देश
काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा लगभग २४ सै घण्टा चहलपहल हुन्छ । यो क्षेत्रमा दर्जनौं प्रकारका सयौं व्यवसाय सञ्चालित छन् ।
सवारीसाधनको चाप पनि उत्तिकै हुन्छ ठमेलमा । यहाँको ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मे–हम्मे नै पर्छ ।
ठमेलको यातायात व्यवस्थापनमा सधैं व्यस्त रहने ट्राफिक प्रहरी आफैं भने निकै अव्यवस्थित छ । ट्राफिक प्रहरीका लागि स्थायी भवन छैन । सात वर्षमा ५ पटक डेरा सरिसक्यो ठमेल ट्राफिक । ०६७ साल पुसमा ट्राफिक कार्यालय स्थापना भएको थियो ठमेलमा । त्यसअघि ठमेलको केही भाग सोह्रखुट्टे र केही भाग दरबारमार्गको ट्राफिक कार्यालयले हर्ने गर्थ्यो ।
ठमेल क्षेत्र अस्तव्यस्त भयो भन्दै ठमेल पर्यटन परिषद्ले ट्राफिक प्रहरी राख्न आग्रह गरेको थियो । त्यतिबेला ट्राफिकको बसोबास तथा कार्यालयको व्यवस्थापन परिषद्ले नै गर्ने सर्त थियो । परिषद्ले आफूले गरेको सर्त पूरा त गरेको छ, तर झारा टार्ने हिसाबले मात्रै ।
स्थापना भएयता ५ पटक ट्राफिक कार्यालय सारिएको छ । “ट्राफिक प्रहरीलाई राख्दा कम भाडा आउने र आफूखुसी व्यवसाय सञ्चालन गर्न नपाइने भएका कारण ठमेलमा व्यवसायीहरु हामी नजिक आउन चाहँदैनन्,” ठमेल ट्राफिक प्रमुख असई मोहनकुमार गुरुङले भने, “बस्ने बास अन्डरग्राउण्डमा छ । पहिला त्यहाँ मसाज सेन्टर रहेछ, भुइँतलामा चिसो भएका कारण सारिएको रहेछ । फोहोरको डंगुर थियो, दुई दिन १० जना लगाएर सफा गरी जेनतेन रात काट्ने बाटो भएको छ ।” भित्र भएका बेला सञ्चार सेटले काम नगर्ने भएकाले प्रहरीहरु बाहिरै बस्नुपर्ने अवस्था छ ।
बस्ने बासस्थानको त बिजोग छ नै, कार्यालयको पनि उस्तै अवस्था छ । महागरपालिकाको २९ वडा कार्यालयमा एउटा कोठा छ । त्यही एउटा कोठालाई दुई भाग बनाएर कामचलाउ अफिस बनाएइको छ । “कार्यालय र ट्राफिक बस्ने ब्यारेकको दूरी टाढा छ, त्यसैले समस्या भएको छ,” असई सुरुङले बाह्रखरीसँग भने ।
ट्राफिक प्रहरीको व्यवस्थापन गर्ने जिम्मा लिएको ठमेल पर्यटन परिषद्का उपाध्यक्ष समिर गुरुङ आफूहरु कार्यालय व्यवस्थापनका लागि लागिपरेको बताउँछन् । “ट्राफिक राख्ने भन्नेबित्तिकै खाली घर पनि दिन मान्दैनन् । त्यसैले भनेजस्तो हुन सकेको छैन,” उनले भने ।
ठमेलका घरधनीहरु ट्राफिक प्रहरीलाई घर भाडामा दिन चाहँदैनन् । बरु ठमेल क्षेत्रमा सवारीसाधन चल्नै दिन नहुने तर्क गर्छन् । यो क्षेत्रमा पार्किङ शुल्क पनि उत्तिकै चर्को छ । ट्राफिक प्रहरी भन्छन्, “व्यापारीले नै चलखेल गरी हामीलाई हटाउँछन् । डेरा सर्दै र फोहोरका डंगुर सफा गर्दै हैरान हुन्छ ।”
ठमेल ट्राफिकले दैनिक दर्जनौं सवारीसाधन कारबाहीका लागि नियन्त्रणमा लिन्छ । तर, त्यसरी नियन्त्रणमा लिइएका सवारीसाधन राख्ने ट्राफिक कार्यालयमा ठाउँ छैन । असई गुरुङ भन्छन्, “कारबाहीका लागि तानिएका सवारीसाधन राख्ने ठाउँ छैन, त्यसैले निजी पार्किङमा राख्नुपर्छ ।” कतिपय अवस्थामा सवारीधनीले तिर्ने जरिवानाभन्दा पार्किङको शुल्क बढी हुने गरेको उनले सुनाए ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७३ १३:१८
प्रतिक्रिया दिनुहोस्