site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
त्रिभुवन आर्मी झापा कपबाट बाहिरियो, सिरहाको सहलेस क्लब विजयी

विराटनगर । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ ।

सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो ।

Dabur Nepal
NIC Asia

सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरे । आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलकिपर कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए ।

खेलको ३७औँ मिनेटमा सलहेशका जोराह ग्लोरीले डिबक्सबाट गरेको शक्तिशाली प्रहार दायाँ पोलमा लागेर बाहिरिएपछि खेलमा थप गोल गर्ने अवसरबाट बञ्चित भएको थियो ।

आर्मीले खेलमा बल पोजिसन राखे पनि स्कोर भने निकाल्न सकेन । खेलको २०औँ मिनेटमा आर्मीका निरज भुजेलले विपक्षी डिबक्समा पाएको बल सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार सलहेशका गोलकिपर दिप कार्कीले सहजै नियन्त्रणमा लिए । ५५औँ मिनेटममा आयुष तिमिल्सिनाले गरेको हेडर विफल हुँदा आर्मीका समर्थक निराश भएका थिए ।

खेल अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए । खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद पाँच लाख पुरस्कार पाउने आयोजक झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद एक लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टीभी प्रदान गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro