एजेन्सी । एक हप्ता अघिको एक भयानक सडक दुर्घटनाले पछिल्लो समय बंगलादेशको राजधानीमा अध्ययनरत् सबै विद्यार्थीहरुलाई सडकमा ल्याएको हो । सरकारी पक्षले सडकमा सर्वसाधारणको सुरक्षा सम्बन्धि कडा नियम लागू गर्नुपर्ने माग राख्दै हजारौँ विद्यार्थीहरु सडकमा उत्रिएका थिए । उनीहरुले राजधानी ढाकाका विभिन्न स्थानमा प्रदर्शन गरि थुप्रै दिनसम्म व्यस्त सडक अवरुद्ध गराइ विरोध जनाएका हुन् ।
असिमित गतिमा आइरहेको एक निजी बसले विद्यार्थीको समूहमाथि ठक्कर दिएपछि जुलाई २९ मा दुईजनाको मृत्यु भएको थियो भने ठक्करबाट अन्य थुप्रै्र विद्यार्थी घाइते भएको प्रत्यक्षदर्शीको भनाइ छ । यसै घटनापछि सुरु भएको प्रदर्शनले गम्भीर रुप लिँदै जाँदा सरकारले प्रदर्शनकारीहरुलाई बलपूर्वक हटाउने प्रयासमा पक्राउ गर्ने चेतावनी समेत दिएको थियो । यति मात्र नभएर शनिबार १०० जना पुलिसको प्रहारकै कारण घाइते समेत भएको खबर बाहिर आएको हो । तरपनि हजारौँका सङ्ख्यामा सहभागी भएका विद्यार्थीहरुले स्कुल युनिफर्ममै विरोध र्याली निकालेका हुन् । उनीहरुले आपत्कालिन् सवारी बाहेक अन्य कसैलाई पनि अघि बढ्न नदिएर सडक अवरुद्ध गराएका थिए ।
घटनाले ठूलो रुप लिन थालेपछि यसबारे विश्वभर चर्चा सुरु भएको हो र अन्तराष्ट्रिय समुदायले पनि विद्यार्थीहरुको माग जायज भएको भन्दै यस कदमको खुलेर प्रशंसा गरिरहेका छन् । तर उता बांग्लादेशको सरकारले भने शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएर चारैतिरबाट आलोचित हुनु परिरहेको संचार माध्यम सिएनएनले जनाएको छ । संयुक्त राष्ट्र संघले समेत यस घटनामा विद्यार्थीहरुसँग सहमति जनाउँदै उनीहरुको माग उचित भएको ठहर गरि सरकारलाई यसको उपयुक्त समाधान खोज्न आग्रह गरेको हो । बांग्लादेशमा हरेक वर्ष सडक दुर्घटनामा मात्र १२ हजार भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ ।
तर विद्यार्थीहरुको यस्तो कदमपछि भने अहिले सरकारी अधिकारीहरुले समेत सवारी लाइसेन्स बोकेर मात्र हिँड्ने गरेको पाइएको छ । विद्यार्थीहरुको यस्तो अभियानले पहिलोपटक ढाकाको सडक व्यवस्थित देखिएको र प्रभावकारी ढङ्गले सवारी चलाइएको सर्वसाधारणको प्रतिक्रिया छ ।
तर सरकारले भने अन्तर्राष्ट्रिय समर्थनलाई बन्द गराउन इन्टरनेट सेवा समेत केही समय बन्द गराएको थियो । त्यस्तै पुलिसले अन्तर्राष्ट्रिय संचार माध्यम अलजजिरालाई यस विषयमा अन्तर्वार्ता दिने व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।
यसबारेमा प्रधानमन्त्री शेख हसिनाले भने चुनाव अघि आफ्ना विपक्षीहरुले प्रदर्शनमार्फत हिंसा मच्चाउन खोजेको आरोप लगाउँदै मुद्दाबाट टाढा रहँदै छन् । तरपनि सोमबार बांग्लादेशको क्याबिनेटले नयाँ सडक सुरक्षा नीति लागू गर्नेमा विद्यार्थीहरुसँग सहमति जनाइ विरोध कार्यक्रम अन्त्य गराएको हो ।