काठमाडौं । डडेलधुराका १८ वर्षीय निरज बस्नेतलाई पेट दुखेपछि दाइले वीर अस्पतालको इमर्जेन्सीमा पुर्याए । तर, अस्पताल प्रशासनले उनलाई बेड नभएको भन्दै भर्ना लिन मानेन । निरजका दाइ भन्छन्, “वीरले भर्ना नलिएपछि छिमेकीसँग ऋण गरेर निजी अस्पतालमा लगें ।”
कलंकीका ४० वर्षीय हरिकुमार श्रेष्ठ दुई साताअघि ज्वरोले सिकिस्त भए । ज्वरो नघटेपछि उनलाई छोरा राकेशले वीर अस्पताल पुर्याए । बेलुका ८ बजेतिर अस्पताल पुगेका श्रेष्ठलाई इमर्जेन्सीका कर्मचारीले बेड खाली नभएको भनेर फर्काइदिए । “निजी अस्पतालमा उपचार गर्न पैसा छैन भन्दा पनि अस्पतालका कर्मचारीले बेड छैन भन्दै भर्ना लिएन मानेनन्,” राकेशले गुनासो गरे ।
हुम्लाकी ५१ वर्षीया चोलिमाया पाख्रिन एक्कासि बेहोस भइन् । न्यून आर्थिक अवस्था भएकी चोलिमायालाई परिवारले हतार–हतार वीर अस्पताल पुर्याए । तर, उनले पनि इमर्जेन्सीमा भर्ना पाउन सकिनन् ।
यी त केही प्रतिनिधि घटनामात्रै हुन् । वीर अस्पतालको इमर्जेन्सीमा भर्ना पाउन निकै गाह्रो छ । बेड नपाएर धेरै बिरामी चर्को शुल्क तिरेर निजी अस्पतालमा जान बाध्य छन् ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले सबैतिरका बिरामी वीरकै इमर्जेन्सीमा आउने भएकाले बेड पाउन मुस्किल भएको बताए । “दैनिक इमर्जेन्सीमा ५० देखि ७५ जना बिरामी आउने गर्छन् । बिरामीको चाप बढ्दो अवस्थामा छ,” उनले भने, “अस्पतालसँग जम्मा ३ सय ५० बेड सञ्चालनमा छन् । समयमा अप्रेसन गर्न नसक्दा बिरामी लामो समयसम्म बेडमै भर्ना हुनुपर्छ ।”
वीर अस्पतालबाट २०७४ साउन १ गतेदेखि गएको चैत १ गतेसम्ममा ३१ हजार ४ जनाले ईमर्जेन्सी सेवा लिएका छन्
बेवारिसे बिरामीका कारण बेड अभाव
अस्पतालका निर्देशक बस्नेतका अनुसार बेवारिसे बिरामी प्रहरीले अस्पताल भर्ना गराउने, तर लिन कोही नआउने हुँदा इमर्जेन्सीमै रहिरहन्छन् । यसले गर्दा अस्पतालको बेड लामो समयसम्म खाली हुँदैन । “दैनिक बेवारिसे बिरामी आउने र लामो समयसम्म अस्पतालमै बस्ने भएकाले समस्या भएको छ,” उनले भने, “सरकारी स्वास्थ्य संस्थाका आफ्नै समस्या छन् । सडकबाट उठाएर बेवारिसे बिरामी इमर्जेन्सीमा भर्ना गराएर प्रहरीले छाड्छन् । उनीहरूलाई बुझ्न कोही आउँदैनन् ।”
त्यसैगरी, काठमाडौं बाहिरका ६० प्रतिशत बिरामी उपचारका लागि यहीँ आउने र डिस्चार्ज गर्दा पनि उनीहरू विभिन्न समस्या देखाएर थप केही दिन अस्पतालमै रहने गर्छन् । यसले गर्दा पनि बेड संख्या होल्ड हुने र अभाव देखिने गरेको निर्देशक डा. बस्नेत बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार बिरामी भएर अस्पताल भर्ना भएको कम्तीमा पाँच घन्टाभन्दा बढी इमर्जेन्सीमा बस्न पाइँदैन ।
वीर अस्पताल इमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठ ओपिडीको टिकट बन्द भएपछि अस्पताल आएका बिरामीलाई पनि आकस्मिक सेवामै राखेर उपचार गरिँदै आएको बताउँछन् । ३ सय ५० बेडको वीर अस्पतालले २०७२ को भूकम्प जानुअघिसम्म कुल बेडको १० प्रतिशत इमर्जेन्सीका लागि छुट्याएको थियो । तर त्यसपछि इमर्जेन्सी विभागमा २१ वटा बेडमा मात्र सेवा दिएको अस्पतालका निर्देशक डा. बस्नेतले बताए ।
इमर्जेन्सी विभाग प्रमुख डा. श्रेष्ठले केही महिनामा अस्पतालले रेड एरिया, एल्लो एरिया र ग्रीन एरिया छुट्याएर सेवा दिने तयारी गरेको बताए । “अहिले पनि एरिया छुट्याइएको छ तर कार्यान्वयन भएको छैनन् । तर अब एरियाअनुसार नै सेवा दिने तयारीमा छौं,” उनले भने ।
रेड एरियामा गम्भिर अवस्थाका बिरामीलाई १० मिनेटभित्रमा उपचार गनुपर्ने हुन्छ । एल्लो एरियामा मध्यम प्रकारका बिरामीलाई आधा घण्टासम्ममा सेवा दिइसक्नुपर्ने हुन्छ भने ग्रिन एरियामा सामान्य बिरामीलाई १ घण्टाभित्र सेवा दिनुपर्ने हुन्छ ।