एजेन्सी । जारी विश्वकप फुटबल अन्तर्गत आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् । नकआउट चरणको पहिलो खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको कजान एरिनामा खेल नेपाली समय अनुसार सांझ ७ः४५ मिनेटमा हुनेछ ।
समूह चरणका खेलमासमूह सि बाट समूह विजेता बन्दै फ्रान्स र समूह डि को उपविजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा भेट भएका हुन् । ठूला टिमहरुको नकआउट चरणमा हुन लागेको यो भेटले विश्वकपलाई अझै रोचक बनाएको छ । फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भैरहँदा यो रंगशालामा बसेर ४५ हजार दर्शकले खेल प्रत्यक्ष हेर्नेछन् ।
फ्रान्स र अर्जेन्टिनाबीच जो पराजित भयो त्यो विश्वकपबाट बाहिरिने छ । फ्रान्सका खेलाडीले यसअघि नै भनिसकेका छन्–“मेस्सी बार्सिलोनाका मेस्सी जस्तो बलियो छैनन् । मेस्सीलाई उनको टिमका साथिले बार्सीलोनामा पाउने सहयोग नहुने भनेका छन् ।” मेसीका बारे यस्तो अभिब्यक्ति दिनु भनेको उनको खेल कौशलको भय हुनु हो । यसले फ्रान्सका खेलाडीमा मेस्सीको भय प्रष्ट देखिन्छ । मेस्सी जस्तो सुकै समयमा पनि आफ्नो टिमका लागि उत्कृष्ट गोल गर्दै जित दिलाउने हैसियत राख्ने फुटबलर हुन् ।
त्यसो त मेस्सी आफैपनि मैदानमा निकै मेहेनती खेलाडी हुन् । फ्रान्सका लागि पाउल पोग्वा, एन्टोइनी ग्रिज्मयान र किलियन बाप्पे अर्जेन्टिना विरुद्धको खेलमा पहिलो रोजाइका खेलाडी हुन् । त्यसैगरी, अर्जेन्टिनाका लागि लियोनल मेस्सी, एन्जल दि मारिया, सर्जियो अग्युरो, जाभिएर मासिरानो फ्रान्स विरुद्धको खेलमा पहिलो रोजाइका खेलाडी हुन् ।
हेड टु हेड
अहिलेसम्म अर्जेन्टिना र फ्रान्सको भेट ११ पटक भएको छ । अहिलेसम्म भएका ११ खेलमध्ये ६ खेल अर्जेन्टिनाले जितेको छ भने फ्रान्सले २ खेल जितेको छ । त्यस्तै, ३ खेल अर्जेन्टिना र फ्रान्सले बराबरी खेलेका छन् । यि दुई टिम सन् २००९ पछि पहिलो पटक विश्वकपमा आमनेसामने हुँदैछन् ।
फ्रान्सको भय मेस्सी
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रसिया विश्वकपमा सुरु देखि नै चर्चामा रहे । उनले विश्वकपमा पहिलो खेलमा डेब्यु टिम आइसल्यान्ड विरुद्ध अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सी चुकेपछि उनको सर्वत्र आलोचना भएको थियो । आयसल्यान्डसँगको खेल बराबरीमा रोकिएको थियो । मेस्सीको सुरुका दुई खेलमा कमजोर प्रदर्शनपछि समूह चरणको अन्तिम खेलमा उनले टिममा चामत्कारिक सुधार गरेका थिए ।
समूह चरणको दोस्रो खेलमा क्र्रोसियासँग ३—० गोलले पराजित भएपछि अर्जेन्टिनाका लागि नकआउट चरण प्रवेशका लागि निकैै कठिन भएको थियो । मेस्सीले आफ्नो टिमलाई अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण प्रवेश गराए ।
अर्जेन्टिनाले फ्रान्ससँगको खेलमा मेस्सीसँगै, एन्जल दि मारिया, सर्जियो अग्युरो, जाभिएर मासिरानोले साथ दिनेछन् ।
समूह चरणको पहिलो आइसल्यान्ड विरुद्धको खेलमा सर्जियो अग्युरोले गोल गरेका थिए । दोस्रो खेलमा क्रोएसियासँग अर्जेन्टिनाले अप्रत्यासित हार व्यहोनुपर्यो ।
तर, समूह चरणको अन्तिम खेल गर या मरको अवस्थामा पनि मेस्सीको नेतृत्व अब्बल देखियो । अन्तिम खेलमा नाइजेरियालाई २—० गोल अन्तरले पराजित गर्दै प्रि—क्वाटरफाइनल पुग्यो ।
अर्जेन्टिनाको चुनौती ग्रिज्मयान, पोग्वा र बाम्पे
फ्रान्सका लागि पहिलो रोजाइका खेलाडी हुन् एन्टोइनी ग्रिज्मयान, पाउल पोग्वा र किलियन बाम्पेरहेका छन् । यि खेलाडीले अर्जेन्टिना विरुद्धको खेलमा मुख्य भूमिका निभाउने छन् । मेस्सीलाई रोक्दै फ्रान्सको जित निकाल्ने रणनीतिलाई यि खेलाडी पूरा गर्ने प्रयासमा मैदान छिर्नेछन् ।
समूह चरणको पहिलो खेलमा एन्टोइनी ग्रिज्मयानले पहिलो गोल गर्दै अष्टे«लियामाथि अग्रता कायम गरेका थिए । जुन खेलमा फ्रान्सले अष्ट्रेलियालाई २—१ गोलले पराजित गरेको थियो । समूह चरणको दोस्रो खेलमा पनि ग्रिज्म्यानले उत्कृष्ट प्रदर्शन गरेपनि गोल भने भएन । तर, दोस्रो खेलमा फ्रान्सका किलियन बाम्पेले उत्कृष्ट गोल गर्दै पेरु विरुद्ध जित निकालेको थियो ।
समूह चरणको अन्तिम खेलमा फ्रान्सले डेनमार्क विरुद्ध बराबरी खेलेको थियो । समूह चरणका खेलमा सन्तुलित खेलेको फ्रान्स अर्जेन्टिना विरुद्ध आक्रामक देखिने छ । समूह चरणका खेल हुँदैगर्दा यि दुई टिमलाई विश्वकप ट्रफीका दाबेदारका रुपमा हेरिएका थिए । तर, यि दुई टिम मध्ये एक नकआउट चरणबाटै बाहिरिने छन् ।