काठमाडौं । नेपालमा पछिल्लो समय थाइराइड रोगको जोखिम बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । विशेष गरेर हर्मोनको गडबडीका कारण थाइराइडको समस्या देखापर्छ ।
वरिष्ठ थाइराइड विशेषज्ञ डा. सुवर्ण थापा भन्छन्, “थाइराइडको समस्या जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ । तर पछिल्लो समय हर्मोन बढी भएका २० देखि ४० वर्ष उमेर समूहका मानिसमा देखिने गरेको छ ।” अस्पताल जाने ५ प्रतिशत बिरामीमा थाइराइड देखापर्ने गरेको थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाहले बताइन् ।
“भर्खर जन्मेको नाबालकमा पनि थाइराइडको समस्या देखापर्ने गरेको छ,” उनले भनिन्, “गर्भावस्थामा महिलामा थाइराइड देखिएमा बच्चा जन्मिएको ७२ घण्टाभित्र जन्मिएको बच्चाको थाइराइड परीक्षण गराउन जरुरी छ ।” थाइराइड भएका महिलाले समयमा नै चेकजाँच गरेर औषधी सेवन नगरेमा बालबालिका अपांग हुने हुन्छन् । विश्वमा कुल जनसंख्याको १० देखि १२ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको थाइराइड हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।
के हो थाइराइड ?
थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्रघन्टीको ठ्याक्कै तल हुन्छ । त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ । शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ ।
ग्रान्डी अस्पतालका वरिष्ठ थाइराइड विशेषज्ञ डा. थापाका अनुसार थाइराइड ग्रन्थीमा मुख्यतः दुईथरी समस्या देखिन सक्छ । ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ ।
थाइराइड ग्रन्थीले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन थाइराइड फङ्सन टेस्ट गर्नुपर्छ । त्यसमा थाइराइड स्टीमुलेटिङ हर्मोन (टीएसएच) जाँच हुन्छ । टीएसएच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ । टीएसएचले थाइराइड हर्माेन र थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्ने काम गर्छ । यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ ।
त्यसैगरी, हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्मले अटो इम्युन देखापर्छ । अटो इम्युन भनेको भित्रबाट नै ग्रन्थी फुटेर जाने अवस्था अर्थात् ग्रन्थी हर्मोन उत्पादन गर्ने काम गर्न छाड्ने हुन्छ । कुनैकुनै औषधिहरुले पनि थाइराइड हर्मोनमा गडबडी गराउने हुन्छ । कतिपय मानिसमा शल्यक्रियापछि पनि थाइराइड हर्मोनमा गडबडी हुने हुन्छ । यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोषिकामा पुर्याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ । मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो ।
महिला बढी जोखिममा
नेपालमा थाइराइडबाट महिलाहरु बढी पीडित बन्दै गएका छन् । पुरुषहरुको तुलनामा यो रोग नोपलमा ६ गुणा बढी महिलाहरुमा देखिने गरेको थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. अशु मालीले बताए । उनले भने, “अटोइम्युन समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ हर्माेन कमीको समस्या पुरुषभन्दा महिलामा नै बढी देखिन्छ । अटो इम्युनिटी भनेको शरीरको इम्युन सिस्टम गडबड भएर हुने समस्या हो ।” त्यसैले पनि यो समस्या महिलामा बढी देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकका अनुसार महिनावारीमा हुने गडबडीका कारण पनि महिलामा थाइराइडको समस्या बढी देखा पर्छ । हाइपो थाइराडिज्म पुरुषमा ४ देखि ५ प्रतिशत देखिन्छ । हर्मोन बढीको समस्या पनि लगभग ७ देखि ८ प्रतिशतले देखिन्छ । मधुमेह तथा बाथको समस्या छ भने वर्षमा २ पटक थाइराइडको चेकजाँच गराउनुपर्छ ।
थाइराइड तथा मधुमेह विशेषज्ञ डा. कामाक्षा शाहका अनुसार अहिले मानिसहरुमा धेरै चेतना आइसकेको छ । यही कारण स्वास्थ्य परीक्षण गराउन आउने क्रम बढ्दै गएकाले धेरै बिरामी देखिएको हो । परीक्षणको दायरामा आउनेको संख्या बढी भएकाले धेरै बिरामी देखिएको हुनसक्छ । सन् १९६० तिरको समयमा आरआइए (रेडियो इम्युनोयासी) भन्ने प्रविधिले थाइराइड समस्याको जाँच गरिन्थ्यो । आयोडिन डेफिसेन्सीका कारण पहिले थाइराइड देखापर्ने गरेको थियो ।
सन् १९८० तिर आएर इम्युनोयासी प्रविधिबाट जाँच हुनथाल्यो । पहिले यो प्रविधि प्रयोग गर्न गाह्रो भएका कारण महिनाको एक दिन जाँच गरिन्थ्यो । त्यसैले पनि यसको परीक्षण महँगो थियो जाँच गर्ने ठाउँ पनि थिएनन् । तर केही वर्षयता थाइराइडको परीक्षण कम शुल्कमा थाइराइडको उपचार गर्ने अस्पतालमा सजिलै उपचार गर्न सकिन्छ । आफूलाई मनलागेको समयमा जहाँ पनि गर्न सकिने भएकाले थाइराइडका बिरामी बढको जस्तो देखिएको छ ।
गर्भवती महिलामा बढी जोखिम
पछिल्लो समय गर्भवती महिलामा पनि थाइराइड देखापर्ने गरेको छ । थाइराइड वंशाणुगत रुपमा आमा र बुबामा छ भने छोराछोरीमा देखापर्ने हुन्छ । गर्भवती हुनुभन्दा अगाडि नै एक पटक थाइराइडको चेकजाँच गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । यदि गर्भवती महिलामा हाइपो थाइराइड भएमा बच्चामा श्वासप्रस्वाससम्बन्धी समस्या उत्पन्न हुने, बच्चाको मानसिक विकास पूर्ण रुपले नहुने र बच्चा जन्मनु अगावै मृत्यु हुनेलगायतका समस्या देखापर्ने थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाहले बताइन् ।
त्यसैगरी हर्मोनको कमी भएमा गर्भपतन हुने, गर्भावस्थामा उच्च रक्तचाप हुने, रक्तअल्पता हुने, समय अगावै शिशुुको जन्म हुने, प्रसूति अवस्थामा अत्यधिक रक्तश्राव हुने जस्ता खतराहरु देखापर्न सक्ने चिकित्सकहरुको भनाइ छ ।
लक्षण
शरीर गलेको महसुस हुने
घाँटी सुन्निने
शरीर सुन्निने
कपाल झर्ने
निन्द्रा नलाग्ने वा बढी लाग्ने
छाला फुस्रो हुने
महिनावारी गडबड हुने
मुटुको धड्कन बढेजस्तो हुने
तौल घट्दै जाने
हातखुट्टा झम्झमाउने तथा काँप्ने
शरीर तातो हुने
सिना आउँने
कसरी बच्ने ?
नियमित व्यायाम गर्ने
तौलमा घटबढ हुन नदिने
हेरक वर्ष एकपटक थाइराइड छ कि छैन भनेर जाँच गर्ने