता कि तिनले त्रासमय दिन काट्न नपरोस् ।
त्यसैकारण पनि आजै हाम्री छिमेकी पीडित महिलाको यो तस्बिर हेरौँ, अनि भोलि जन्मिने हाम्री चेलीलार्इ सम्झी अपराध निर्मूलीकरणको लागि दह्रो र दिगो कानुन बनाऔं । समाजलाई आतंकित पार्ने कुनैपनि क्रियाकलाप आतंककारी अपराध हो । तेजाब आक्रमण र बलात्कारलाई यही दृष्टिकोणबाट हेर्न जरुरी छ राज्यले । तेजाब प्रहार वा बलात्कारलार्इ पाकेटमार सरह ठान्नु हुँदैन ।