site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बच्चादेखि वृद्धसम्म मुटुरोगबाट पीडित, कसरी बच्ने ?

काठमाडौं । पछिल्लो समय मुटुका बिरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । राष्ट्रिय हृदय रोग केन्द्रमा मात्रै दैनिक ५ देखि ८ सय बिरामी मुटुसम्बन्धी विभिन्न समस्या लिएर पुग्ने गरेका छन् । 

केन्द्रका निर्देशक जोतेन्द्र शर्माका अनुुसार केन्द्रमा बिरामीको चाप बढ्दै गएका कारण मुटुरोगका आकस्मिक बाहेक शल्यक्रियाका लागि अहिले झन्डै १ वर्षसम्म पालो कुर्नपर्ने वाध्यता छ । बिरामीको चाप बढेअनुसार मुटु उपचारको सेवा विस्तार नहुँदा बिरामीले लामो समयसम्म कुर्नुपर्ने भएको हो । 

केन्द्रबाट आर्थिक वर्ष २०७१–०७२ मा ९० हजार २ सय ३१ जनाले सेवा लिएका थिए । यस्तै, आर्थिक वर्ष २०७२–०७३ मा एक लाख आठ हजार २७३ जना मुटु रोगीहरूले परीक्षण गराएका थिए भने आर्थिक वर्ष २०७३–७४ मा अस्पतालबाट ओपिडी सेवा लिनेको संख्या १ लाख ४७ हजार ४ सय ५ छ । सोही वर्ष १ हजार ६ सय ८३ जनाको मुटुको शल्यक्रिया भएको थियो भने ७ हजार ७ सय १५ बिरामीले क्याथल्याबमार्फत एन्जिओप्लास्टी, एन्जियोग्राफी, पेसमेकरलगायतका सेवा लिएका छन् । 

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीे पहिलेको तुलनामा मानिसहरूमा मुटु रोग बढ्ने कारण स्वास्थ्य सचेतनाको कमी ठान्छन् । उनले भने, “हाल नेपालमा मुटु रोगबाट कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाखको हाराहारीमा पीडित छन् ।”

युवामै मुटु रोगको जोखिम

पछिल्लो समय मुटु रोग युवामा पनि देखा पर्न थालेको छ । गंगालाल अस्पतालमा २० देखि ४० वर्षबीचका उपचार गर्न आउनेको संख्या पनि बढ्दै गएको अस्पतालका निर्देशक डा. शर्माले बताए । उनले भने, “२० देखि ४० सम्ममका युवा पनि मुटु रोगबाट प्रभावित हुने गरेका छन् ।” अस्पतालमा आर्थिक वर्ष २०७१–०७२ मा २० देखि ४० वर्षमुनिका ७६ हजार ९२१ ले मुटु रोगसम्बन्धी उपचार गराएका थिए । २०७२–०७३ मा ९१ हजार २ सय ११ जनाले उपचार सेवा लिएका थिए भने आर्थिक वर्ष २०७३–०७४ को वैशाखसम्ममा १ लाख ६१ हजार ४१ जना २० देखि ४० वर्ष उमेर समूहका मानिसले मुटु रोगको उपचार गराएका थिए । 

महिलाभन्दा पुरुषमा बढी जोखिम
 

केन्द्रको तथ्यांंकअनुसार महिलाको तुलनामा पुरुषमा बढी मुटु रोग भेटिने गरेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ यादवदेव भट्टले मुटु रोगले महिलाभन्दा पुरुष बढी प्रभावित हुने बताए । डा. भट्टले बाह्रखरीसँग भने, “महिनावारी गराउने एस्ट्रोजन प्रोष्टोज हर्मोनले महिलामा सुगर, प्रेसर र कोलेस्ट्रोरोललाई कन्ट्रोल गर्ने हुँदा महिलालाई मुटु रोग लाग्ने जोखिम पुरुषको तुलनामा कम हुन्छ ।” 

कहाँ–कहाँ छ क्याथल्याब सेवा ?

काठमाडौं उपत्यकामा गंगालाल, मनमोहन काडिर्योथेरासिक सेन्टर (त्रिवि शिक्षण अस्पताल), ग्रान्डी अस्पताल, पाटन अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, वयोधा अस्पताल, नर्भिक अस्पताल, मेडिसिटी हस्पिटल र गौतमवुद्ध कार्डियाक सेन्टरमा क्याथल्याब सेवा रहेका छन् ।

त्यसैगरी उपत्यकाबाहिर धुलीखेल अस्पताल, चितवन मेडिकल कलेज, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर मेडिकल कलेज, नोवेल मेडिकल कलेज विराटनगर, न्युरो कार्डियाक अस्पताल विराटनगर र भेरी अञ्चल अस्पतालमा क्याथल्याब सेवा उपलब्ध छ । 

मुुटु रोगका कारक
 

बदलिँदो जीवनशैली र खानपान नै पछिल्लो समय मुटु रोग बढ्दै जानुको मुख्य कारण हो । धुम्रपान र मद्यपानको सेवनले कोलेस्ट्रोल, ब्लड प्रेसर बढ्नुलगायत पनि यसका कारक हुन् । थाइराइड, सुगर, बढ्दो मोटोपन पनि मुटु रोग बढ्दै जानुका कारण रहेको डा. अनिल भट्टराईले बताए । उनले भने, “पछिल्लो समय जसरी मानिसको जीवनशैली र खानपान बढेको छ, यसले मानिसलाई मोटोपनादेखि उच्च रक्तचाप बढाइरहेको छ । यो नै मुटुरोग बढ्नुको मुख्य कारण हो ।”

गर्भधारण गरेको ३ महिनाभित्र आमालाई रुबेला नामक दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ । फलस्वरूप जन्मजात बालकमा समेत मुटुको समस्या आउने मुटु रोग विशेषज्ञ डा. जोतेन्द्र शर्माले बताए । उनले भने, “गर्भ रहेको ३ महिनाको अवधिमा असुरक्षित मानिएका औषधि सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा, भिटामिन र अन्य आवश्यक पोषण तत्वको कमी भएमा, नवजात शिशुको जिब्रो, ओठ र औंलाका टुप्पाहरु नीलो हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार रुघाखोकीले सताइराख्ने, शिशुको उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटुरोगका लक्षण हुन् ।”

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. यादवदेव भट्टले ३ देखि १५ वर्षका बालबालिकामा लगातार घाँटी दुख्ने, लामो समयसम्म टन्सिल हुने, हातखुट्टाका जोर्नीहरू दुख्ने र सुन्निने भएमा ती बाथ मुटु रोगका लक्षण हुने जानकारी दिए । 

कसरी सकिन्छ बच्न ?
 

चुरोट र सुर्तीको सेवन नगर्ने

नियमित शारीरिक व्यायाम गर्ने

सागसब्जी र फलफूल बढी सेवन गर्ने

मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने

मानसिक तनाव कम गर्ने

तौल ठीक राख्ने

भुँडी बढ्न नदिने

नियमित रूपमा चिकित्सकसँग सम्पर्कमा रहेर परीक्षण गराई आवश्यक सल्लाह लिने

एक विशेषज्ञको भागमा करिब ३ लाख जनसंख्या 

नेपाल मेडिकल काउन्सिलमा अहिलेसम्म १ सय १४ जना मुटु रोग विशेषज्ञ रहेका दर्ता छन् । काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्माले अहिलेसम्म १ सय १४ जनामा कार्डियाक सर्जन र कार्डियोलोजिस्ट दर्ता रहेको बताए । “अहिलेसम्म दर्ता रहेका १ सय १४ जनामा पनि कति विशेषज्ञ विदेश छन् भने कति त काउन्सिलको दर्ता नलिईकन पनि काम गरिरहेका छन्,” डा. शर्माले भने, “नेपालको जनसंख्या अनुसार एक विशेषज्ञको भागमा २ लाख ७२ हजारले सेवा लिइरहेका छन् ।” हरेक वर्ष करिब १० जना मुटु विशेषज्ञ दर्ता हुने काउन्सिलले जनाएको छ । स्वास्थ्य मन्त्रालयकोे तथ्यांक अनुसार देशभरमा करिब ४ सय साना–ठूला अस्पताल तथा स्वास्थ्य केन्द्रले मुटुको सेवा दिएका छन् ।

त्यसैगरी, मुटु रोग विशेषज्ञ अब स्थानीय तहमा पनि दरबन्दी अनुसार थप्ने विषयमा छलफल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना माहाशाखा प्रमुख डा. महेन्द्र श्रेष्ठले बताए । उनले भने, “मुटु विशेषज्ञ प्रदेश र केन्द्रमा कति छन् र अब कति दरबन्दी थप्ने भन्ने विषयमा छलफल भइरहेको छ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro