काठमाडौं । पाल्पा बगनासकाली गाउँपालिका ८ यम्घा टोक्सेका दुई युवा सबैले छाड्दै गएको बाबुबाजेको परम्परागत पेशालाई निरन्तरता दिँदै आफ्नै कमाइमा रमाएका छन् । खुमबहादुर विकका दुई छोरा २१ वर्षीय भोजराज विक र २५ वर्षीय शिवराज विकले आफ्ना बाबुबाजेले गर्दै आएको फलामको कामलाई निरन्तरतामात्रै दिएका छैनन्, सरदर नेपाली युवाले विदेश गएर कमाउने भन्दा पनि राम्रो कमाइ गरिरहेका छन् ।
हँसिया, बन्चरो, कोदालीजस्ता कृषि उपकरण बनाउने, पुराना मर्मत गर्ने तथा घर निमार्णका लागि आवश्यक फलामे वेल्डिङको कामसमेत उनीहरु गर्छन् । अहिले मोटरसाइकल मर्मतको कामसमेत गर्न थालेको शिवले बताए । “पहिले हजुरबुबा, बुवाको पालामा हँसिया, कोदालो अर्जाप्ने र खर्च उठाएर गुजारा चलाउने बालीघरे प्रथा थियो । अहिले हामीले त्यसलाई व्यावसायिक रुप दिएका छौं । पुरानो प्रथा हटेको छ तर काम भने हामी अझै राम्रोसँग गर्ने प्रयास गरिरहेका छौं,” उनले भने ।
“मान्छेले जे काम गर्यो, त्यसैमा सफल हुने रैछ । हामीलाई यसमा सफलता नै मिलेको छ । आफूले नजानेको पेशा गर्न पनि दुःख हुन्छ, यो कामचाहिँ हामीले गरिरहेकाले अप्ठेरो लागेको छैन,” भोजराजले थपे, “हाम्रो बुबा पनि विदेश जानु भएन, हामीलाई पनि बाहिर कमाउन जा भन्नुभएन । पेशालाई संकटमा पार्न नदिन हामीले अहिले यसलाई व्यावसायिक रुपमै सुुरु गरेका छौं ।”
उनीहरुको साथमा पहिलेदेखि नै परम्परागत रुपमा यो काम गर्दैैै आएका उनीहरुका मामा ओमबहादुर विक पनि छन् । उनले अहिले प्रविधिको विकासले यस्तो काम गर्न धेरै सजिलो भएको बताए । उनीहरुले परम्परागत आरन (फलाम तताउन बनाइने भट्टी) लाई अब विद्युतीय आरनमा परिणत गर्न लागेको बताएका छन् ।
“पाल्पामा यो हाम्रो नमुना नै बनेको छ । हामीले अहिले ग्रिलको काम पनि चलाएका छौं । परिवारका सबैजना यसैमा लागेका छौ र दुई जना आफन्तलाई पनि रोजगारी दिएका छौं । पहिला बालीघरे प्रथामा त खानलाई खर्च जुटाउँदा नै ठिक्क हुन्थ्यो,” भोजराजले भने ।
परम्परागत पेशालाई आधुनिक ढङ्गले गर्न थालेपछि जीविकोपार्जनका लागि खाडी मुलुक जानुपर्ने बाध्यता नरहेको उनले बताए । “अहिले हाम्रो सरदर कमाइ लगभग महिनाको एक लाखको हाराहारीमा हुन्छ । सेवा बढाउँदै जाँदा अझै बढ्ने अपेक्षा छ,” उनले भने । प्रविधिको विकाससँगै आफूहरुको काम सहज भएको उनीहरुको भनाइ छ ।
कक्षा ८ पास गरेर यो कामलाई निरन्तरता दिएका भोजराजले कामप्रतिको चासो भने सानै उमेरदेखि नै राखेका रहेछन् । तर भोजराजका दाजु शिवले भने वीएससी अध्ययन गर्दै रहेको बताए । शिवले भने “हाम्रो शिक्षा व्यावहारिक लाग्दैन मलाई । मैले पढेको छु भनेरमात्रै बसेको भए आज यो व्यवसाय अगाडि बढाउन सकिँदैनथ्यो । प्राविधिक शिक्षाको अभावले यस्तो भएको हो । हातमा सीप नभएसम्म हामी जहाँ गएपनि सक्षम मानिदैनौं ।”