देश
काठमाडौं । एक महिला व्यवसायीलाई ५० लाख रुपैयाँ नदिए ज्यान लिने धम्की दिएपछि पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताको परिवार पनि ठगीमा सक्रिय रहेको खुलेको छ ।
अपहरण तथा शरीर बन्धक कसुरमा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री गुप्ताका छोरा राकेश गुप्ताविरुद्ध पनि ललितपुर प्रहरीमा दर्जनभन्दा बढी ठगीका उजुरी परेका छन् ।
“श्यामसुन्दर गुप्ताका छोरा राकेश गुप्ताका नाममा पनि थुप्रै मौखिक उजुरी परेको छ,” ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले भने, “हामीले मौखिक उजुरी दिनेलाई लिखित पनि दिनुस् भनेका छौं । तर कतिपय ठगीमा परेकाहरूले डरका कारण लिखित उजुरी दिन सकेका छैनन् ।” एसएसपी अधिकारीका अनुसार गुप्ताका छोराको विरुद्धमा केहीले टेलिफोनमा र केहीले प्रहरी कार्यालयमै आएर ठगी गरेको भन्दै मौखिक उजुरी दिएका छन् ।
प्रहरीका अनुसार गुप्ताले सरकारी जागिर लगाइदिने तथा ललितपुरका विभिन्न स्थानमा रहेको सरकारी र गुठीको जग्गा मिलाइदिने भन्दै ठगी गरेका छन् ।
प्रहरीसँग बोल्नै खोज्दैनन् गुप्ता
यसअघि व्यापारी अपहणको अभियोगमा प्रहरी हिरासतमा रहँदा पूर्वमन्त्री गुप्ताले हिरासत कक्षको सुरक्षामा रहेका प्रहरीलाई कहिले झपार्ने र कहिले गफ गरेर समय बिताउने गरेको भए पनि अहिले भने प्रहरीसँग सकेसम्म बोल्नै खोज्दैनन् । “अहिले प्रहरीसँग कुरा गर्न नपरे हुन्थ्यो जस्तो गर्छन्,” अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७३ १७:३०
प्रतिक्रिया दिनुहोस्