एजेन्सी । भारतको आर्थिक नगरी मुम्बईमा निजी विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जुहु विमानस्थलबाट मुम्बई परीक्षण उडान भरेको निजी विमान बिहीबार अपरान्ह घाटकोप्पर क्षेत्रमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
विमानमा रहेका दुई जना एयरक्राप्mट इन्जिनियर र चालक दलका दुई जना सदस्यसहित घटनास्थलमा रहेका अर्का एक जनाको दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ । मुम्बईको घाटकोप्पर क्षेत्रमा रहेको निर्माणाधिन घरमा ठोक्किदा उक्त विमान दुर्घटनामा परेको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का सह–महानिर्देशक ललित गुप्ताले पुष्टि गरेका छन् ।
दुर्घटनामा परेको किंङ्ग एयर सि–९० (भिटी–युपिजेड) यु. वाई. एभिएशन प्रालिको भएको बताइएको छ । नागरिक उडड्यन मन्त्री सुरेश प्रभुले नागरिक उड्डयन महानिर्देशनालयलाई बिमान दुर्घटनाको अनुसन्धानका लागि निर्देशन दिइसकेको बताएका छन् ।
“विमानले परीक्षण उडानका लागि जुहु हवाईअड्डाबाट उडान भरेको थियो । एक डीजीसीएको टिमले घटनाको प्रारम्भीक जाँच शुरु गरिसकेको छ । विमान दुर्घटना जाँच बोर्डले विस्तृत अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्ने छ ,’ गुप्ताले भने ।