काठमाडौं । वीरेन्द्र प्रधान थाइल्यान्डको एक इन्जिनियरिङ कम्पनीमा काम गर्छन् । उनले त्यहाँ काम सुरु गरेको २० वर्ष भयो । उनीसँग अन्डरग्राउन्ड रेलमार्ग निर्माणदेखि अत्याधुनिक प्रविधिजडित रेल्वे निर्माणको अनुभव छ । उनी आँफूसँग भएको अनुभवको पोको बोकेर बर्सेनी नेपाल आउँछन् । आफूले जानेको ज्ञान बाँड्छन् र फेरि कर्मभूमी थाइल्यान्ड नै फर्किन्छन् ।
नेपाल रहँदा हरेक वर्ष उनी नेपालमा इन्जिनियरहरुसँग विना पारिश्रमिक आफ्नो अनुभव साट्छन् । आइतबार उनी रेल विभाग विशालनगरमा भेटिए । विभागका इन्जिनियर प्रकाश उपाध्यायले उनी नेपाल आएको थाहा पाएपछि छलफल राखेका थिए । पत्रकारकोसमेत उपस्थिति रहेको छलफलमा प्रधानले भिजुअलसहितको लामो प्रस्तुती दिएका थिए ।
प्रत्येक भिजुअल र चित्रको ब्याख्या गर्दै थिए । ११ बजे सुरु भएको कार्यक्रम साढे १२ बजेपछि रेल विभागका महानिर्देशक अनन्त आचार्य नै छटपटाउन थाले । अर्को पक्षसँग १२ बजेका लागि नै समय दिएकोभन्दै वीरेन्द्र प्रधानलाई धन्यवाद दिन थाले ।
प्रधानसँग विश्वका विकसित देशले भर्खरै अपनाउन थालेको प्रविधिबारे थुप्र्रै जानकारी रहेको र त्यो जानकारी दिनु भएकोमा धन्यवाद भने । आफूहरुलाई थाहा नभएको प्रविधिबारे निःशूल्क जानकारी दिएको र थप जानकारीका लागि अर्को कुनै दिन भेट्ने भन्दै उनी हलबाट निष्किए । प्रधानको प्रिजेन्टेसन बीचैमा अलपत्र पर्यो ।
विषय नयाँ छ जसबारे रेल विभागलाई कमै जानकारी छ । यसलाई महाप्रवन्धकको भनाइले नै पुष्टि गर्दै थियो, उनी भन्दै थिए, “तपाईँ (पत्रकार) हरु छलफल गर्नुहुन्छ गर्नुस् हामीलाई भने ढिलो भैसक्यो हामी जान्छौं बरु अर्को कुनै दिन बसौंला तपाईं (वीरेन्द्र प्रधान) को बसाई कहाँ छ ?”
वीरेन्द्रले भने, “बसुन्धरा”
महाप्रवन्धक, “ए नजिकै रछ ।”
जयनगर–जनकपुर रेलमार्ग अन्तिम अन्तिम चरणमा छ । पूर्वपश्चिम रेलमार्ग बनाउनु छ, उसलाई जसका लागि यी नयाँ प्रविधि उपलब्धीमुलक हुनसक्छन् । वीरेन्द्र भन्दै थिए,–एक देखि ३ प्रतिशत बजेट थप गर्ला अहिले चाइना, थाइल्यान्डले अपनाएको जियो टेक्निकल इन्स्ट्रुमेन्टेसन, रेल्वे ट्रयाक मनिटरिङ सिस्टम, टनेल मनिटरिङ सिस्टम, टनेल सेस्मिक प्रेडिक्सन लगायतका प्रविधि अपनाउन सकिन्छ । उनका अनुसार यी प्रविधिले रेल मार्गको टनेल लिक भएको देखि लिक क्र्याक भएको डाटा केन्द्रमा रहेको सर्बरमा पठाउँछ । जसले दुर्घटनाबाट त रोक्छ नै यस्तो रेलमार्ग निर्माण गर्नसके दिगोसमेत हुन्छ ।
रेलमार्ग निर्माण आँफैमा महंगो छ, त्यसैले यो सडक जस्तो बसेर्नी भत्काउँदै निर्माण गर्न सकिँदैन । त्यसैले दीर्घकालीन सोचका साथ रेलमार्ग निर्माण गर्नुपर्छ ।
“म हरेक वर्ष नेपाल आउँला मैले जानेको सिप बाँड्ने प्रयास गर्छु । मैले मेरो सिप बेच्नलाई अनुभव सेयर गर्दै हिँडेको होइन,” प्रधान भन्छन्, “सुरुमै सबै टेक्नोलोजी प्रयोग गरेर रलेमार्ग बनाउन सकियो भने त्यो दीर्घकालीन हुन्छ ।”
थाइल्यान्डको लियो जोभियान थाई इन्जिनियरिङका प्रबन्ध निर्देशक रहेका प्रधानजस्तै थाइल्यान्डमा दुई दर्जनभन्दा धेरै इन्जिनियहरु रेलमार्ग तथा टनेलमा आफ्नो ज्ञान बाँडिरहेका छन् । दुवै र कतारमा पनि थुप्रै नेपाली इन्जिनियहरु कार्यरत छन् । तर, नेपाल भने सानो सानो प्रोजेक्टका लागि इन्जिनियर आउट सोर्सिङ गरिरहेको छ । उनी भन्छन्, “मैले सुरुमा पनि नेपालमै काम गरेको हुँ । अहिले पनि बोलाउने हो भने म आउँछु तर बोलाएर मात्रै हुँदैन काम पनि दिन सक्नुपर्छ ।”
बहुप्रतिक्षित खानेपानी आयोजना ‘मेलम्ची खाने पानी आयोजना’ निर्माण अहिले अन्तिम चरणमा छ । काठमाडौंका सडकमा जथाभावी खानेपानीका पाइप बिच्छाइएको छ । ती पाइप लिकेज नहुने त कुरै भएन टनेलमा टनेल मनिटरिङ सिस्टम, टनेल सेस्मिक प्रेडिक्सन लगायतका प्रविधि जडान गरिएको छ कि छैन ? उनी प्रश्न गर्छन् । कहाँ टनेल लिक भयो केन्द्रमा रहेको कम्प्युटरमा बसेर टनेलको भौतिक तथा प्राविधिक पक्ष हेर्न सकिने प्रविधि जडान गर्नुपर्ने उनी बताउँछन् ।
काठमाडौंमा मोनो रेल, मेट्रो रेल, अन्डरपास, नागढुङ्गा बनेपा रेल मार्ग बनाउन सकिने तर त्यसका लागि दरो इच्छाशक्ति र आर्थिक स्रोत चाहिने प्रधान बताउँछन् । सहरी सुन्दरताका लागि अन्डरपास रेलमार्ग काठमाडौं उपत्यकाका लागि उपयुक्त हुने बताउने उनी उच्चतम प्रविधि प्रयोग गर्न सके काठमाडौंका जमीन मुनी रेल मार्ग बनाउन सकिने दाबी गर्छन् । तर यसका लागि बजेट भने केही महङगो पर्ने इन्जिनियर प्रधान सुनाउँछन् । आर्थिक, प्राविधिक र इच्छा शक्ति भए नेपालमा रेल कुदाउन कुनै समस्या नरहेको उनी बताउँछन् ।