site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलात्कारका घटनामा ने क पाका नेतृहरू भन्छन्– सरकारमाथि प्रहारमात्रै भयो

काठमाडौँ । गएको भदौ २८ गते नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहालले समाजमा दिनहुँ महिला हिंसा, भ्रष्टाचार, कालोबजारीका घटना बढिरहेको भन्दै कतै त्यो सरकारविरुद्धको षड्यन्त्र त होइन भन्ने आशंका प्रकट गरे । ने क पाका केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपानेद्वारा लिखित पुस्तक विमोचनमा उनले अहिले समाजमा बढिराखेको यौनजन्य अपराधको शृंखलालाई सरकार र पार्टीविरुद्धको षड्यन्त्रजस्तो देखिएको बताएका थिए । 

कार्यक्रममा उनले भने, “अहिले दुई तिहाईको बहुमतको सरकार छ । कम्युनिस्ट पार्टीले त्यसको नेतृत्व गरिराखेको छ । हामी समृद्ध समाज निर्माणको यात्रामा अघि बढिराखेका छौँ । हामीले लगातार सुशासनको कुरा गरेका छौँ । भ्रष्टाचारमुक्त समाजको कुरा गरेका छौँ । तीव्र गतिमा देशको आर्थिक विकास गर्ने कुरा गरेका छौँ । समाजवादको आधार निर्माण गर्ने कुरा गरेका छौँ । तर, अर्कोतिर हामी के देख्छौँ भने दिनदिनै समाजमा विसंगति र विकृतिका घटनाहरू अझ बढेका हुन् कि भन्ने परेको छ । चाहे महिला हिंसाका घटनाहरू हेरौँ, भ्रष्टाचारका कुराहरू हेरौँ, या कालोबजारीसँग सम्बन्धित कुरा हेरौँ, तिनीहरूचाहिँ नियोजित रूपले अगाडि आउन खोजेका हुन् कि, यो सरकारका विरुद्ध, यो पार्टीका विरुद्ध षड्यन्त्रका रूपमा आउन खोजेका हुन् कि जस्तो देखिन्छ ।”

त्यसो त केही समय पहिले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पनि बलात्कार, यौनजन्य हिंसा, महिला हिंसामा दिनप्रतिदिन बढोत्तरी आउनु सरकारविरुद्धकै षड्यन्त्र भएको धारण व्यक्त गरेका थिए ।

अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले दिनानुदिन बढ्दै गएको बलात्कारको घटना सरकारलाई असफल बनाउने नियोजित षड्यन्त्र भएको टिप्पणी गरेका थिए ।

त्यस्तै साउन १७ गते प्रतिनिधिसभा बैठकमा ने क पाकी नेतृ एवम् सांसद शशी श्रेष्ठले कम्युनिस्ट सरकारलाई बदनाम गराउन बलात्कारका घटना बढेको हुन सक्ने धारणा राखिन् । उनलाई धेरैले आलोचनासमेत गरे ।

ने क पा अन्य नेतृ पनि भन्छन्– सरकारलाई बदनाम गराउन संगठित गिरोह त सक्रिय छैन ?
ने क पाकी नेतृ कल्याणी श्रेष्ठले सरकारलाई बदनाम गराउन संगठित गिरोह सक्रिय भएको हुन सक्ने सम्भावना औँल्याउँछिन् । बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै श्रेष्ठले भनिन्, “पहिले–पहिले आठ–नौ महिने शिशु अपहरणमा पर्थे, अहिले त बलात्कार भयो भनेर मिडियामा आइरहेको छ । कतै सरकारलाई बदनाम गराउन संगठित गिरोह त सक्रिय छैन ।”
यसलाई नकार्न सक्दिनन्, ने क पाकी अर्की नेतृ भगवती चौधरी । ने क पा केन्द्रीय सदस्यसमेत रहेकी सुनसरीकी चौधरी एकपछि अर्को गरी बलात्कारका घटनामा बढोत्तरी आउनुलाई  सरकारविरुद्धको षड्यन्त्र होइन भनेर पन्छन नमिल्ने तर्क गर्छिन् ।

सामाजिक सुरक्षामा सरकार कमजोर
ने क पाकी अर्की नेतृ जयन्ती राई सरकार सामाजिक सुरक्षामा कमजोर भएको बताउँदै कम्युनिस्ट पार्टीको सरकार छ भनेर गर्व गर्ने परिस्थिति नरहेको बताउँछिन् । “हाम्रै पार्टीको नेतृत्वमा सरकार छ, महिला नै हिंसाको चपेटामा परिराखेका छन् । शिशुदेखि वृद्धासम्म बलात्कृत भएका छन् । तर, सरकार गम्भीर देखिएको छैन,” उनको तर्क छ ।

चौधरी पनि यो तर्कमा सहमत छिन् । अपराधीको पहिचान गरी कानुनी दायरामा ल्याउने जिम्मा पाएको सुरक्षाकर्मी नै पीडकसँग मिलेको, किटानी जाहेरी दिँदासम्म पक्रन आलटाल गरेको, अतिरिक्त प्रमाण जुटाउन पीडितलाई अह्राएको घटनाले सरकार सामाजिक सुरक्षामा कमजोर देखिएको उनको तर्क थियो ।

“कतिपय घटना समाजले ढाकछोप गर्ने, अपराधी थाहा पाउँदा पनि सूचना नदिने, प्रहरीलसमेत जिम्मेवार ढंगले काम नगर्दा सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको छ,” उनले भनिन् ।

त्यस्तै पार्टी एकीकरणको प्रक्रियामा भएकाले संक्रमणकालीन परिस्थितिको लाभ पनि अपराधीले उठाएको तर्क जयन्ती राईको छ । “एकीकरण प्रक्रिया निष्कर्षमा नपुग्दा स्थानीय तहसमेतलाई सल्लाह–सुझाव दिन त्यहाँका कमिटीले पाएका छैनन्, त्यसले पनि सरकारलाई सघाउ पुग्थ्यो,” उनी भन्छिन् ।

सरकारमाथि प्रहारमात्रै भयो
ने क पाकी अर्की नेतृ कमलादेवी महतोले समाजमा शान्ति–सुव्यवस्था कायम राख्ने दायित्व नागरिक समाज, बुद्धिजीवीको पनि भएको भन्दै उनीहरूले सरकारको कमजोरीमात्रै खोतल्न लागेको बताइन् । बलात्कारका घटना सभ्य समाजको कलंक भन्दै उनले यो अपराध निमिट्यान्न पार्न सबैले सरकारलाई सघाउनुपर्नेमा जोड दिइन् । 

“कतिपय अवस्थामा पीडित–पीडक मिलापत्र गराउने, अपराधी लुकाउने, अपराधको ढाकछोप गर्ने कार्य समाजका जिम्मेवार मानिसबाटै भएको छ, यसले अपराध कर्म गर्नेलाई झनै पुरस्कार मिलिरहेको छ,” उनको भनाइ थियो ।

त्यस्तै कल्याणी खड्काले नीति, नियम कानुन कार्यान्वयन प्रणाली उहिल्यै भत्किएकाले यो सकारले बनाउन टाइम लागेको र अपराधी पहिचान हुन समय लागेको बताइन् । “सरकाले घटना न्यूनीकरणका लागि भूमिका खेलेकै छ, सबैले सरकारलाई सघाउनुपर्छ, प्रहारमात्रै गरेर हुँदैन,” उनको भनाइ थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro