काठमाडौं । विभाजित माओवादीको एक सानो हिस्साका नेता नेत्रविक्रम चन्द अर्थात् ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारको पछिल्लो ‘वाकयुद्ध’ पेचिलो बन्दै गएको छ । स्थानीय तहको निर्वाचनपछि बम विष्फोटसम्मका घटना गराएको नेकपाका गतिविधिले सामान्य परिस्थितिमा असामान्य अवस्थाको संकेत गरेको देखिन्छ । नेपाल प्रहरीले दुई वर्षअघि नै चन्द नेतृत्वको पार्टीलाई अतिवादी समूहको सूचीमा राखिसकेको छ ।
अतिवादी सूचीमा राखे पनि विप्लव नेतृत्वको माओवादीले पछिल्लो समयमा आपराधिक कार्य जारी राखेको सुरक्षा संयन्त्रको निष्कर्ष छ ।
पछिल्लो समय नेकपाले गराएको वम विष्फोटदेखि अपहरणसम्मका काम आपराधिक कार्य भएको सुरक्षा निकायको निष्कर्ष हो । त्यतिमात्र होइन, हालै सो दलले प्रधानमन्त्री र सत्ता साझेदार दलका प्रमुख नेतालाई नै जनअदालतमा उपस्थित हुन उर्दी जारी गरेको छ ।
यसले सरकारसँग टकरावको अवस्था आउने सक्ने अनुमान गरिएको छ ।
विप्लवमाथि पक्राउ पूर्जी
२०७४ मंसिर १० गते जिल्ला प्रहरी कार्यालय भोजपुरले विप्लवका नाममा पक्राउ पूर्जी काट्यो । यद्यपि फागुन १६ गतेमात्रै कपिलवस्तुको शिवनगरमा रहेको विप्लवको घरमा पूर्जी टाँसियो । त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । विप्लवको घरमा फागुन १६ गते पक्राउ पूर्जी टाँसिदा उनकै पूर्व सहकर्मी नेता रामबहादुर थापा ‘बादल’ फागुन १४ गते गृहमन्त्री भएका थिए । यो घटनालगत्तै विप्लवको नेकपाले आफूहरुले पनि केपी ओली र प्रचण्डका नाममा पक्राउ पूर्जी जारी गर्ने बताएको थियो ।
नभन्दै उसले पनि १५ दिनको म्याद दिँदै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा वारेन्ट जारी गरेको छ । उसले यसको औपचारिक पुष्टि गरेको छैन । जारी भएको पूर्जी अफवाह र आतंक फैलाउने मानसिकताबाट मात्रै आएको उच्च सुरक्षा अधिकारी बताउँछन् ।
विप्लवका पछिल्ला कान्ड
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशभरका सयौं स्थानमा वम विष्फोट भयो । कैयौं घाइते पनि भए । बम विष्फोटमा संलग्नताको आरोपमा नेकपाका कैयौं कार्यकर्ता पक्राउ पनि परे । निर्वाचन अवधिभर विष्फोटको जिम्मा नलिएको नेकपाले निर्वाचनपछि भने आफैंले विष्फोट गराएको जिम्मेवारी लियो । यसको पुष्टि नेकपाका एकजना नेता भरत बमले सञ्चारमाध्यममै प्रतिक्रिया दिएर गरेका थिए ।
योबीचमा सार्वजनिक जग्गामा झण्डा गाड्ने र चन्दा आतंक मच्चाउने काम पनि नेकपाले जारी राखेको छ ।
नेपालमा एक कार्यक्रमका लागि बलिउड स्टार सलमान खान आउने कार्यक्रमलाई लक्षित गरी नेकपाले विरोधका कार्यक्रम अघि सारेपछि सलमान नेपाल आउने कार्यक्रम नै रद्द भयो ।
कैलालीमा घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपाका कार्यकर्ताले फागुन २८ गते गोली र खुकुरी प्रहार गरे । त्यो घटनामा नेकपाका ४ जना कार्यकर्ता पक्राउ परेका छन् । तर, नेकपाले घटनामा आफ्नो संग्लनता नरहेको बताउँदै आएको छ ।
युद्धकालमा तत्कालीन माओवादीको नक्कल गर्दै जनसरकार तथा जनअदालत चलाएको नेकपाले दाबी गरेको छ ।
चैत १ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादीको जिल्ला जनपरिषद् चितवनले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई धम्कीपूर्ण पत्र पठाउँदै राजीनामा दिन र नदिए त्यसबाट हुन सक्ने सम्भावित परिणामका लागि तयार रहन चेतावनी दियो । यसबीचमा रोल्पामा स्थानीय तहका जनप्रतिनिधिलाई पनि राजीनामा दिन पत्र पठाइएको छ । यसबाट नेकपाले आफ्नो गैरसंवैधानिक हर्कतलाई निरन्तरता दिएको प्रष्ट हुन्छ ।
सुरक्षा निकायको नजरमा विप्लव
नेपाली सेनाले आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो चुनौतीको रुपमा विप्लवको नेकपा र सिके राउतसँगै तराईका केही समूहलाई राखेको स्रोत बताउँछ । राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीले नेकपाका गतिविधिमाथि निगरानी राखिरहेको छ । नेपाल प्रहरीको प्रतिआतंकवाद नियन्त्रण ब्युरोले विप्लवको पार्टी र अन्य हिसांत्मक गतिविधिमा लागेका समूहलाई नजिकबाट हेरिरहेको जनाएको छ ।
विप्लवबाट सुरक्षा चुनौतीमा भने ठूलै ‘थ्रेट’ आएको चारओटै सुरक्षा निकायको बुझाइ रहेको स्रोतको भनाइ छ । प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा गृहमन्त्री रामबहादुर थापाले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्नेहरूलाई निरुत्साहित हुने गरी काम थाल्न निर्देशन दिएका थिए ।