देश
काठमाडाैं । सहकारीको पैसा चोर्ने योजना बनाएर चार जना चोरले बुधबार राति १२ बजे ललितपुरको चापागाँउमा रहेको सन्तानेश्वर सहकारी संस्थाको ढोका फोडे । र फलामको सेफ उठाए ।
चापागाँउबाट सेफ उठाएर चोरहरु उज्यालो नहुँदै ना १ ज ३९४८ नम्बरको टाटा सुमोमा सेफ राखेर चन्द्रागिरि हुँदै हेटौंडातर्फ लागे । जंगलको बीचमा टाटासुमो देखेपछि प्रहरीले आशंका गर्दै सोधपुछ गर्यो । सुरुमा चोरले गाडीमा बिरामी रहेको बताए । टाटासुमोमा बिमारी नभएको आशंका गर्दै प्रहरी जाँच गर्न गाडी नजिक पुग्यो । ठीक त्यहीबेला चोरहरु प्रहरीलाई लक्षित गर्दै बन्दुक पड्काउदै जंगलतिर भागे ।
प्रहरीले टाटासुमोमा राखेको सेफ बरामद गरेर महानगरीय प्रहरी परिसर काठमाडौं पुर्यायो । सन्तानेश्वर सहकारी र प्रहरीको रोवहरमा उक्त सेफ खोलियो । सेफमा पैसा हैन सहकारीका कागजपत्र पो रहेछन् । सेफमा पैसाका नाममा २५ रुपैयाँका चार वटा पुराना नोट मात्रै थियो ।
“सहकारी भबनमा लगाएको भोटेताल्चा फोरेर चोरले सेफ उठाए । तर, भित्र भने कागज मात्र रहेछ,” महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने, “चोरले पैसा भनेर चोरेका हुन् । चोरी गरेको सेफमा पैसा हैन कागज थिए, चोर झुक्किए । सहकारीका कागजपत्र चोरी भएको खबर बिहानै आइसकेको थियो । त्योसँगसँगै चोरले गोली पड्काउँदै चन्द्रागिरिमा सेफ छाडेर भागे भन्ने खबर पनि सेटमा सुनियो ।” गोलि हान्दै जंगलतर्फ भागेका चोरलाई प्रहरीले अझै फेला पार्न सकेको छैन । खोजीकार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७३ १९:४०
प्रतिक्रिया दिनुहोस्