काठमाडौं । जहाजबाट काठमाडौंमा उत्रिएको केहीबेरमै बुटवल जाँदै गरेको रात्रिबसमा भेटिए उनी । बस चढेको एकैछिनमै भन्दै थिए, “नेपालमा त महँगी धेरै बढेछ सर । एयरपोर्टबाट बसपार्क आउन १५ सय लियो ट्याक्सीले ।” उनी नौ वर्ष विदेश बसेर फर्किंदै रहेछन् ।
चितवन गितानगरका ५६ वर्षीय राम मगर ९ वर्षअगाडि कुवेत गएका रहेछन् । “क्लिनर काममा मासिक ८० केडी पाउने भनेर दलालले मसँग ढाई लाख रुपैयाँ खायो, आफन्तसँग रिन लिएर पैसा बुझाएर कुवेत त गएँ, तर मेरो त्यहाँ बेहाल भयो,” उनले दुखेसे पोखे, “न भनेको काम थियो न तलब । सजिलो क्लिनिङ काम भनेको, त्यहाँ पुगेपछि थाहा भयो, मलाई त बाख्राको खोरमा पो काम गर्न पठाइएको रहेछ । दिनभर ५०–६० डिग्रीको गर्मीमा दुई–तीन सय बाख्रा चराउने र तिनको रेखदेख गर्नुपथ्र्यो ।
बाख्राले बच्चा पाउँदा कुरेरै बस्नुपथ्र्यो । बाख्रालाई हेरचाह पुगेन भने कोर्राले हान्थ्यो । निकै दुःख लाग्छ अहिले सम्झिँदा । खुट्टा फुटेर रगत चुहुन्थ्यो । खुट्टाको छाला पुरै फर्केको हुन्थ्यो । बिचरा भन्ने कोही थिएन, न औषधि गर्ने पैसा थियो । बिहान उठेर बाख्राको पछि–पछि दगुर्ने हो । जाँदाजाँदै लिएर गएको नरम खबुस (रोटी) त घामले सुकेर पापडजस्तो हुन्थ्यो, कसरी खान सक्नु !”
आफूलाई पठाउने मान्छेप्रति निकै आक्रोशित देखिएका रामले आफूलाई पठाउने मेनपावर कम्पनीको नाम भने बिर्सिसकेका रहेछन् । “अहिले त पठाउने कम्पनी पनि बन्द भयो होला, त्यो मान्छेको नामचाहिँ कमल थापा हो कि के भन्थ्यो, कहाँको हो भन्ने पनि थाहा छैन,” उनले भने ।
दुई वर्षसम्म काम गर्दा पनि उनले जाँदा लागेको रिन तिर्न सकेनन् । ऋणको पैसा ब्याजले बढेर साढे ५ लाखजति पुगिसकेको थियो । “मलाई पैसा दिने मान्छेले तिर्न नसक्ने भए घरजग्गा छोड् भन्दो रैछ । यो सबै थाहा पाउँदा असह्य पडा हुन्थ्यो, आफ्नो वेदना त छदैथियो,” उनले सुनाए ।
दुई वर्षपछि साहुले घर फर्कन अनुमति त दियो, तर उनीसँग घर फर्कने अवस्था थिएन । “साढे ५ लाख ऋण छ, नतिरे घरबारै जान्छ । तिर्ने पैसा आफूसँग छैन । कसो गरौं भन्दाभन्दै म घर नफर्की लुकेर काम गर्ने निर्णय गरें,” उनले भने । त्यसरी जीवनको अर्को अध्याय सुरु गरेका उनले धेरैपल्ट प्रहरीसँग जोगिएर हिँड्दै ब्लक जोड्ने ठेकेदारकोमा काम गरे । “चारपल्ट त मलाई पुलिसले समाएको पनि थियो । तर काम गर्ने ठाउँकै अरु साथीहरूले गरिब छ, छोराछोरी पाल्न र रिन तिर्न यसो बाहिर पनि २,४ घण्टा काम गर्छ भन्दै कुरा मिलाइदिएर छोडिदियो,” उनले सम्झिए ।
लुकेर काम गर्न थालेको एक वर्षमा उनले साढे ५ लाख ऋण तिरे । “भवनहरू बनाउन ब्लक जोड्ने ठाउँमा ज्यामीको काम गर्थें । कामअनुसारको राम्रै कमाइ पनि थियो, त्यसैले रिन तिरेर छोराछोरीको पढाइ खर्च पुर्याएँ,” उनले भने ।
त्यसरी काम गरेर कमाएको पैसा उनले सुरुमा आफूलाई रिन दिने र त्यसपछि लगातार श्रीमतीको नाउँमा पठाए । तर, श्रीमतीले पैसामात्रै सकिनन्, रामलाई समेत छोडेर हिँडिन् । “कहाँ गई भन्ने केही थाहा छैन । मैले कमाएको सात लाख रुपैयाँसमेत लिएर गइछ छोराछोरीलाई छोडेर । अहिलेसम्म कुनै खबर छैन, अब घर पुगेपछि केही थाहा होला,” उनी मलिन देखिए ।
सात वर्ष अवैधानिक रुपमा कुवेतमा काम गर्दा राम्रै कमाइ गरेका रामले पछिल्ला वर्षमा त मासिक १ लाख रुपैयाँसम्म कमाउँथे । तर, त्यहाँको सरकारले अवैधानिक रुपमा कुवेतमा बसेका विदेशी कामदारलाई घर फर्कने मौका दिएको समयमा नेपाल फर्किएको उनले बताए । उनले भने, “योभन्दा पहिला पनि यसरी फर्कने अवसर त आएको थियो तर कमाउने राम्रो ठाउँ पाएकोले आएको बेला एक–दुई वर्ष अझै मेहनत गरौं भनेर त्यतिबेला आइन । अहिले आउँदा श्रीमती भागिछ । छोराछोरीले पनि आफैं बिहे गरेछन् । अहिले न पठाएको पैसा छ न श्रीमती,” उनले वेदना सुनाए, “तरपनि छोराछोरीले मलाई बिर्सेका छैनन् । गाउँकाले त मरिसक्यो भने होलान्, मलाई देख्दा अचम्मै पर्लान् ।”
रामले स्वदेशमा हुँदा हलो जोतर, ट्याक्टर चलाएर, रिक्सा चलाएर मनहरीबाट बालुवाको बोरा बोकेर चितवनमा तीन कठ्ठा जग्गा जोडेका थिए । त्यतिबेला श्रीमती भागेर साउदी गएकी रहिछन् । “२ साल साउदी बसेर आउँदा उसले मलाई दिएको जम्मा २५ हजार हो । मैले एउटा घर बनाइसकेको थिएँ ऊ साउदीबाट आउँदा । ऊ साउदीबाट आएको ३ महिनामै मेरो कुवेतको भिषा लाग्यो । विदेश जान उनीसँग पैसा माग्दा पाइएन, अनि एकजना आफन्तसँग पैसा मागेर गएँ,” उनले विगत सम्झिए ।
उनी फेरि पनि विदेशिने सोचमा छन् । “अब पनि त्यही कम्पनीले बोलाए जाने इच्छा छ । कम्पनीले पासपोर्ट बनाएर पठाउन भनेको छ । अहिलेको कम्पनी त राम्रो छ तर जान पाइन्छ कि पाइँदैन थाहा छैन । पासपाोर्ट बनाएर एकपटक प्रयास गर्नुपर्ला, नमिले नेपालमै सानो व्यवसाय सुरु गर्छु,” उनले सुनाए ।
माओवादी सशस्त्र द्वन्द्वमा केही समय प्रचण्डसँग सँगै हिँडेको बताउने राम देश र जनताको नाम लिएर राजनीति र लडाइँ गरेकाहरू आफ्नै स्वार्थमा हराउँदा खिन्न छन् । तैपनि उनले अझै आश मारेका छैनन् । “नेपालमा अब केही राम्रो हुन्छ कि जस्तो लाग्छ । हामी सबै मिलेर काम गर्ने हो भने देशको विकास हुन समय लाग्दैन । विदेशमा गर्ने मेहनत यही गर्न सक्ने हो र त्यस्तो वातावरण मिलाउने हो भने हाम्रो देश विकसित हुन पनि समय लाग्दैन,” उनी आशावादी देखिए ।