काठमाडौं । १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएपछि कञ्चनपुर चर्चामा छ । दिनहुँ अधिकारकर्मीको प्रदर्शन जारी छ । गत साउन ११ गते हत्या गरिएको अवस्थामा भीमदत्त नगरपालिका–२ की निर्मला निम्बुखेडास्थित उखुबारीमा भेटिइन् । घटना भएको ४ साता बित्न लाग्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन ।
तर, कञ्चनपुर प्रहरीका डिएसपी ज्ञानबहादुर सेठी भने घटनाबारे प्रहरी जिम्मेवार ढङ्गले अनुसन्धान गरिरहेको बताउँछन् । निर्मला हत्याकाण्डबारे प्रहरीमाथि नागरिकले विभिन्न आशंका गर्दै आएका छन् । प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान नगरेर दोषीलाई जोगाउन खोजेको आरोप लाग्दै आएको छ । निर्मला हत्याकाण्डको अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) का डिएसपी अंगुर जिसी नेतृत्वको टोली पनि कञ्चनपुरमै छ । कञ्चनपुरमा निर्मला हत्याकाण्डमात्रै होइन, गत साउन महिनामै बलात्कारपछि अर्को एक हत्या पनि भएको छ ।
गत २६ असार घरबाट किताब किन्छु भन्दै हिँडेकी १७ वर्षिया कविता विष्टको बलात्कारपछि हत्या भयो । कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी कविताको बलात्कारपछि हत्याराले प्रमाण नष्ट गर्नका लागि लालझाडी जंगलमा उनको शव गाडे । कविताको हत्या भएको १६ दिनपछि अर्थात् साउन ११ गते निर्मला पन्तको पनि बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला पर्यो ।
कविता हत्या प्रकरणमा प्रहरीले मदन गिरी र भरत बोहरालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले कविता हत्याकाण्डमा गिरी र बोहराविरुद्ध कर्तव्य ज्यान र बलात्कारमा मुद्दा चलाएको छ ।
तर, निर्मलाको हत्या रहस्यमय बन्दै गएको छ । साइकल चढेर आफ्नो घरबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको साथी रोश्नी बमको घरमा गृहकार्य र विज्ञान विषयको पुस्तिका ल्याउन गएकी निर्मला घर फर्किइनन् ।
निर्मला हत्यापछि स्थानीय आन्दोलित छन् । तर दोषीको पहिचान अझै हुन सकेको छैन । मृतकका आफन्तदेखि सबैले प्रहरीले घटनाका दोषीलाई बचाउन खोजेको आरोप लगाउँदै आएका छन् । अधिकारकर्मी हेलन श्रेष्ठ प्रहरी प्रशासनले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँछिन् । निर्मलाको हत्या भएको ४ साता बिते पनि प्रहरीले अपराधीको पहिचान गर्न नसक्नु दुखद् भएको महिला अधिकारकर्मी शारदा चन्दको पनि भनाइ छ ।
नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मी पछिल्लो समयमा कञ्चनपुरका बलात्कारका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्छन् । रेग्मी भन्छन्, ‘‘महिलामाथि हुने हिंसा रोक्न राज्य जिम्मेवार हुन जरुरी छ, निर्मला हत्याकाण्डको सत्यतथ्य तत्काल बाहिर आउनुपर्छ ।’’
कविता र निर्मलाबाहेक पछिल्लो एक महिनाको अवधिमा कञ्चनपुरमा अन्य ५ बलात्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सेठीका अनुसार १ साउनमा पुनर्वास नगरपालिकाकी ३९ वर्षिया महिलामाथि ३० वर्षिय युवक नरेश रानाले बलात्कार गरे । राना पक्राउ परेका छन् । पुनर्वासको घटना सेलाउन नपाउँदै फेरि ४ साउनमा एक ९ वर्षिया बालिका बलात्कृत भइन् । पुनर्वास नगरपालिका–३ का २१ वर्षिया युवक सलिम अन्सारीले बालिकालाई घरमा कोही नभएको बेलामा बलात्कार गरेको प्रहरीको भनाइ छ ।
अन्सारी र रानाविरुद्ध कञ्चनपुर प्रहरीले जबरजस्ती करणीविरुद्ध मुद्दा चलाएको छ । यस्तै १० साउनमा शुक्लाफाँटा नगरपालिका–८ नौखुरीकी २० वर्षिया महिलाको ३२ वर्षिया विन्तिराम चौधरीले बलात्कार गरे । चौधरीले घरमै सुतिरहेकै अवस्थामा बलात्कार गरी भागेको प्रहरीको भनाय छ । प्रहरीमा महिलाले दिएको उजुरीको आधारमा चौधरी पक्राउ परेका छन् ।
१६ साउनमा फेरि पुनर्वास नगरपालिका–२ की १६ वर्षिया किशोरीलाई २६ वर्षिया विकास बुढाले बलात्कार गरे । घर पुर्याइदिन्छु भन्दै बुढाले बालिकालाई उखुबारीमा लगेर जबरजस्ती गरेका थिए । बालिकाले दिएको बयानका आधारमा बुढा पक्राउ परेका थिए ।
यस्तै, १९ साउनमा भीमदत्त नगरपालिका–१० जिमुवाकी ५ वर्षिया बालिकालाई ४० वर्षिय लक्ष्मण कोलीले बलात्कार प्रयास गरे । बालिकाकै घरमा गएका कोलीले घरमा कोही नभएको मौका छोपी नाबालिकामाथि बलात्कारको प्रयास गर्न खोज्दा बालिका चिच्याइन् । बाहिर स्थानीयले हल्ला गरेपछि युवक भारतीय जंगलतिर भागेर पुनः नेपालकै मकैबारीमा लुकेर बसेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई बुझाएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सेठीका अनुसार २४ साउनमा कञ्चनपुरको वेदकोटका एक बालक धामीबाट यौनजन्य हिसांको शिकार बने । ६६ वर्षिय पुरुषबाट पाँच वर्षिय बालक यौन शोषणमा परेका हुन् ।
कञ्चनपुरमा महिना दिनकै अवधिमा बालिका र महिलामाथि बलात्कार र जघन्य हत्याका घटनाले सिङ्गो समाजलाई आक्रान्त पारेको सरोकारवाला निकायको बुझाइ छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७४–०७५ मा बलात्कारका ३३ घटना घटेका थिए ।