काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेको छ । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा नियमविपरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई जिम्मेवारीबाट हटाइएको महानगरले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न मेयरको नेतृत्वमा टोली बनाइने भएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी पनि भएको मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाहले बताए ।
महानगरका अनुसार, अन्डरग्राउन्ड दुई तलासहित १२ तलाको नक्सा पास भइसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नियमविपरीत १९ तलाको नक्सा पास गर्न अनुमति दिएको पाइएको छ ।
उनले नक्सा पास गर्ने महानगरको आधिकारिक प्रणाली ईबीपीएस छलेर कागजी नक्सा पास गर्ने प्रक्रिया अगाडि बढाएको महानगरको दाबी छ ।