देश
काठमाडौं । सवारीसाधनमा कालो सिसा प्रयोग गर्ने दुई हजारभन्दा बढीलाई प्रहरीले कारबाही गरेको छ । प्रहरी प्रवक्ता डीआईजी माधव जोशीका अनुसार गत वर्षको असारदेखि अहिलेसम्ममा यो संख्यामा कालो सिस प्रयोग गर्ने व्यक्तिहरू कारबाहीमा परेका हन् ।
विगतमा कालो सिसा भएको गाडीमा विभिन्न खालका अपराध हुने गरेको प्रहरीको भनाइ छ । बाहिरबाट नदेखिने हुनाले भित्र अनेकौं धन्दा हुने, गाडीभित्र बसेर अरुको रेकी गर्न सहज हुने भएकाले अवैध काम रोक्न कालो सिसा प्रयोग भएका गाडीलाई नियन्त्रणमा लिन थालेको प्रवक्ता जोशीले बताए । “कालो स्टिकर टाँसेका गाडी आपराधिक गतिविधिमा संलग्न देखिएका कारण कारबाहीको दायरामा ल्याइएको हो,” उनले भने ।
राजधानीलगायत प्रमुख सहरमा कालो सिसा भएका सवारीसाधन प्रयोग गरेर अपराध गर्नेको संख्या वृद्धि हुँदै गएपछि प्रहरीले देशभरका मातहतका निकायलाई कालो सिसा प्रयोग भएका सवारीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।
०६४ सालमै गाडीमा काला सिसाको प्रयोग रोक्न सर्वोच्च अदालतमा रिट परेको थियो । रिटमा फैसला गर्दै सर्वोच्चले कालो सिसाको प्रयोगमा रोक लगाउन आदेश दिएको थियो । कालो सिसाको गाडीभित्र बलात्कार, अपहरण तथा हातहतियारको ओसारपसार हुने दाबी रिटमा गरिएको थियो ।
राष्ट्र प्रमुख र सरकार प्रमुखबाहेक अन्य सवारीसाधनमा बृहत्तर सार्वजनिक हितलाई ध्यानमा राखी कालो सिसा प्रयोग नगर्न सर्वोच्चले आदेश दिएको थियो । अदालतको आदेशका बाबजुद सवारीसाधनमा कालो सिसा राख्ने क्रम भने रोकिएको छ्रैन ।
कम्पनीमै कालो सिसा अर्डर
सर्वोच्वको आदेश र प्रहरीले कालो स्टिकर टाँसेर चलाउने सवारी चालकलाई नियन्त्रणमा लिन थालेपछि गाडी उत्पादक कम्पनीले नै आफ्ना गाडीमा कालो सिसा राखेर पठाउने गरेका छन् । यसका कारण कारबाहीमा कठिनाइ भएको सुरक्षा निकायको गुनासो छ ।
“प्रहरीले कडाइ गरेपछि कम्पनीमै अर्डर गरेर कालो सिसा राखेर ल्याएको पनि देखियो,” महानगरीय ट्राफिक प्रमु्ख डीआईजी प्रकाश अर्यालले बाह्रखरीसँग भने, “कानुले नदिएको काम कुनै नागरिकले गर्न मिल्दैन । अरुलाई रवाफ देखाउन गाडीमा कालो सिसा राख्नेहरुले त्यसको असरका बारेमा बुझ्दैनन् ।”
उनका अनुसार भदौ १३ गतेदेखि प्रहरीले उपत्यकाभित्र कालो सिसा राखेर चल्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ । यो अवधिमा ८ वटा भाडाका सवारीसाधन, ४६ वटा निजी र एउटा सरकारी सवारीसाधनमा कालो सिसा राखेको पाइएको छ । उनीहरुलाई नियन्त्रणमा लिइएर कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।
सरकारी अधिकारीलै नै मानेनन् सर्वोच्वको आदेश
उच्च स्रोतका अनुुसार राष्ट्रिपति चुरे संरक्षण कार्यक्रमका पदाधिकारी नै कालो सिसाको गाडीमा चढ्छन् । त्यो सवारीसाधनलाई हालैमात्र प्रहरीले नियन्त्रणमा लिएको छ । “सरकारी मान्छेबाटै यस्तो नियम मिच्ने काम हुन्छ भने अरुले के गर्लान् ?” एक प्रहरी अधिकारीले भने । प्रहरीले नियन्त्रणमा लिएका ती अधिकारीले खुबै हाउभाउ देखाएर आफूहरू तराईमा गइरहनुपर्ने भएका कारण कालो सिसा प्रयोग गरेको तर्क गरेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७३ ११:१५
प्रतिक्रिया दिनुहोस्