
तिम्री स्वास्नी र म
- मनु ब्राजाकी
६ महिनाअगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो ।
त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ हात लामो रङ्गीन झोला झुन्ड्याएर मत्थर गतिले हिँड्दै थिई । यो जूटको रङ्गीन झोला निकै गरूङ्गो प्रतीत हुन्थ्यो किनभने उसको शरीरको अधिकांश भाग त्यतैतिर ढल्किएको थियो ।
युवती निकै आकर्षक थिई । निर्मला मबाट गएपछि म आजकाल यस्तै युवतीहरुतर्फ आकर्षित हुन थालेको छु । स्कुल–कलेजका चञ्चल किशोरीहरुभन्दा पच्चीस–छब्बीस वर्षीया यी विवाहित युवतीहरुमा भिन्नै किसिमको मनोहारी आकर्षण हुन्छ । पूर्णरुपेण फक्रेको क्यामेलिया अथवा थुँगु सयपत्रीको फूलजस्तै । मकरन्दपूर्ण उन्माद र पूर्णयौवनको गाम्भीर्यले सिंगारिएको ।
अँ, युवती बिचरी बडो सङ्कटमा थिई । उसको अनुहार पसिनाका थोपाहरुले ढाकेको थियो, जसलाई पुछ्न ऊ ह्यान्डब्यागबाट रूमालसम्म झिक्न समर्थ थिइनँ । गर्मीको मौसम थियो । एकछिन ऊसँगसँगै हिँडेपछि मैले देखेँ- अब पसिनाका थोपाहरु धारामा परिणत हुन थालेका छन् । उसको अनुहारको मेकअप पखालिन थालेको छ । मेकअप उत्ताउलो थिएन । गहुँगोरो अनुहारमा मेरो मनपर्ने हल्का गुलाफी रङ्गसित समन्वित ओठको किञ्चित् गाढा गुलाफी रङ्ग । आँखामा गाजल तर नजानिँदो । यस सौम्य र सुरूचिपूर्ण सिंगारले म झन् मुग्ध भएको थिएँ ।
म एक्कासि दयावान हुँदै ऊनेर पुगेँ र भनेँ, "कृपया, यो जूटको ठूलो झोला मलाई दिनुस् । म पनि त्यतै जाँदै छु ।"
तिम्री स्वास्नीले पुलुक्क मतिर हेरी र आफ्नो असहाय अवस्था र भिजेको अनुहार सम्झेर एकछिन नियास्री भई । अनि आफ्नो श्वास–प्रश्वास नियन्त्रित गर्दै यति नै भनी, "धन्यवाद !"
र, उसैगरी झोलाको भारले ढल्केर हिँडिराखी । म पनि उसको आसमानी सारीको सऱ्याक–सुरूक् सुन्दै पछि लागिराखेँ । एकछिनपछि फेरि मैले मन थाम्न सकिनँ ।
'सुन्नस् त, नराम्रो नमान्नुहोला । यस्तो अवस्थामा सहयोग गर्नु सबैको कर्तव्य हो, ल्याउनुस् झोला मलाई दिनुस् । म पनि त्यतै जाँदै छु' भन्दै मैले उसको हातबाट जूटको ठूलो झोला बलजफ्ती आफ्नो हातमा लिएँ । उसले फेरि पुलुक्क मतिर हेरी र 'धन्यवाद' भनी ।
उसको दृष्टिमा कृतज्ञताभावभन्दा कुतूहलभाव प्रस्टिएको थियो । तर मेरो सौम्य, गम्भीर र आत्मीय मुखमुद्रा देखेर आश्वस्त भई । अनि एकछिन अडिएर नाइलनको तारको झोला भुइँमा राख्दै ह्यान्डब्यागबाट पहेँलो लेडिज रूमाल झिकेर अनुहारको पसिना मेकअप नलत्पतिने गरी हल्का तवरले पुछ्न थाली । एक्कासि मेरो मुखमुद्रा बदलियो र उसको सुडौल देहयष्टिलाई लोलुप नजरले हेर्न थालेँ, जहाँ कामीको खलाँतीझैँ चलेको श्वासप्रश्वासले उसका कलशद्वय उद्वेलित भइराखेका थिए ।
"कस्तो घाम, उफ् !"
'अँ' भन्दै मैले पनि मौसमअनुकूल जवाफ दिएँ ।
झोला निकै गरुङ्गो रहेछ । मेरो पनि दाहिने हात तन्केर घुँडा छोला जस्तो गऱ्यो । लाग्यो, झोलामा अन्य चिजबिजहरुभन्दा आलुकै मात्रा बढी छ । स्वास्नीमान्छेहरु जे सस्तो छ र जे सहजप्राप्य छ, त्यतैतिर झुम्मिन्छन् । खुबै मोलभाउ गर्छन्, महँगोमा पर्छन्– मीठोमीठो बोलीवचनले गर्दा । यत्रा यातायातका साधनहरु छन् तर वरिपरि नै आधार खोज्छन् । सहजप्राप्यले गर्दा निर्मला पनि त यस्तै थिई ।
'तपाईंले मलाई चिन्नुभो र ?' भन्दै उसले मतिर नियालेर हेरी ।
"चिनेर मात्र आफ्नो कर्तव्यपालन गरिन्छ र ?" प्रतिप्रश्न मेरो थियो ।
मेरो अनुहार फेरि सौम्य र भद्र भइसकेको थियो । प्रतिप्रश्नले गर्दा ऊ एकछिन चुप लागी र भनी, "निकै सहृदयी हुनुहुँदो रै'छ, धन्यवाद !"
उसको शब्द चयनले गर्दा मलाई ऊ सुशिक्षित छे भन्ने लाग्यो ।
"सहृदयता आर्जित गुण हुँदैन, स्वभाव हुन्छ ।"
उसले हाँसेर मतिर हेरी र कुनै जवाफ दिइन । मैले उसलाई अघि लगाएँ र आफू उसलाई अन्यथा अनुभव हुन नदिई एक पाइलो पछि परेँ किनभने मलाई उसको टोल र घरबारे केही थाहा थिएन । एकछिनपछि फेरि उसलाई नारीसुलभ वाचालताले घच्घच्यायो र वार्तालाप- पहिलोपटक भेट हुँदा हुने वार्तालाप- मौसम, महँगी हुँदै राजनीतिसम्म पुग्यो । यद्यपि घरेलु नारीको लागि राजनीति उस्तो आकर्षक विषय होइन तापनि शिक्षित छु भन्ने देखाउन अपरिचित अथवा नवपरिचितसित चर्चा गरिन्छ नै । राजनीतिक चर्चामा नारीहरुको विशेष रूचि मूलभूत सैद्धान्तिक विचार–विमर्शमा भन्दा प्रशासनिक चलन–विचलनमा बढी हुन्छ । यहाँ पनि सोही भयो । यसै सन्दर्भमा अन्ततः तिम्री स्वास्नीले तिमी अफिसर भएको र तिम्रो प्रशासनिक भूमिकाबारे चर्चा गरी । मैले समर्थनमा मुन्टो हल्लाउँदै रहेँ किनभने नारीलाई स्नेह र समर्थन चाहिन्छ । किनभने, म स्वयं पनि अफिसर थिएँ र प्रशासनिक कटुमधुर अनुभव मलाई पनि छ । निक्कै ठूलो रकम कुम्ल्याएर त्यागपत्र दिएँ, अथवा दिनुपऱ्यो र अब ठेक्कापट्टा गर्दै छु ।
"हेर्नुस् न, कस्तो ब्याडलक ! ट्याक्सी नै पाइएन आज ।"
गल्लीजस्तो सडकबाट निस्केर हामी फाँटमा आइपुग्यौँ । टाढा–टाढासम्म नवनिर्मित घरहरु छरिएका थिए । ऊ एउटा एकतले र सामान्य वास्तुविन्यासयुक्त घरसामु उभिई । घर अपूर्ण थियो । प्लास्टर गरेको थिएन तर कम्पाउन्डवाल भन्ने थियो । ग्रिल–गेटको सट्टा तगारो थियो । उसले मतिर होइन, तिम्रो घरतिर हेर्दै भनी, "यै हो हाम्रो घर ।"
"लौ त, आफ्नो झोला लिनुस् ।"
अब त म पनि असिन–पसिन भएर थाकेर चूर भइसक्या थिएँ । अतः झोला उसको हातमा दिएर मैले गोजीबाट रूमाल झिकेँ र पसिना पुछ्न थालेँ । झोला दिँदा फेरि उसका मांसल र कोमल औँलाहरुको स्पर्श पाएँ ।
"धन्यवाद ! धेरै–धेरै धन्यवाद ! एहे तपाईं त ..."
"क्यै छैन, क्यै छैन । तपाईंको यति सेवा गर्न पाएर मैले आफूलाई सौभाग्यशाली ठानेको छु ।"
"तपाईंको कुन टोल पऱ्यो ?"
"त्यो त पछि परिसक्यो ।"
"ए ! उसो भए मेरै लागि तपाईंले यति कष्ट ..."
"भैगो केही कष्ट छैन । लौ त अब बिदा दिनोस् ।"
अहिले भने उसको आँखामा कृतज्ञता र कताकता किञ्चित् अपनत्वको भाव देखा पऱ्यो । अक्मकाउँदै र यताउति हेर्दै मधुरो स्वरमा भनी, "एकछिन पर्खिनुस् ।"
"के यो झोला भित्रसम्म पुऱ्याइदिऊँ कि ?" भन्दै उसको हातबाट झोला लिएँ ।
"अँ ।" अन्यमनस्क भएर उसले भनी ।
तगारो खोलेर हामी भित्र पस्दा मैले जुन कुरा देखेँ, सो देखेर म विस्मयविमुग्ध भएँ । क्यामेलिया ! मेरो प्यारो क्यामेलिया फुलेको रहेछ, पूर्ण यौवनसाथ । ९ महिनाको कठिन प्रयासपश्चात् फुल्ने फूल । एक्कासि रवीन्द्रनाथ ठाकुरको प्रसिद्ध कविता 'क्यामेलिया'को सम्झना आयो । दार्जिलिङको पर्वतीय बाला तनुकाको सन्दर्भसहित यस कवितामा बङ्गाली कविगुरूले भनेका पंक्तिहरु मगजमा सल्बलाउन थाले ।
तनुका बोलले, "दामी दुर्लभ गाछ,
ए देशेर माटिते अनेक यतने बाँचे ।”
जिगेस करलेम, “नामट की ?”
से बोलले, “क्यामेलिया ।”
मलाई क्यामेलियातिर टक लगाएर हेरेको देखेर उसले हर्षित हुँदै भनी, "कति राम्रो फूल छ हगि ? ल्याउनुस् झोला दिनुस् ।"
"अब म बिदा हौँ त ?" झोला दिँदै मैले भनेँ ।
"कहाँ हुन्थ्यो ! एक कप चियासम्म खाएर जानुस् न । साह्रै थाक्नुभो ।"
जम्मा चारवटा कोठाको एकतले घरमा उसले मलाई ड्रइङ रुममा बसालेर हस्याफस्याङ् गर्दै आफू किचेनतिर लागी । बैठक सादा तर सुरूचिपूर्ण थियो । फ्रेन्च विन्डोमा ग्रिल र पर्दा दुवै थियो तर शिशा हालेको थिएन । निर्माणाधीन घरमा यस्तै हुन्छ । निकैबेरपछि ऊ आई— एउटा हातमा चियाको कप–प्लेट र अर्को हातमा अम्लेटको रिकापी लिएर ।
"एकछिन कुर्नुपऱ्यो, हगि ?"
"यत्रो कष्ट किन गर्नुभएको ? अनि तपाईंलाई ख्वै त ?"
"म आउँछु, तपाईं खाँदै गर्नुस् ।"
अतिथिपरायणताको गृहिणीसुलभ उमङ्गले उल्लसित हुँदै ऊ फेरि किचेनतिर हानिई र आफूलाई पनि चिया ल्याई ।
"यी यहाँ मेरो श्रीमान् !" उसले भित्तातिर औँल्याउँदै भनी ।
मैले त्यतै हेरेँ । अफिसियल पार्टी खाँदाखाँदा डम्म परेको अनुहार, घोप्टे जुँघा, ढाकाको टोपी ।
"बडो ह्यान्डसम हुनुहुँदो रहेछ !"
ऊ चोरआँखाले मतिर हेर्दै लजाई र गहुँगोरो अनुहार आरक्त भयो । एकछिन अझैको वार्तालापबाट थाहा पाएँ- एउटी छोरी छे ६ वर्षकी, स्कुल जान्छे । एउटा श्रीमान् छन्, जो अफिस जान्छन् र साँझ झमक्क नपारी घर फर्किंदैनन् ।
बिदा हुँदा शिष्ट ढङ्गले ठट्टा गरेँ, "बाहिर क्यामेलिया फुलेको छ र भित्र तपाईं । अब बिदा दिनुस् ।"
फेरि चोरआँखाले मतिर हेरेर हाँसी र भनी, "नमस्ते ! आउँदै गर्नुहोला है !"
यो नितान्त औपचारिक वाक्य थियो तर यसैलाई मैले सहारा दिनुपर्ने चोरऔँला ठानेर समाएँ ।
अनि त तिम्रो स्वास्नीसँगको भेटघाट क्रममा यहाँ आवतजावत निर्बाध चल्यो ।
भेटघाट कहिले बजारमा, कहिले घरमा गर्दै दुई महिना बित्यो । आत्मीयता पल्लवित भयो, पुष्पित भयो । अनि कहिलेदेखि हो कुन्नि 'तपाईं–तपाईं' को भनाभन 'तिमी–तिमी'मा परिणत भयो, दुवैलाई थाहा भएन । एकदिन अकस्मात् तिमी अफिसबाट छिट्टै घर आइपुग्यौ । हामी कुनै अश्लील अवस्थामा थिएनौँ किनभने बल्ल 'तिमी–तिमी'को स्तरसम्म आत्मीयता पुगेको थियो । मैले चियाको कप सेन्टर टेबुलमा राखेर उठ्दै तिमीलाई नमस्कार गरेँ ।
एकछिन बादल लाग्यो । अनि लगत्तै झलमल्ल घाम भयो ।
"यहाँ को हुनुहुन्छ ?" पौरूषको एकाधिकारी सन्देहले जिज्ञासा गऱ्यो ।
"मेरो मीतदाजु हुनुहुन्छ," तिम्री स्वास्नीले एकक्षण पनि नबिराएर भनी ।
"यत्रा दिनपछि जेठानसाहेबको सवारी भएछ । के गर्नुहुन्छ ?"
"यसो सानोतिनो ठेक्कापट्टा गर्छु । आज बैनीसित पनि भेटौँ, हजुरको पनि दर्शन गरौँ भनेर आएको ।"
"मसित क्यै काम थियो कि ? लौ त आज यहीँ खाएर जाने अब ।"
घाम अझै झलमलायमान भयो । कति छिटो उसले ढाँटेर मलाई 'मीतदाजु' बनाई । यो स्वास्नीमान्छेको त्वरित छलबुद्धिको प्रमाण हो । उसले मलाई सहपाठी, छिमेकी, साथी पनि भन्न सक्थी तर भनिन । नारीको पुरूष–मनोविज्ञानको ज्ञान पुरूषको नारी–मनोविज्ञानको ज्ञानभन्दा श्रेष्ठतर हुन्छ— विशेषगरी व्यावहारिक सन्दर्भमा । आफ्नो स्नेहसूत्र कायम राख्न नारीले यस्तै सानासाना झुट बोलेर पुरूषको एकाधिकारी प्रवृत्ति र अहमलाई श्रद्धासुमन चढाइराख्छे । तर, पुरूषको लिंडे बलले यसैलाई स्त्रीयाचरित्र भन्छ ।
यसैगरी यदाकदा तिमीसित, प्रायःजसो तिम्री स्वास्नीसित भेटघाट गर्दै अझ ६ महिना बित्यो । अनि कसरी ड्रइङ रुमको स्नेह र आत्मीयता बेड रुममा गएर टुङ्गियो, सो कुराको ज्ञान न त मलाई नै भयो न त तिम्री स्वास्नीलाई नै । नजिक र आफूभित्र घटित हुने घटनाको प्रभाव त थाहा हुन्छ तर समय–कालको ज्ञान हुँदैन । अनि त सातामा एक–दुईपटक कहिले तिम्री स्वास्नीको आग्रहले र कहिले मेरो आग्रहले आत्मीय बेडरुम कार्यक्रम चल्दै राख्यो । बाहिरको क्यामेलिया ८ महिनापश्चात् हाम्रो हृदयबाटिकामा पूर्ण यौवनका साथ फुल्न थाल्यो । मबाट स्नेह र सन्तुष्टिको सहारा पाएर उसले अब तिम्रो अवगुणको पनि आलोचना गर्न थालिसकेकी थिई । तिम्रा गुणहरु गौण हुँदै गएका थिए । बेला–बेलामा मैले ल्याएको स्नेहोपहारले मेरो गुणगरिमा बढाएको थियो । तिमीलाई सन्देह नहोस् भनेर एकदिन मैले तिम्रो लागि पनि एउटा निकै दामी रोलेक्स घडी ल्याएको थिएँ ।
"ज्वाइँसाहेब, यो हजुरको लागि ... मेरो एउटा साथी दिल्ली गएको थियो, उसैले ल्याएको ।"
"भैगो राख्नुस्, जेठानसाहेब !"
"मसित छँदै छ नि ।"
"मसित पनि त छ ।"
हामी दुवै हाँस्न थालेका थियौँ । यसैबीच तिम्री स्वास्नीले प्याच्च भनी, "तपाईं त साह्रै खर्चालु हुनुहुँदो रै'छ, दाइ !"
"बैनीलाई भन्दा ज्वाइँलाई खुसी पारे पो त बैनीले सुक्ख पाउली ।"
'ठेक्काको पैसा के छ र ?' भन्दै तिमी हाँस्यौ । अनि हामी तीनैजना हाँसेका थियौँ ।
तिम्रो हाँसोमा अफिसरीय खोक्रो अट्टहास थियो, मेरो हाँसोमा व्यापारिक कुटिलता थियो भने तिम्री स्वास्नीको हाँसोमा ईर्ष्यामिश्रित उपेक्षा थियो ।
अनि भोलिपल्टै उसको ईर्ष्यामिश्रित हाँसोलाई साम्य पार्न एउटा गहकिलै स्नेहोपहार लिएर दिउँसो १ बजेतिर उपस्थित भएको थिएँ । उसले मलाई ड्रइङ रुममा नबसाएर सोझै बेडरुममा लगी । लगाएर देखाई । अनि लगत्तै हामी बेडरुम कार्यक्रममा व्यस्त भयौँ । त्यस दिन आनन्दातिरेकमा तिम्री स्वास्नीले भनेकी थिई, "म त तिम्री हुनुपर्ने हगि ?"
मैले निर्मलालाई छोडेदेखि कुनै आफ्नो मनले खाएकी नारीले मलाई यसो भनोस् भन्ने प्रतीक्षामा थिएँ । सहज भएर ड्रइङ रुममा आएपछि चियाको घुट्को निल्दै मैले भनेँ, "यसरी कति दिन चल्ला ?"
"जति दिन चल्ला चल्ला," सन्तुष्टिको निष्फिक्रीपनले ऊ हाँसी ।
"के हामी सधैँभरिको लागि एकअर्काको हुन सक्तैनौँ ? आऊ, जाउँ छोडेर यो दुनियाँ र आफ्नो नयाँ दुनियाँ बसाऊँ !"
"के रे ?" तिम्री स्वास्नी झस्किई र घोरिन थाली ।
"के रे से रे होइन, अब म तिमीबिना एकक्षण पनि बाँच्न सक्तिनँ । के मेरो माया लाग्दैन र ?"
'लाग्छ' भनेर उसले मतिर चोरआँखाले हेरी र फेरि घोरिन थाली ।
निकैबेरसम्म तिम्री स्वास्नी र मेरो गलबद्दी भयो । ऊ अन्कनाउँदै रही म फकाउँदै रहेँ । अन्ततः मलाई रिस उठ्यो र निर्णयात्मक स्वरमा कठोरतापूर्वक भनेँ, "म अन्तिम निर्णय चाहन्छु, मसित जाने कि नजाने ?"
"कस्तो अबुझजस्तो कुरा गऱ्या … म आफ्नो लोग्नेलाई कसरी छोड्न सक्छु ? तिमी त उसै भेट भएका थियौ ।"
"उसै !" म अक्मकिएँ ।
"अँ, उसै त हो नि ।" तिम्री स्वास्नी झर्केर शब्द–शब्द अँठ्याएर बोल्दै थिई ।
एक्कासि म झल्याँस्स भएँ । यस आकस्मिक, अप्रत्याशित र अकल्पनीय जवाफले गर्दा म ऊतिर एकछिनसम्म घोरिएर हेरिराखेँ । हेरिमात्र राखेँ तर मगजमा कुनै कुरा फुरेन । ऊ भने मतिर हेर्न नसकेर भित्तातिर हेर्दै थिई, जहाँबाट तिम्रो फोटोले उसलाई हेर्दै थियो । क्षुब्ध मनस्थितिमा म त्यहाँबाट हिँड्न जुरूक्क उठेँ । उसले मेरो मनोभाव बुझेर सम्भ्रम चालले उठेर ढोकामा आई र आफ्नो सुडौल पाखुरा पखेटाझैँ फिँजाएर भनी, "रिसाएको ? लोग्नेमान्छेहरु कति छिटो रिसाउँछन् । अहिले नजाऊ न, म फेरि चिया ल्याउँछु है ?"
"जान देऊ, फेरि आउँला ।"
"हेर, शरीर जसलाई सुम्पे पनि मन त तिमीलाई नै सुम्पेकी छु । तापनि तिमी रिसाएर जाँदै छौ, पक्का आउँदैराख्ने हो भने मात्र म बाटो दिन्छु । आउँदैराख्छु भन न ल ... ल ... ल भन न," उसको अनुहारमा आह्वान तीव्रतासाथ टल्किँदै थियो ।
म सोच्दै थिएँ- निर्मलाले पनि यसै भनेकी थिई, "त्यो त उसै भेट भएको ।" अनि तिम्री स्वास्नीले पनि यसै भनी, "तिमी त उसै भेट भएको ।"
तिम्री स्वास्नी र मेरी स्वास्नी दुवैले दिएको एउटै उत्तरले गर्दा म तुलनात्मक द्विविधामा परेँ । तिम्री स्वास्नीले शरीर तिमीलाई र मन मलाई सुम्पेको कुरा नितान्त तार्किक लाग्यो ।
वर्षदिनपूर्व निर्मलाले 'उसै भेटेको'लाई शरीर सुम्पिन थाल्दा म टुप्लुक्क आइपुगेको थिएँ । 'उसै भेटेको' त उसै बेपत्ता भइहाल्यो, फेला परी निर्मला । कुट्नसम्म कुटेँ, ओठ काटिएर रगत पनि बग्यो । ऊ हात जोडेर रूँदै माफी माग्दै रही । उसले प्रतिवाद गर्ने ठाउँ नै थिएन । भ्रमको धमिलो पर्दासम्म पनि भएको भए ऊ मसित उग्ररुपले बाझेर आफूलाई पतिव्रता सिद्ध गर्न खोज्ने थिई । तर, प्रत्यक्ष रुपमा समातिएपछि ऊ निरुत्तर भई । अझै कुट्ने थिएँ तर पल्लो कोठामा डेढ वर्षे छोरो गोपु ब्युँझेर रून थालेको हुँदा कुटाइ बन्द गर्नुपऱयाे ।
"को थियो त्यो ?"
बोलिन ।
"को हो भन्या ?"
"मेरो कोही होइन त्यो, उसै भेटिएको थियो, विश्वास गर्नुस् । अब म हजुरको पाउ छोडेर कतै जान्नँ ।"
"कोही होइन, उसै भेटेको रे ! तैँले जानैपर्छ । उसै भेटिनेजति सबैलाई ल्याएर मेरो घर होटेल र रन्डीखाना बनाउने ?" मैले जुठा प्लेट र चियाका खाली कपहरुतिर हेर्दै भनेँ ।
"बरू मेरो हातखुट्टा भाँचिदिनुस् तर यो घरबाट ननिकाल्नुस्, मेरो हजुर ! म मर्छु । विश्वास गर्नुस् त्यो मेरो ..."
"मलाई छैन विश्वास तँ रन्डीमाथि । जा निस्किहाल् ... अहिल्यै । नारायणघाट जाने बस भेट्टाउँछेस् । पैसा–सैसा केही बोकिस् भने काट्छु तँलाई । ड्राइभर–कन्डक्टर पनि भेटिएलान् उसै । तँमाथि दया गरेको यत्ति हो । निस्किहाल् भन्या... नत्र अहिले चुपी झिकेर छाला तार्छु तेरो ।"
अनि ऊ गोपुलाई बोकेर घरबाट निस्किएकी थिई ।
६ महिनासम्म प–पन्ध्र दिनमा निर्मलाका अनुनय–विनयपूर्ण चिठ्ठीहरु आउँदै राखे । अनि बन्द भयो ।
अहिले तिम्री स्वास्नी आफ्ना सुडौल पाखुराका पखेटा फिँजाएर ढोकामा उभिएकी छ । तिमीलाई थाहा छैन, त्यसो हुनाले ऊ अझै मेरो बाटो छेक्न तत्पर छे । अब यी पाखुरा स्नेहको होइन, स्वार्थको भर दिने पाखुरा भएका छन् । स्नेह र स्वार्थको दूरी धेरै त रहेनछ । एउटै दुष्टिकोणको पातलो पर्दाको वरिपरि दुवै बसेका रहेछन् । तिम्री स्वास्नी त तिम्री नै रहिछ, म त उसको रखौटा, नाठो, नटुवामात्र । अतः यी पाखुराहरुले अब मलाई बाँध्न सक्दैनन् । 'उसै भेटेको' यी दुई शब्दबीचमा बारम्बार कहिले तिम्रो अनुहार देखापर्थ्यो, कहिले गोपुलाई बोकेकी निर्मला देखा पर्थी ।
"आउँछु भन न ल ... ल !"
"ल," मुक्त हुन मैले वितृष्णासाथ भनें ।
उसले मेरो गालामा म्वाइँ खाई र बाटो छोडिदिई । यो म्वाइँले मेरो गालामात्र होइन, मनसमेत पोल्यो र सोचेँ, यो मेरो माया होइन । यो त 'उसै भेटेको' लालसामात्र हो । केही समयपछि बिर्सिहाल्ने छेस् । अनि फेरि उही दालभात रूच्न थाल्नेछ । बिर्सन सक्ने क्षमता पुरूषमा भन्दा नारीमा बढी हुन्छ । अनि पो त सामान्यतः आत्महत्या गर्नेहरुमा नारीको भन्दा पुरूषको संख्या बढी देखिन्छ ।
बाहिर आएँ । क्यामेलियातिर हेरेँ । अब त्यहाँ फूल थिएनन्, पातैपात मात्र । रवीन्द्रनाथलाई सम्झेँ- गीतैगीत मात्र । त्यहाँबाट म सरासर बस स्ट्यान्डतिर लागेँ ।
२:३० भएको रहेछ ।
"सिट छ ? नारायणघाट ।"
"छ दाइ ! कतिवटा ?"
"यताबाट एउटा, उताबाट दुइटा," अन्यमनस्क छु ।
"उताबाट उतै किन्नुहोला, दाइ !"
"ए ˜ ल ? ठीक छ । कति बजे पुग्ला ?"
"११ बजे रातिसम्म पुगिहाल्छ नि !"
समय छ ।
यसबीच रत्नपार्क, भोटाहिटी, असन, नयाँसडक कताकता डुलेँ, को–कोसँग भेटेँ, के–के कुरा गरेँ, कुन्नि ! यो डुलाइभरि म निर्मलालाई भन्न उपयुक्त शब्द खोज्दै थिएँ । साढे ६ बजे बसमा चढ्दासम्म बल्ल–बल्ल दुईवटा वाक्य बनाएँ ।
११ बजे राति बूढी सासूले भन्दा निर्मलाले नै ढोका उघार्ली अनि भनौँला ।
"निर्मला, म उसै आएँ । भित्र आउन दिन्छ्यौ ?"
बस खोक्छ, खकार्छ, अनि चिच्याउँदै गुड्न थाल्छ ।
म सिटमा ढल्किनासाथ नारायणघाट पुग्छु र निर्मलाको आँसु पुछ्दै गोपुलाई जिस्क्याउन थाल्छु ।
(ब्राजाकीको कथा संग्रह 'तिम्री स्वास्नी र म'बाट ।)
० ० ०
भैगो दिनु पर्दैन
– मनु ब्राजाकी
"एहे खर्दारनी बजै ! आउनुस् आउनुस् ! कताबाट ?"
आफ्नो भताभुंग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ । मार्दैछ र आफ्नो नङलाई नङ्ग्रा सम्झने भूल गर्दैछ, जसले जुम्राबाहेक अरु केही मार्न सकेन–– न आफ्नो अभाव, न अर्काको प्रभाव, न भोक, न शोक । ऊ झ्यालबाट देख्छ- खरदारनी बजै (ऊ आफू खरदार भैटोपलेकोले) पल्लो घर पोर्टिकोमा उभिएकी रहिछ । चाइजिन इँटको रातो बंगलाभित्रैबाट घन्किँदै रहेछ ।
"बाहिर किन ? भित्र आउनुस् ।"
खरदारनी बजै (जो यो माघदेखि पच्चीस पुगेर छब्बीस लागी) भित्र पसी । बङ्गलाका मालिक (जो चालीस पुगेर अझै माथि उक्लिसकेका छन् र पक्कै पनि बजैका नाति होइनन्) हिटरनेर बसेर आह्वान गर्दैछन् ।
"आउनुस्, बस्नुस् । सञ्चै छ ?"
"सञ्चै, नमस्कार !"
नातिसामु बजै खुम्चेर सोफामा बस्छिन् । बस्दा कतै पनि बिझाउँदैन, जसरी खरदार बाजे बिझाउँछन् । रन्केको हिटरसामु पनि माघको जाडो बिझाउँछ, सँगसँगै संकोच पनि बिझाउँछ । उत्सुक र प्रशन्न नातिको अनुहार मुख हुन्छ ।
"अनि भन्नुस् !"
अघि हरिहर साहुले घरमा आएर लोग्नेलाई बेइज्जत नगरेको भए ऊ यहाँ आउने थिइन । घरमै बसेर पनि के गर्नु ? यत्रा यातायातका साधन हुँदाहुँदै कहीँ न कहीँ, कतै न कतै, कसैकहाँ त हात थाप्न जानैपर्थ्यो । तिरौँला भन्ने लोग्ने र स्वास्नीको संयुक्त अठोटले गर्दा ऊ यहाँ पाँचौं पटक पनि आउन सकेकी हो । वरिपरिका अन्य ठाउँहरुमा ‘पटकहरु' गन्न अहिले सकिराखेकी छैन । यति बेइज्जति प्राप्त भइसकेपछि अब केही दिनका लागि हरिहर साहुतिर निश्चिन्त भए हुन्छ । तर, वर्तमान त काखमै छ, फुल्याउनु कि रुवाउनु ? फुल्याउनै पर्यो ।
"कति कामले आउनु भएको थियो ?"
"ए अँ, अलिकति घरायसी किनमेल थियो… यहाँसित … !"
फेरि बिझायो । सोफा होइन, संकोच । पाँच पटकमा पाँच वटा तगारा । सबै तगाराहरु एकैचोटि फड्किन कति गाह्रो !
"ए बुझेँ बुझेँ, कति चाहियो ?"
"अहिलेलाई गोडा पच्चिसेक भए…"
ऊ तगारोतिर अचम्म मानेर हेर्छे, बुरुक्कै फड्किसकिएछ ।
"ल लिनुस्… । अँ, खरदार बाजेलाई भन्नुहोला यसो सिमन्टी पत्तो लगाइराख्ने भनेर । ग्यारेजमा काम छ ।"
"हजुरलाई पछिको पनि हिसाप दिनु छ…"
"भो-भो दिनु पर्दैन, काम चलाउनुस् । यो त मैले हिजो पप्लुमा जितेको ।"
ऊ दातातिर हेर्छे । दाता विधाताझैँ टुलुटुलु ऊतिरै हेर्दै रहेछन् । ऊ झस्केर हातको जिताउरी पट्याउन थाल्छे ।
'दिनु पर्दैन' ले धेरै कुरा लिन खोजेजस्तो लाग्छ । के-के ? विवरण प्रष्ट छैन । अस्पष्टताले कुनै अन्योलमा पार्दैन ।
बुझेर नबुझ्नुलाई नै व्यवहारिकता भन्छन् । आदर्श ज्ञान र व्यवहारिक अज्ञानको रेखा कहीँ न कहीँ गएर अवश्य काटिएला र एउटा कुनो (कोण) बनाउला । यी दुवै कहिल्यै समानान्तर हुँदैनन् । एक न एकदिन ज्ञानले अज्ञान भेट्टाउँछ र अज्ञानले ज्ञान । अनि भेट हुने कुनामा पप्लु चल्छ । एउटा हार्छ, अर्को जित्छ ।
ऊ हातको जिताउरी अभ्यासवश चोलोमा हाल्न खोज्छे तर विधातासामु हुनाले यसो गर्न सक्तिन । स्वास्नीमान्छेले 'सम्पति' कि त चोलोमा हाल्नुपर्ने, कि त पेटिकोटमा । के यस्तो चलन होला ? लोग्नेमान्छेका भने जताततै गोजी नै गोजी छन् । यो सोचेर उसलाई झर्को लाग्छ । जिताउरीलाई हत्केलामा जोडसित अँठ्याउँछे । अब समापन भाषण पनि त हुनुपर्यो ।
ऊ भन्छे, "यस्तो संकटमा पनि हजुरले यति गुन…"
"आ... केको गुन ? फेरि पनि साह्रो गाह्रो परे आए हुन्छ नि !"
"हस् नमस्कार !"
अनुहार झन् उज्यालो छ ।
घरमा आउँदा दुवै छोरा पाठ घोक्दै रहेछन् । लोग्ने खुइलिएको जर्किनमा ठुटो खोजेर धुवाउँदै रहेछ । लोग्ने र छोराहरुलाई देखेर उसले विधातालाई बिर्सी र समस्या समाधानको उज्यालो मुखले हाँसी ।
"दियो ?"
"दियो, पच्चीसवटा । यति नै माग्ने भनेको होइन ?"
"अँ, लौ काम चलिहाल्यो । आज त माछा पनि पर्ने भएको छ ।"
"काँ ?"
"खोलामा हैन अफिसमा क्या । कस्ती लाटी रै'छ," बाठो लोग्नेले लाटी स्वास्नीलाई कुरा बुझायो ।
"अलि ठूलो माछा पारे पो । कैलेकाहीँ पार्नुहुन्छ, त्यै पनि बुदुना र भोटी ।"
"असला पर्छ क्या असला । अनि त्यो हरिहरेको मुखमा बुजो ठोकौँला ।"
"असला कत्रो हुन्छ र ? त्यै हरिहरेको मुखमा पनि नअटाउला । मदिसे रहु पारे पो अलिक दिन ढुक्क होला ।"
"तेरो खर्दारको मात्रै मुख छ हैन ? अफिसमा त अरु छँदै छैनन् ? जत्रो जाल, त्यत्रै माछा ।"
छोराहरु माछाको प्रसंग सुनेर पाठ बिर्सिन्छन् ।
सानो छोरो, "कत्रा माछा ल्याउने बा ?"
ठूलो छोरो, "एफ आई एस एच फिस्, फिस् माने माछा ।"
"चूप लाग, पढ्नु सढ्नु छैन । पढ् बसेर ।"
दुवै एकसाथ भन्छन् र बेग्लाबेग्लै झर्किन्छन् । अनि आफ्नो कुराको प्रसंग सम्झेर दुवै फेरि मुखामुख हुन्छन् ।
"त्यो आएपछि म एउटा सारी किन्छु ल ? बाहिर निस्कन पनि लाजमर्नु भैसक्यो," ऊ झल्याँस्स विधातालाई सम्झिन पुग्छे ।
अनि सम्झिएरै फेरि भन्छे, "उनले यी रुपैयाँ फर्काउनु पर्दैन भनेका छन् ।"
आफ्नो थोत्रो जुत्ता सम्झिराखेको ऊ झस्केर सोध्छ, "किन ?"
"कुन्नि ? पप्लुमा जितेका रे, दिनु पर्दैन ।"
ऊ घोरिएर स्वास्नीतिर हेर्न थाल्छ । भनिसकेपछि ऊ पनि झस्केर लोग्नेतिर हेर्न थाल्छे । आफ्नो सारी किन्ने हिसाबको तानामाना मिलाउन खोज्दा उसको सुद्धि हराएछ- यसो भन्दा कसो पर्ला भनेर । ऊ देख्छे, लोग्नेको आँखामा परम्परागत पुरुष ठिंग उभिएको रहेछ । ऊ छोराहरुतिर हेरेर सहज हुन खोज्छे ।
"हामी माग्ने त होइनौँ नि !"
"घर व्यवहार भएको मान्छे माग्ने हुँदैन । अनि सापटी लिने चलन नौलो पनि होइन । सापटी लिने परम्परामा सकभर सापटी फर्काउने चलन पनि छैन- गाउँघरदेखि अन्तर्राष्ट्रियसम्म । अन्तर्राष्ट्रिय जगतमा कसले कसको सापटी फर्काएको छ र ? बरु त्यसको सट्टा केही भित्री कुरा गए जाओस् । भित्री कुरा गएको कसले देख्छ र ? आफूले मात्र बुझिन्छ, जानिन्छ, अनुभव महसुस गरिन्छ । बुद्धि बढेर आउँछ । बुद्धत्वले छुन-छुन आँट्छ । कन्तुरको इज्जत कन्तुरमै रहन्छ । माग्ने त भइँदैन !"
एसएलसी पास गरेर अखबार पढेको बुद्धिले यति तर्क गरेपछि ऊ टोलाइराखेको स्वास्नीतिर फर्केर फेरि सोध्छ, अघिभन्दा किञ्चित् कठोर स्वरमा, "हामी माग्ने त होइनौँ ?"
स्वास्नी दलिनभित्ता हेर्दैछे । उसलाई थाहा छ, यो लोग्नेमात्र होइन, लोग्नेमान्छे पनि हो । बहस गर्नु व्यर्थ छ । बरु झोला बोकाउनु बेस । अनि बल्ल खाली झोलाको शून्यमा लोग्नेमान्छे हराएर झोला बोकेको लोग्ने चतुर्भुज विष्णुझैँ ठिंग उभिनेछ ।
"उनको भन्ने काम, भने । फर्काइदिउँला । ल, यो झोला लेऊ । यी रुपियाँ पनि । दुई किलो चामल, दाल होला, साबुन छैन, तरकारी, आफूलाई चुरोट पनि ल्याउनू । कति ठूटो खाएको ? नखानू भन्छन् । टीबी हुन्छ रे !"
झोला हातमा परेपछि उसले पनि परिस्थिति बुझ्यो । तिर्छु भनेपछि मन कत्रो भएर आउँछ ! बुझ्ने होइनन् यिनीहरु । उसले खाली झोलाको झटारोले खाटमा उक्लिँदै गरेको साङ्लोलाई हिर्कायो ।
"ए, अँ सिमन्टी खोजिदिनू भन्थे…"
मैले काम पाएको छैन र ? सक्तिनँ म त्यो सालाको सिमन्टी लिमन्टी खोज्न ।
"किन चिच्याएको ? सुन्लान् क्या ! जसको खायो, उसैलाई गाली गर्नु त भएन !"
बाठो लोग्नेले फेरि कुरा बुझ्यो र चूप लाग्यो । चूप लागेपछि गुम्सियो र रन्थनिँदै झोला बोकेर बाहिरियो ।
"एफ आई एस एच फिस्, फिस् माने माछा !"
"आमा ख्वै माछा ?"
ऊ सडकमा आएपछि अनुहार छाम्छ, खस्रो लाग्छ । ब्लेड पनि किन्नुपर्ने । ऊ अझै रन्थनिएकै छ । तर सडकमा रन्थनिएर हिँड्नु भएन । किनभने कुनै रन्थनिएको वाहनसित जुध्न पुगिएला ।
एउटा ल्याम्पपोस्टनेर एकछिन उभियो । भएन, हुँदै भएन । ठ्याम्मै हिसाब मिलेन । बरु पचास माग्नुपर्ने रहेछ । के थाहा यति सजिलै पाइएला भन्ने । नत्र… ! कसरी आदर्शवादीहरुले भौतिकवादीहरुसित रुपियाँ खुस्काउँछन् कुन्नि ?
थाप्लोमाथि गुलुप रहेछ, राति बल्ने । अहिले त सूर्य बलिराखेको छ- झलमल्ल । प्रकाश आँखासम्म आइपुग्छ, भित्र पस्दैन । त्यहीँबाट रिफ्लेक्ट भएर चारैतिर छरिन्छ र सबै कुरा देखिन्छ । देख्छ, बीस रुपैयाँ घरखर्च- जतिसुकै आओस् र पाँच रुपैयाँ आफ्नो गोजीमा । माछा समात्न अफिस पनि त पुग्नुछ । यसरी माछाको निहुँको हिसाबले आफूलाई सन्तुष्ट पारेपछि ऊ ल्याम्पपोस्टको छायाबाट अगाडि लम्कन्छ । यति वैज्ञानिक ढंगले त उसको अफिसको एकाउन्टेन्टले पनि अडिटरलाई सन्तुष्ट पारेको थिएन होला । अडिटर र ऊ सन्तुष्ट हुने एउटै गाँठी त हो- गोजीमा पाँच रुपियाँ ।
अनुहार छाम्छ, खस्रै छ । दिक्क लाग्छ । पिउन गोकुलकी स्वास्नी, गाउँबाट आएकी कान्छीलाई फकाउन जाँदा पनि के यही अनुहार लिएर जानु ? छि:छि: यो त भएन ।
अनि कान्छी पनि गाउँघरका जुँघामुठेहरुको बल्छीबाट फुत्किँदा फुत्किँदा छल्न खप्पिस् भएकी रहिछ । उसको जालमा पर्दै पर्दिन । हरे राम ! गरिपलाई कतै सुख छैन । होस् खस्रै अनुहार ।
बीस रुपैयाँको जे जित आउँछ, किन्यो ।
अब गोजीमा पाँच रुपियाँ छ, उसको आफ्नो निजी सम्पति । यसैबाट अब रोबरवाफ, कर्म कुकर्म, धर्म अधर्म सबै गर्नु छ ।
पाँच रुपैयाँ छ । पुलकित छ ।
ऊ यस लाइनको सबैभन्दा राम्री साहुनीकहाँ पुग्छ चुरोट किन्न । साहुनी, होटेल क्लब पार्टीमा जाने डाँफे मुनाल जस्तो चराचुरुंगी त होइन तापनि भँगेरो फिस्टो त हो नै ।
"दशओटा गैँडा देऊ त साहुनी मैयाँ !" ऊ अर्थपूर्ण ढंगले मुसुक्क हाँसेर पाँचको नोट दिँदै भन्छ ।
साहुनी 'मैयाँ' शब्दले गर्दा झस्केर ऊतिर हेर्छे । ऊ पासो थापेर बसेको शिकारीझैँ चनाखो भएर साहुनितिर हेर्दैछ । साहुनीले उसको आँखा र हँसिलो अनुहारमा के देख्छे कुन्नि, बट्टा खोलेर छिटोछिटो दशवटा गैँडा चुरोट ऊतिर लम्काउँदै कन्तुरमा चानचुन खोज्न थाल्छे । ऊ दशवटा चुरोटको साथसाथै पाँचवटा औँला पनि तान्न खोज्छ, हुँदैन । साहुनी ध्यान चानचुन खोज्नतिर लागेकाले यो कुरातिर कुनै वास्ता हुँदैन ।
"चानचुन त छैन बाजे, अरु के चाहिन्छ ?"
'बाजे' ले उसलाई झस्काएर 'नाति' छेउ पुर्याउँछ । नातिझैँ मुसुक्क हाँसेर रवाफिलो स्वरमा अर्थपूर्ण दृष्टि दिँदै भन्छ, "भैगो, दिनु पर्दैन ।"
ऊ निधारमा गाँठो पारेर भन्छे, "किन ?"
किन ? ऊ अलमलिन्छ । ऊ अलमलमा परिराखेकै बेला साहुनीले पसलभित्रको सानो ढोकाबाट के भन्छे कुन्नि, एउटा लोग्नेमान्छे त्यहाँबाट गोजीमा हात हाल्दै बाहिर निस्कन्छ र चानचुन पैसा ऊतिर लम्काउँदै रिसाएको स्वरमा भन्छ, "लेऊ ।"
ऊ परिस्थिति नबुझेर नातिझैँ कल्पनामा रंगमगिँदै उस्तै रवाफिलो स्वरमा घोषणा गरेझैँ भन्छ, "भैगो भैगो, पर्दैन ।"
"किन पर्दैन बाज्या ?" भनेर उसले चानचुन पैसा भुइँमा छर्दै उसको खुइलिएको जर्किन समातेर मुन्ट्याइदिन्छ ।
पैसाको साथै झोलाका चीजबीजहरु पनि छरिएछन् ।
ऊ 'नाति' को प्रभावलाई मनमनै सराप्दै आफ्नो अनुभव बटुल्न थाल्छ ।
"के भो ? के भो ?"
मुन्टो उचालेर पुलुक्क हेर्दा उसलाई लाग्छ, त्यहाँ साहुनी मैयाँको सट्टा बजै मैयाँ ऊतिर हेरेर मुसुमुसु हाँस्दैछिन् । मानिसहरु बटुलिन्छन् । मात्र तमासा हेर्ने ।
('तिम्री स्वास्नी र म' कथा संग्रहबाट)
० ० ०
वेश्याको सपना र सुँगुरहरू
– मनु ब्राजाकी
मध्यान्ह छ ।
सुँगुरहरु भुइँ खन्दै छन् ।
दस–आठ जना केटाकेटीहरु यताउति छरिएका छन् । मानौं यी घर सजाउनका लागि होइनन् । फोहरमैलाका डङ्गुरहरु पनि यत्रतत्र थुप्रिएका छन् । यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन् । भुवा खुइलिएको थोत्रो गलैंचाझैँ कताकतै सुकेका दुबोका टाटाहरु छन् । दुईवटा सम्पूर्ण पात झरेका रुखहरु पनि जिङ्ग्रिङ्ग गरेर एकातिर ठडिएका छन् ।
एउटा नाला पनि छ, टन्न कालो लेदोले भरिएको । उसले यी सबै कुरा हेरिसकेपछि सुँगुरलाई हेर्न थाली । यी सुँगुरहरु पनि त्यो नालामा बस्न मन पराउँछन् । एकदिन एउटा पाठो पसेको थियो, फेरि निस्किएन । ऊनेर आउने दुईखुट्टे सुँगुरहरु पनि हिजोआज उसलाई यही नालाजस्तै सम्झिएर तर्किन्छन् । ज्यादै भोकाएका र मातेका सुँगुरहरु भने आइपुग्छन् । बेसुरमा भुइँ खन्छन् । कन्दमूल केही पाउँदैनन् र त होला भोलिदेखि सुँगुर देखा पर्दैनन् । ती भोलि फेरि अर्कै थरीका सुँगुर देखा पर्छन् । शायद कुनै बारीमा पसेर सखरखण्ड र मुला उखेल्न नपाएर ।
झ्यालसम्म आएको घाम जुनेली जस्तो छ । ३ बज्यो । माघ ५ गते । संवत् २०४० साल । उसले चुरोट सल्काई र अर्को झ्यालतिर फुकी ।
केटाकेटीहरु अझैं फोहरमैलाको डङ्गुरमा के-के खोज्दैछन् । आडैमा ठूलाबडाहरुको ठूलो टोल छ । त्यसो हुनाले केही प्राप्तिको आशा छ । यी पनि सुँगुरका पाठाहरु हुन् । कुन सुँगुर ? थाहा छैन । होला कतै आफ्नै खोरमा बसेको । यहाँ त जति पनि सुँगुरहरु आउँछन्, नामै नभएका अथवा घर, अफिस र पुरेतकहाँ छाडेर आएका ।
उसले एउटा कागजको टुक्रा धुजामुजा पारी र टुक्राहरुमध्ये अलिकति टिपेर जोर मिलाउँदै भुइँमा राख्न थाली । सबै जोर भए भने ग्राहक आउँदैन, बिजोर भयो भने आउँछ । अन्तमा उसको हातमा एउटा टुक्रा रहन्छ । आज ग्राहक आउँछ ।
संवत २०३० साल भाद्र २० गते । ऊ यहाँ आएकी थिई, स्वास्नी बनेर रत्न बहादुरकी । छिट्टै रत्न हरायो । बहादुर मात्र बाँकी रह्यो । अनि ऊ आफू जो फूलमाया थिई, बाट पनि छिट्टै झरेर माया बाँकी रह्यो । बहादुरले शीघ्र परिवर्तन ल्याएको हुँदा उसको मात्र जातिवाचक नाम रह्यो अर्थात् फूल रहेन, नीलडाम रह्यो ।
ऊ त्यसताका सस्तै खालको भए पनि अनेकौं थरीका सुगन्ध बोकेर हिँड्थी । उसका ग्राहकहरु उसलाई सुगन्धित वायुका झोंकाहरुले चिन्ने गर्थे । ह्विस्कीमा बुड्थी, कारमा गुड्थी, होटलमा अनेकन परिकार खान्थी ।
परिचयको संसार विशाल थियो- झुटै भए पनि ।
“तिम्रो नाम के हो ?” थाहा छ यहाँ कसैको नाम हुँदैन भनेर ।
“माला ।” फूलमायाभन्दा यै नाम आकर्षक छ ।
“कति मीठो नाउँ । घर कहाँ हो ?” ग्राहक भावुक होइन ।
“पोखरा । जानु भा’छ ?” कहिलेको उत्तरमा विराटनगर आउँछ, कहिले पाल्पा ।
“गएको छैन,” तर ऊ पोखराको रैथाने हो ।
“तपाईंको घर नि ?” मतलब छैन तापनि ।
“नेपालगन्ज ।” जहाँ ऊ कहिल्यै पुगेको छैन ।
“के गर्नुहुन्छ ?” ग्राहकको मोटाइको अन्दाज ।
“बिजनेस ।” जुन उसका बाउ पुर्खा कसैले गरेनन् ।
“घरमा स्वास्नी पनि होली ?” सबैभन्दा वाहियात प्रश्न ।
“तिमी जस्ती छैन ।” सबभन्दा झुटो उत्तर ।
सबैभन्दा शाश्वत र सत्य रुपियाँ हो र त्यो ग्राहकको पर्समा छ, जसलाई निकाल्नु उसको अधिकार र कर्तव्य दुबै हो ।
ग्राहकले झोलुवा मगाउँदा उसले सेकुवा र भुटुवाको अडर गर्थी । ग्राहकले नेपाली चुरोट खाँदा ऊ बेलायती मगाउथी । ग्राहकले सयकडाको कुरा गर्दा ऊ हजारको अत्तो थाप्थी । ग्राहक उसको दृष्टिमा नितान्त भेडा थिए, जसलाई मुड्नु उसको कर्तव्य थियो । अन्यथा रत्नहीन बहादुरले उसको फूलहीन नामलाई नीलडाममा परिणत गर्न बेर लाउँदैनथ्यो ।
पोहोर साल ऊ मर्यो अथवा मारियो । तिनीहरुबाटै, जसलाई उसले लिएर आउने गरेको थियो ।
“हिँड् यार, आज रत्नेलाई समातौँ ।” मातेको छ ।
“सारै बार्गेनिङ गर्छ, अन्तै जाऊँ ।” अलिकति दुनियादारी अझैं बाँकी छ ।
“साला ब्रोकरले बार्गेनिङ तेरो बाउले गर्छ ?” थ्रिलायन्समा ठर्रा पनि थप भएको छ ।
“सबैका बाउ ब्रोकर हुन्छन् यदि तेरी बहिनीजस्ती राम्री छोरी घरमा भए भने ।” यहाँ भने ठर्रामा थ्रिलायन्स थप भएको छ ।
“साला दार्शनिक नबन् ।”
“आज पर्स खाली छ यार ।”
“छ न त मसित पनि छैन । तर, साला रत्नेले धेरै ठगेको छ, हिँड् ।”
संवत २०३९ साल । पुस ७ गते । समय २४ बजे । दुवै रत्नेको ढोकामा उभिन पुगेका थिए । परम्पराअनुसार रत्नेले चिन्ने उत्सुकता देखाएन । परिचयमा बार्गेनिङ धेरै हुन सक्दैन ।
“माला ख्वै ?”
“आज छैन हजुर । साहबसित बाहिर गएकी छे ।”
“कुन साला साहब ? तैँले हामीलाई चिनिनस् ?”
रत्नेले नचिनेको भाव देखायो ।
“म हुँ ड्यानियल फ्यान्टम अनि यो हो जेम्स बन्ड ।”
तैपनि रत्ने चटपटाएन । अनि त दुबैले औँठी लगाएको मुड्कीले रक्सी खाँदाखाँदा निर्बल भएको बहादुरलाई गोद्न थाले । जेम्स बन्डले ‘अब भैगो’ भन्दाभन्दै फ्यान्टमले गर्दनमा कराँते चाप हानिहाल्यो । बिचरा रत्नबहादुर । त्यसदिन ऊ रोएकी थिई । साँच्चै रोएकी थिई ।
त्यो दिनपछि ऊ एक्ली भई, फूलपात सबैझरेर जिङ्ग्रिङ्ग ठडिएको बोटझैं, जसमा चराचुरुङ्गी, भमरा, पुतली केही बस्तैन । यो समाजमा अत्यन्त दुःख दिने पापी पुरुष पनि फोहर पुछेको काठजस्तै काम लाग्ने हुँदो रहेछ । त्यो रत्ने, जोसँग बसेर उसले भविष्यको रङ्गीन सपना देखेकी थिई, त्यो रत्ने, जोसँग प्रतिदिन चितामा डढेर बिपना भोगेकी थिई, आज नहुँदा पेट पाल्न गाह्रो भैराखेको छ ।
आज धेरै दिनपछि उसले आफ्नो भाइलाई सम्झी । बाह्र–तेह्र वर्षको अबोध भाइ सौतेनी आमाको निरन्तर झम्टाबाट जोगिन मधेस झरेको, बेपत्ता भयो । त्यसको केही वर्षपछि ऊ पनि रत्नबहादुरसँग यहाँ आएकी थिई, सुखी भविष्यको सपना बोकेर । पापी रत्ने पनि आफ्नो सम्पूर्ण बहादुरी देखाएर यो संसारदेखि बिदा भयो ।
असङ्ख्य पटक आफ्ना सपना भङ्ग भए पनि उसले सपना देख्न छोड्न सकिन । कल्पना र सपना मानिसका यिनै दुईवटा अमूल्य रत्न हुन्, जसमा कुनै बहादुरी छैन, कुनै यथार्थ छैन । कसैले खोस्न सक्दैन, जति खर्च गरे पनि रित्तिँदैन । आत्माजस्तै आजभोलि कल्पना र सपना पनि उपेक्षित र हाँस्यास्पद ठहरिएका छन् ।
सूर्य डाँडाको थाप्लोमाथि ओर्लिन थाले पनि घाम अझै उसैसँग झ्यालमा बसेको छ । थैलीबाट एउटा क्याप्सुल रेस्टेक्लिन झिकेर खाई । इन्जेक्सन दिन आज कम्पाउन्डर आउँछ कि आउँदैन ? बिजोर भएको थियो, ग्राहक पनि आउनुपर्ने ।
झन्डै एउटा पाठो नालामा नझरेको ।
केही महिनाअगाडि भाइटीकाको दिन ऊ भावुक भएकी थिई ।
उसको भावुक हुने दिन नै यही हो । अरु दिन उसले भावुक हुने फुर्सद पाउँदिन । भावुक हुँदा कल्पना गर्न र सपना देख्न फुर्सद चाहिन्छ । अन्यथा अगाडि जे आईपर्छ, त्यसैलाई भोग्दै जानुनै जीवन भएको छ ।
प्रतिवर्षझैं गत भाइटीकाको दिन पनि ऊ झ्यालमा बसेर सपना देख्तै थिई । अनि प्रतिवर्षझैँ टपरीमा फूलमाला, टीका र सेलरोटी सजाएर बसेकी थिई । मानिसहरु तल बाटोमा रङबिरङका टीका निधारमा टाँसेर, गलामा दूबो र फूलका माला झुन्डाएर ओहोरदोहोर गर्दै थिए । जताततै जुवाको खाल जमेका थिए ।
सूर्य अस्ताउना साथ उसको घर अगाडिको पहेँलो बिजुली उदायो ।
लरखराउँदै र धरमराउँदै युवक माथि उक्लियो । उसका छाया पनि ऊसँगै लरखराउँदै थियो । उसलाई देखेर फूलमाया एक्कासि झस्किई । दुरुस्तै आफ्नो भाइजस्तो लाग्यो उसलाई । उस्तै छलछन्दविहीन अनुहार, उस्तै झ्याम्म परेका आँखीभौँ र उस्तै हँसिलो अनुहार ।
आज उसको नौनीको डल्लोजस्तो हृदय पग्लेर उसको सम्पूर्ण चेतनालाई स्नेहले ढाक्न थाल्यो । त्यस स्निग्धतामा उसको व्यापारिक विवेक चिप्लिएर आत्मीयताको खाडलमा लड्यो । अनि आद्र र स्नेहपूर्ण दृष्टि लिएर उठी र त्यही युवकको दुवै हात समातेर आफ्नो खाटमा बसाली ।
“साला हारियो निक्कै…माला । हारे पनि…..”
ऊ चुप लाग्यो । फूलमायालाई आश्चर्य लाग्यो, उसले नाम पनि जानेको रहेछ । ऊ कहिल्यै यहाँ आएको जस्तो त लाग्दैन । भलाद्मी, भ्रष्टचारीझैं उसको पनि नाम चलेकै रहेछ ।
“बाबू, म तिमीलाई टीका लगाईदिउँ है ? आज भाइटीका हो ।” ऊ अत्यन्त भावुक भएर ऊतिर हेर्दैछे । ऊ भने आफ्नो मातले चिम्रिएका आँखा खोल्न प्रयत्न गर्दैछ ।
उसले टपरी अगाडि राखेर सबै विधि पुर्याउन्जेल त्यो युवक ऊतिर वाल्ल परेर हेरिराख्यो । माला लगाइदिएर जसै उसले स्नेहपूर्वक युवकको गालामा म्वाइँ खाई, त्यो बुरुक्क उफ्रियो र उसका सबै लुगा कुखुराले भुत्ल्याएझैँ भुत्ल्याएर फ्याँक्तै बरबराउँदै भन्न थाल्यो, “तेरो रेट बीस ह्वैन ?…रेट ।”
उसले चोलो खोल्ने कष्ट पनि गरेन, सबै टाँकहरु छिनालेर उदाङ्गो पार्यो । अनि कुखुराले झैँ एकछिन भ्याटभ्याट गरेर सफाइसाथ बेग्लियो ।
बाहिर सुँगुर र भित्र युवक दुवै धरती खन्दै थिए ।
बिस्तारै उसको चेतना सपनाको सिँढीबाट ओर्लिदै थियो ।
ऊ सर्वाङ्ग नाङ्गी थिई तर युवकले फ्याँकेका दस-दसका दुइवटा नोटले उसको इज्जत ढाकेको थियो । अब त्यहाँ युवक थिएन, थियो ढोका, जो ऊतिर वाल्ल परेर मुख बाएर हेर्दै थिए ।
सूर्य डाँडाँपछाडि झरिसकेछ ।
ऊ सपनाबाट बिउँझेर वर्तमानमा आईपुग्छे । कम्पाउन्डर इन्जेक्सन दिन किन आएन अहिलेसम्म ? आउला । तीन पटक गोनोरियाग्रस्त भइसकेकी थिई भने त्यस दिन टीकोटालो गरेको भाइले दिएको सिफलिस अझै ऊसँग छ । नौलो स्नेहोपहार ।
बिजोर भएको थियो, ग्राहक आउला ।
(ब्राजाकीको कथासंग्रह ‘तिम्री स्वास्नी र म’ बाट) ।
० ० ०
अन्नपूर्णाको भोज
- मनु ब्राजाकी
दुई किलो माछा लिएर ऊ आइपुग्यो । घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो । सधैं कति खसीको निहुँले राँगो खानु ? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो ।
"अन्नपूर्णा, ए अन्नपूर्णा ! लु हेर् त, के ल्याएँ आज ।"
अन्नपूर्णा देखा परी । भव्य भएको भग्नावशेषझैं देखा परी ।
रूप थियो होला कहिले, अहिलेचाहिँ त्यसैको सम्झना छ । जे जति छ, यौवन पूर्णतः विगत नभइसकेकाले आकर्षक नै छ । खण्डहरको कुनै एउटा कोठामा बिजुली चम्केझैं ऊ लोग्नेको स्वागतार्थ मिलिक्क हाँसी । उसको डल्लो र पहेँलो अनुहार प्रदीप्त भयो । लोग्नेले देखेन ।
उसले देखी— लोग्नेको दाहिने हातको पोलिथिन झोलामा चारवटा काला–काला माछा छन् । अर्को हातको झोलामा के छ कुन्नि !
"किन ल्याउनुभा'को यत्तिका माछा ?" उसले आँखा चिमचिम पार्दै सोधी ।
'आज भोज गर्ने' भन्दै उसले अन्नपूर्णाका हातमा माछाको झोला दियो । 'आज दीपावली गर्ने' भन्दै अर्को झोलाबाट मैनबत्तीका बन्डल झिकेर टेबुलमाथि राख्यो । अनि त्यही झोलाबाट दुई बोतल घरपालुवा रक्सी झिकेर दराजमा राख्दै 'आज उत्सव मनाउने' भन्यो । अनि लगत्तै पछि फर्किएर स्वास्नीका चिमचिम गर्दै गरेका आँखातिर लक्ष्य गर्दै भन्यो, "हैन, सुतेकी थिइस् कि क्या हो?"
"केको सम्साँझै सुत्नु ? तपाईंका सुरुवाल सिउँदै थिएँ ।"
"सुरुवाल ?" उसले एक्कासि हिजोको कुरा सम्झियो ।
हिजो बिहान ऊ तरकारी किन्न जाँदा आफ्नी स्वास्नीभन्दा आकर्षक साहुनी हाँसेकी थिई । ऊ झन् जोडतोडले हाँसेको थियो । साहुनीको हाँसोको गुलियो चाट्दै घर फर्किएर आइपुग्दा अन्नपूर्णा पनि हाँसेकी थिई । अकारण स्वास्नी हाँसेपछि ऊ झस्कियो ।
"के भो? किन हाँसेकी यस्तरी ?" उसले विस्मित हुँदै सोध्यो ।
अन्नपूर्णा आँखा चिमचिम पार्दै झन् जोडतोडले हाँस्न थालेकी थिई, "के मान्छे तपार्इं त, लुगा लगाउँदा विचार त पुर्याउनुपर्छ । एक त उल्टो सुरुवाल लगाउनुभा'छ, त्यसमाथि एउटा खुट्टामा घुँडादेखि काछसम्म साप्रा देखिने गरी उध्रेको छ ।"
त्यस बेला उसलाई साहुनीको हाँसो चकलेट चपाएको जस्तो होइन, खुर्सानी चपाएझैं भएको थियो । हुन पनि ऊ नयाँ संविधानको प्रतीक्षा गर्दागर्दा अनेकौं शंका उपशंकाको ऊहापोहमा परेर त्यस्तो हास्यास्पद स्थितिमा पुगेको थियो ।
तर, संविधान सकुशल आयो ।
ऊ पनि अहिले वर्तमानमा आएर स्वास्नीलाई भन्छ, "छोड्, के आँखा दुखाइरहेकी ! नयाँ सुरुवाल हालौंला ।" अनि उसको दृष्टि स्वास्नीका लुगाहरूतर्फ गयो । विगत रूपयौवनसम्पन्न स्वास्नी माकुराको जालैजालोले आवृत खण्डहरझैं अगाडि उभिएकी छे । भग्नावशेषको एउटै सग्लो कोठाजस्तो अनुहार पनि धुलाम्मे छ । कतै साजसज्जा छैन । रंगरोगन छैन । शृंगार–सजावट छैन । कहाँसम्म भने झिलिमिली बुट्टे पर्दा पनि छैन । गोर्खालीले वीरतापूर्वक विनाश गरेको तराईको जंगलझैं प्रकृतिवत् उजाड छ । यी कुरा सोचेर उसले केही भन्न आँटेको थियो, अन्नपूर्णाले उछिनी, "सुरुवाल उसै आउँछ कि क्या हो ? अन्तरिम सरकारले सबैलाई सुरुवाल हाल्दिँदैन होला त ! अनि यी यतिका चीजबीज कसरी ल्याउनुभो ?"
"हे—हे—हे, नरिसा । अलिकति उधारो अलिकति सापट गरेँ । नयाँ संविधान आएपछि भोज ख्वाउँछु भनेर साथीहरूलाई भनेको थिएँ । पुर्याउने तँ नै होस् । त्यसै हुनाले त म तँलाई अन्नपूर्णा भन्छु नि !"
साँच्ची नै उसको नाम अन्नपूर्णा होइन । राशिअनुसार उसको नाम डोलकुमारी हो । बोलाउने नाम डल्लो अनुहारले गर्दा डल्ली भइहाल्यो । घर चलाउने कुशलताले गर्दा लोग्नेका लागि ऊ अन्नपूर्णा भई । सरसापट, ऐँचोपैंचो र उधारोपुधारोको कूटनीति गर्न हिँड्दा कति कुदृष्टि र कुवचन भोग्नुपर्छ, कति अवाञ्छित सहानुभूति सहनुपर्छ भन्ने कुरा लोग्नेलाई के थाहा ? जे होस्, आजको दिन उसले लोग्नेलाई कुँड्याउन चाहिन । अतः आँखा चिमचिम पारेर हाँस्दै भनी, "कतिजना आउने हुन् ?"
"एहे, तँ रिसाएकी छैनस् ? आज खुसीको दिन हो नि ! चारजना आउँछन्, मात्रै चारजना । एक किलो माछा तार्नू अनि एक किलो झोल पार्नू, भातसित खान ।"
"अनि एक किलो ?"
"जम्मा दुई किलो नै त छ ।"
"किलोका किलो लगाएर बोलेकाले सोधेकी ।"
"आज भोज हो नि! सधैं के पाउका कुरा गर्नु त ? अनि यो भोज तेरै हो, अन्नपूर्णाको भोज ।"
डल्ली अर्थात् डोलकुमारी नाउँ गरेकी अन्नपूर्णाले सोची— कस्तो अबोध लोग्ने हो यो? मासु होइन कि ल्याउनासाथ जस्ताको त्यस्तै ओइरियो । यो त माछा हो, बनाउँदाओर्दा दुई किलो घटेर डेढ किलोमात्र रहन्छ । तर लोग्नेको मन खिन्न पार्न उसले केही भनिन ।
लोग्ने उल्लसित हुँदै भन्दैछ, "अनि हेर्, अन्नू, आज तेरो यो चासोचाहिँ भएन ।"
उसले स्वास्नीको ठाउँठाउँमा च्यातिएको र टालेको साडी–चोलो देखेर ओरालो लागेको मनले अड्कीअड्की भन्यो, "तीजमा हालेको सारी–चोली झिक् न । जा, पहिले हातमुख धोईवरी लुगा फेरिहाल् । अहिले पाँच बज्यो, छ बजेसम्म साथीहरू आइपुग्छन् । इज्जत त जोगाउनैपर्यो ।"
यतिबेलै सातवर्षे छोरी र पाँचवर्षे छोरो आएर 'बुबाले माछा ल्याउनुभो । बुबाले माछा ल्याउनुभो' भन्दै झोलाबाट माछा झिक्न थाले ।
लोग्नेको कुरा सुनेर अन्नपूर्णाले एकपटक पुलुक्क ऊतिर हेरी अनि छोराछोरीका हातबाट माछा खोसेर भान्सातिर लागी ।
ऊ सुसेल्दै लुगा फेर्न थाल्यो ।
छ बज्दा नबज्दै साथीहरू आइपुगे ।
भित्र माछा तारेको गन्ध बाहिरसम्म आइरहेछ ।
छोरी र छोराले मैनबत्ती बालेर झ्याल–झ्यालमा ठड्याइसके ।
भविष्य यिनीहरूकै उज्ज्वल हुने त हो ।
सन्तोष भट्टराईले हात मिलाउँदै भन्यो, "क्या हो मनुवा यो मुसुमुसे गन्ध ?"
ज्ञानुवाकरले हात मिलायो, "यसको साथमा अर्को झोलिलो सुगन्ध पनि होला नि !"
विमल निभाले हात मिलायो, "म त माछाको झोलमात्र खाने ।"
किशोर नेपालले हात मिलायो, "उसो भए जनआन्दोलनको चोक्टाजति मेरै भागमा परोस् ।"
चारैजना उत्फुल्ल भएर हाँसे । उसले अलि व्यथित स्वरमा हाँसो नियन्त्रित गर्दै भन्यो, "आज कुमुद देवकोटा भइदिएको भए, कति रमाइलो हुने थियो । तर त्यो पनि मान्छे त मनमोजी हो, मन लाग्यो हिँडिदियो । हुन त आउँदा पनि कसैसित सोधेर आएको थिएन ।"
सबै बैठक भनाउँदो बैठकमा बसे । अर्थात्, सुकुलमाथि दरी, दरीमाथि तन्ना र तन्नामाथि चकटीमा सबै बसे ।
साथीहरू आइपुगेको थाहा पाएर अन्नपूर्णा पनि बैठकमा आई र आँखा चिमचिम पारेर हाँस्दै सबैलाई नमस्कार गरी । सबैले 'अहो, भाउजू त मोटाउनुभएछ' भने । उसले पनि डोलकुमारी नामक डल्लीलाई मोटाएको देख्यो । 'राम्री' भन्न नसकेर मोटाएको भन्ने मित्रहरूको आशयलाई हृदयंगम गरी उसले स्वास्नीलाई राम्री पनि देख्यो । हुन पनि स्वास्नीलाई मित्रहरूको दृष्टिबाट हेर्दा नै राम्री देखिन्छे । यसर्थ मित्रहरूको यो गुन प्रत्येक लोग्नेले मान्नुपर्छ ।
थालभरि तारेको माछा आइपुग्यो । उसले दराजबाट बोतल र गिलास झिक्यो ।
तारेको माछासित रक्सी चल्न थाल्यो । एकछिन यो कुरामा गलबदी भयो– जनआन्दोलनताक सहिदहरूले रगत बगाएर ल्याएको बहुदलीय व्यवस्था र संविधानलाई हामीले रक्सी बगाएर स्वागत गर्न हुन्छ कि हुँदैन ? यस गलबदी अनन्तः नै दुईदुई पेग रित्तिइसक्या हुनाले यो समस्या नेपालीत्वपूर्ण ढंगले समाधान भयो ।
अब राजनीति चल्न थाल्यो ।
"प्रजातन्त्र भनेको ...।"
"हैन, के अब हामी अझै पनि प्रजा नै छौं र ? कि लोकतन्त्र भन, कि जनतन्त्र ... ।"
"नयाँ जनवाद भनेको ...।"
नयाँ जनवाद हैन क्या, नौलो जनवाद ... ।"
"मार्क्सवाद मरिसक्यो ... ।"
"दर्शन मर्दैन । मानव चिन्तनको शृंखला ... ।"
"ए बाबा, मरेको हात्ती पनि सवा लाखको हुन्छ ...।"
"सामन्ती संस्कार बोकेका पनि प्रजातन्त्रवादी ... ।"
"सामन्तीसमेत प्रजातन्त्रवादी ... ।"
"माछा पाऊँ न भाउजू, साह्रै मीठो ...।"
"ग्रास्सीले भनेका थिए कि ... ।"
"बर्नस्टिनले भनेका थिए ... ।"
"ज्याँ फ्रास्वाँ रेवलको नो जिसस नो मार्क्स ... ।"
"करपात्रीको रामराज्य र मार्क्सवादले ... ।"
"युरो कम्युनिजम कता गयो ... ।"
"पानइस्लामिक अर्गनाइजेसन ... ।"
"आहा, माछा क्या मीठो ! थपौं अरू भाउजू ... ।"
"ल, सन्तोष भट्टराई अब भटभटाउन थाल्यो ... ।"
"ज्ञानुवाकर त पूरै जनीवाकर देखिन ... । "
"आफू नि आफू ... ।"
"लौ, विमल निभा त माछाको झोलमै निभ्न थाल्यो ... ।"
"यो किशोर झुत्रे सम्पादक कसरी ... ।"
"जा~~, छोडौं यो कुरा ... ।"
"सहिदहरूको रगत ... ।"
"रक्सी थप् न यार, छैन भने ... ।"
"भाउजू, माछा ... ।"
छोरा र छोरी दुवै ढोकाका दुई छेउमा उभिएर भविष्यझैं बैठकभित्र हेर्दै छन्— हातमा लिएको माछा खान पनि बिर्सिएर । उसले यिनीहरूलाई टाउकोमात्र दिनू भनेको हुनाले उनीहरूका हातमा एक–एकवटा माछाको टाउको छ ।
राजनीति अझै चल्दैछ । तेस्रो बोतल अन्नपूर्णाको सौजन्यबाट आइपुग्यो ।
"चुनाउ मिलेरै लड्नुपर्छ ... ।"
"भोट माग्दा खुसुक्क आफूलाई मात्र ... ।"
"तिमी कसलाई दिन्छौ ?" ज्ञानु ।
"तिमी कसलाई दिन्छौ ?" सन्तोष ।
"तिमी कसलाई दिन्छौ ?" विमल ।
"तिमी कसलाई दिन्छौ ?" किशोर ।
"तिमी कसलाई दिन्छौ ?" ऊ ।
"तपाईं कसलाई भोट दिनुहुन्छ भाउजू ?" उसलाई छोडेर मित्र समुच्चय ।
"जता बाबुहरूले भन्नुहुन्छ ।"
"हाम्रै कुरा नमिलेर त भाउजूलाई सोधेको । अब यो संविधानले नारीलाई पूरापूर हक दिएको छ । प्रत्येक पार्टीले पाँच प्रतिशत महिला सदस्य राख्नैपर्छ ।"
"बाबुहरूलाई अब खाना ल्याऊँ क्यारे ।"
अन्नपूर्णा फरक्क फर्केर गई । अन्नपूर्णाले के भन्ली भन्ने उसको उत्सुकता सेलाएर गयो । घर धान्ने अन्नपूर्णाले बडो विचित्र प्रकारले यो समस्या समाधान गरी । सबै स्वास्नीहरू यस्तै हुन्छन् क्यारे—मतभेदमा आफ्नो मन्तव्य दिन कुशलतापूर्वक तर्किने ।
आफ्नो कुनै चेतना, चिन्तन र मन्तव्य नहुनु त मनुष्य नहुनुसरह हो । के स्वास्नी हुनु अमानवीय हो?
तर स्वास्नीमान्छेहरूमा लोग्नेमान्छेझैं नै विधिवता हुन्छ । अनि किन स्वास्नीमान्छेलाई स्वास्नी बनाएर अमानवीय र निष्ठुरी बनाइँदैछ? सोध रामालाई !
मैनबत्तीहरू निभिसकेछन् । बिजुलीको झालर झुन्ड्याएको भए पो बलिराख्थ्यो । सके घिउको दियो रातभरि बाल्न सके पनि हुन्थ्यो । सके ।
खाना आयो । अन्नपूर्णाले अतिथिपरायणताको गृहिणीसुलभ उमंगसाथ थपीथपी सबैलाई माछा–भात खुवाई ।
खाँदाखाँदै एक्कासि सन्तोष चिच्यायो, "गुराँस ! गुराँस ! गुराँस !"
"के भो ? के भो ?"
"ए, माछाको काँडा गलामा अड्कियो ? गुराँस भनेर जाँदैन । छोड् यो रुढिवादी तरिका, निस्तो भातको डल्लो निल् ।"
भोजनोपरान्त देश र समाजको उज्ज्वल र सुखद भविष्यको कामना गर्दै सबै बिदा हुन थाले ।
सन्तोष भट्टराईले काँडा निलेको खुसीमा हात मिलायो । ज्ञानुवाकर पौडेलले अन्नपूर्णातिर हेर्दै 'खण्डहर नयाँ–नयाँ' गुनगुनाउँदै हात मिलायो । विमल निभाले निभ्दै–बल्दै हात मिलायो । किशोर नेपाल उर्फ झुत्रेले टाईको नट कस्दै हात मिलायो । अन्ततः सबैले अन्नपूर्णा भाउजूलाई आफ्नो मत आफूसँगै सुरक्षित राख्ने सल्लाह दिए । ऊ फिस्स हाँसी ।
सबै गएपछि उसले बाँकी रहेको रक्सी आफ्नो गिलासमा हाल्यो ।
"अझै खाने ?"
"अलिकति । केटाकेटीहरू सुते ?"
"सुते ।"
"अब तँ खा ।"
जुठा भाँडा बटुलेर अन्नपूर्णा भान्सातिर हिँडी । ऊ रक्सी खान थाल्यो । खाँदै सोच्न थाल्यो— घरेलु बजेट सन्तुलन कसरी मिलाउने? गुजमुजिएको गोली–धागोझैं यता तान्यो, उता अल्झिने, उता तान्यो यता अल्झिने । मातमा उसको सोचाइ लरखराउँदै छ । जता जान्छ उतै अल्झिन्छ । झर्केर उसले सोच्न बन्द गर्यो । अन्नपूर्णा घरमा छँदाछँदै किन मगज दुखाउनु, यै आत्म–आश्वासनका साथ ऊ पिसाब फेर्न उठ्यो ।
सुत्ने कोठानेर पुग्दा देख्यो— छोराछोरी सुतिसकेका रहेछन् । तर, भान्सानेर पुग्दा उसले अन्नपूर्णालाई देखेर पिसाब फेर्न बिर्सियो ।
डल्ली अर्थात् डोलकुमारी नाउँ गरेकी अन्नपूर्णा जुठा भाँडाहरूमध्ये पिर्कामा बसेर अघिल्तिरको रिकापीबाट एक मुठी फुको चिउरा निबुवाको पुरानो अचारसित बुक्याउँदै रहिछे । फुको चिउरा र अमिलो अचारले कुँडिएका दाँत पखाल्न रिकापीछेउ एक अम्खोरा पानी छ । परेला ढल्काएर चिउरा चपाइराखेकी हुनाले अन्नपूर्णाले उसलाई देखिन । उसले भान्साभित्रको यो दृश्य हेर्न नसकेर बाहिरतिर हेर्न थाल्यो । सम्पूर्ण सहर–बजार नयाँ संविधान आएको उत्सवमा झिलिमिली थियो । उसले मन थाम्न नसकेर फेरि भित्र हेर्यो । टोलाएर हेर्दै रह्यो ।
अन्नपूर्णाले मुखको स्वाद फेर्न जसै माछा पकाएको कराहीको बिटमा जमेको फिँज चाटी, उसको मगजमा काँडाझैं एउटा प्रश्न आएर रोपियो— के स्वास्नीहरूको मत सुरक्षित छ ?
(ब्राजाकीको 'अन्नपूर्णाको भोज' कथासंग्रहबाट)
० ० ०
वेश्याको सपना र सुँगुरहरू
– मनु ब्राजाकी
मध्यान्ह छ ।
सुँगुरहरु भुइँ खन्दै छन् ।
दस–आठ जना केटाकेटीहरु यताउति छरिएका छन् । मानौं यी घर सजाउनका लागि होइनन् । फोहरमैलाका डङ्गुरहरु पनि यत्रतत्र थुप्रिएका छन् । यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन् । भुवा खुइलिएको थोत्रो गलैंचाझैँ कताकतै सुकेका दुबोका टाटाहरु छन् । दुईवटा सम्पूर्ण पात झरेका रुखहरु पनि जिङ्ग्रिङ्ग गरेर एकातिर ठडिएका छन् ।
एउटा नाला पनि छ, टन्न कालो लेदोले भरिएको । उसले यी सबै कुरा हेरिसकेपछि सुँगुरलाई हेर्न थाली । यी सुँगुरहरु पनि त्यो नालामा बस्न मन पराउँछन् । एकदिन एउटा पाठो पसेको थियो, फेरि निस्किएन । ऊनेर आउने दुईखुट्टे सुँगुरहरु पनि हिजोआज उसलाई यही नालाजस्तै सम्झिएर तर्किन्छन् । ज्यादै भोकाएका र मातेका सुँगुरहरु भने आइपुग्छन् । बेसुरमा भुइँ खन्छन् । कन्दमूल केही पाउँदैनन् र त होला भोलिदेखि सुँगुर देखा पर्दैनन् । ती भोलि फेरि अर्कै थरीका सुँगुर देखा पर्छन् । शायद कुनै बारीमा पसेर सखरखण्ड र मुला उखेल्न नपाएर ।
झ्यालसम्म आएको घाम जुनेली जस्तो छ । ३ बज्यो । माघ ५ गते । संवत् २०४० साल । उसले चुरोट सल्काई र अर्को झ्यालतिर फुकी ।
केटाकेटीहरु अझैं फोहरमैलाको डङ्गुरमा के-के खोज्दैछन् । आडैमा ठूलाबडाहरुको ठूलो टोल छ । त्यसो हुनाले केही प्राप्तिको आशा छ । यी पनि सुँगुरका पाठाहरु हुन् । कुन सुँगुर ? थाहा छैन । होला कतै आफ्नै खोरमा बसेको । यहाँ त जति पनि सुँगुरहरु आउँछन्, नामै नभएका अथवा घर, अफिस र पुरेतकहाँ छाडेर आएका ।
उसले एउटा कागजको टुक्रा धुजामुजा पारी र टुक्राहरुमध्ये अलिकति टिपेर जोर मिलाउँदै भुइँमा राख्न थाली । सबै जोर भए भने ग्राहक आउँदैन, बिजोर भयो भने आउँछ । अन्तमा उसको हातमा एउटा टुक्रा रहन्छ । आज ग्राहक आउँछ ।
संवत २०३० साल भाद्र २० गते । ऊ यहाँ आएकी थिई, स्वास्नी बनेर रत्न बहादुरकी । छिट्टै रत्न हरायो । बहादुर मात्र बाँकी रह्यो । अनि ऊ आफू जो फूलमाया थिई, बाट पनि छिट्टै झरेर माया बाँकी रह्यो । बहादुरले शीघ्र परिवर्तन ल्याएको हुँदा उसको मात्र जातिवाचक नाम रह्यो अर्थात् फूल रहेन, नीलडाम रह्यो ।
ऊ त्यसताका सस्तै खालको भए पनि अनेकौं थरीका सुगन्ध बोकेर हिँड्थी । उसका ग्राहकहरु उसलाई सुगन्धित वायुका झोंकाहरुले चिन्ने गर्थे । ह्विस्कीमा बुड्थी, कारमा गुड्थी, होटलमा अनेकन परिकार खान्थी ।
परिचयको संसार विशाल थियो- झुटै भए पनि ।
“तिम्रो नाम के हो ?” थाहा छ यहाँ कसैको नाम हुँदैन भनेर ।
“माला ।” फूलमायाभन्दा यै नाम आकर्षक छ ।
“कति मीठो नाउँ । घर कहाँ हो ?” ग्राहक भावुक होइन ।
“पोखरा । जानु भा’छ ?” कहिलेको उत्तरमा विराटनगर आउँछ, कहिले पाल्पा ।
“गएको छैन,” तर ऊ पोखराको रैथाने हो ।
“तपाईंको घर नि ?” मतलब छैन तापनि ।
“नेपालगन्ज ।” जहाँ ऊ कहिल्यै पुगेको छैन ।
“के गर्नुहुन्छ ?” ग्राहकको मोटाइको अन्दाज ।
“बिजनेस ।” जुन उसका बाउ पुर्खा कसैले गरेनन् ।
“घरमा स्वास्नी पनि होली ?” सबैभन्दा वाहियात प्रश्न ।
“तिमी जस्ती छैन ।” सबभन्दा झुटो उत्तर ।
सबैभन्दा शाश्वत र सत्य रुपियाँ हो र त्यो ग्राहकको पर्समा छ, जसलाई निकाल्नु उसको अधिकार र कर्तव्य दुबै हो ।
ग्राहकले झोलुवा मगाउँदा उसले सेकुवा र भुटुवाको अडर गर्थी । ग्राहकले नेपाली चुरोट खाँदा ऊ बेलायती मगाउथी । ग्राहकले सयकडाको कुरा गर्दा ऊ हजारको अत्तो थाप्थी । ग्राहक उसको दृष्टिमा नितान्त भेडा थिए, जसलाई मुड्नु उसको कर्तव्य थियो । अन्यथा रत्नहीन बहादुरले उसको फूलहीन नामलाई नीलडाममा परिणत गर्न बेर लाउँदैनथ्यो ।
पोहोर साल ऊ मर्यो अथवा मारियो । तिनीहरुबाटै, जसलाई उसले लिएर आउने गरेको थियो ।
“हिँड् यार, आज रत्नेलाई समातौँ ।” मातेको छ ।
“सारै बार्गेनिङ गर्छ, अन्तै जाऊँ ।” अलिकति दुनियादारी अझैं बाँकी छ ।
“साला ब्रोकरले बार्गेनिङ तेरो बाउले गर्छ ?” थ्रिलायन्समा ठर्रा पनि थप भएको छ ।
“सबैका बाउ ब्रोकर हुन्छन् यदि तेरी बहिनीजस्ती राम्री छोरी घरमा भए भने ।” यहाँ भने ठर्रामा थ्रिलायन्स थप भएको छ ।
“साला दार्शनिक नबन् ।”
“आज पर्स खाली छ यार ।”
“छ न त मसित पनि छैन । तर, साला रत्नेले धेरै ठगेको छ, हिँड् ।”
संवत २०३९ साल । पुस ७ गते । समय २४ बजे । दुवै रत्नेको ढोकामा उभिन पुगेका थिए । परम्पराअनुसार रत्नेले चिन्ने उत्सुकता देखाएन । परिचयमा बार्गेनिङ धेरै हुन सक्दैन ।
“माला ख्वै ?”
“आज छैन हजुर । साहबसित बाहिर गएकी छे ।”
“कुन साला साहब ? तैँले हामीलाई चिनिनस् ?”
रत्नेले नचिनेको भाव देखायो ।
“म हुँ ड्यानियल फ्यान्टम अनि यो हो जेम्स बन्ड ।”
तैपनि रत्ने चटपटाएन । अनि त दुबैले औँठी लगाएको मुड्कीले रक्सी खाँदाखाँदा निर्बल भएको बहादुरलाई गोद्न थाले । जेम्स बन्डले ‘अब भैगो’ भन्दाभन्दै फ्यान्टमले गर्दनमा कराँते चाप हानिहाल्यो । बिचरा रत्नबहादुर । त्यसदिन ऊ रोएकी थिई । साँच्चै रोएकी थिई ।
त्यो दिनपछि ऊ एक्ली भई, फूलपात सबैझरेर जिङ्ग्रिङ्ग ठडिएको बोटझैं, जसमा चराचुरुङ्गी, भमरा, पुतली केही बस्तैन । यो समाजमा अत्यन्त दुःख दिने पापी पुरुष पनि फोहर पुछेको काठजस्तै काम लाग्ने हुँदो रहेछ । त्यो रत्ने, जोसँग बसेर उसले भविष्यको रङ्गीन सपना देखेकी थिई, त्यो रत्ने, जोसँग प्रतिदिन चितामा डढेर बिपना भोगेकी थिई, आज नहुँदा पेट पाल्न गाह्रो भैराखेको छ ।
आज धेरै दिनपछि उसले आफ्नो भाइलाई सम्झी । बाह्र–तेह्र वर्षको अबोध भाइ सौतेनी आमाको निरन्तर झम्टाबाट जोगिन मधेस झरेको, बेपत्ता भयो । त्यसको केही वर्षपछि ऊ पनि रत्नबहादुरसँग यहाँ आएकी थिई, सुखी भविष्यको सपना बोकेर । पापी रत्ने पनि आफ्नो सम्पूर्ण बहादुरी देखाएर यो संसारदेखि बिदा भयो ।
असङ्ख्य पटक आफ्ना सपना भङ्ग भए पनि उसले सपना देख्न छोड्न सकिन । कल्पना र सपना मानिसका यिनै दुईवटा अमूल्य रत्न हुन्, जसमा कुनै बहादुरी छैन, कुनै यथार्थ छैन । कसैले खोस्न सक्दैन, जति खर्च गरे पनि रित्तिँदैन । आत्माजस्तै आजभोलि कल्पना र सपना पनि उपेक्षित र हाँस्यास्पद ठहरिएका छन् ।
सूर्य डाँडाको थाप्लोमाथि ओर्लिन थाले पनि घाम अझै उसैसँग झ्यालमा बसेको छ । थैलीबाट एउटा क्याप्सुल रेस्टेक्लिन झिकेर खाई । इन्जेक्सन दिन आज कम्पाउन्डर आउँछ कि आउँदैन ? बिजोर भएको थियो, ग्राहक पनि आउनुपर्ने ।
झन्डै एउटा पाठो नालामा नझरेको ।
केही महिनाअगाडि भाइटीकाको दिन ऊ भावुक भएकी थिई ।
उसको भावुक हुने दिन नै यही हो । अरु दिन उसले भावुक हुने फुर्सद पाउँदिन । भावुक हुँदा कल्पना गर्न र सपना देख्न फुर्सद चाहिन्छ । अन्यथा अगाडि जे आईपर्छ, त्यसैलाई भोग्दै जानुनै जीवन भएको छ ।
प्रतिवर्षझैं गत भाइटीकाको दिन पनि ऊ झ्यालमा बसेर सपना देख्तै थिई । अनि प्रतिवर्षझैँ टपरीमा फूलमाला, टीका र सेलरोटी सजाएर बसेकी थिई । मानिसहरु तल बाटोमा रङबिरङका टीका निधारमा टाँसेर, गलामा दूबो र फूलका माला झुन्डाएर ओहोरदोहोर गर्दै थिए । जताततै जुवाको खाल जमेका थिए ।
सूर्य अस्ताउना साथ उसको घर अगाडिको पहेँलो बिजुली उदायो ।
लरखराउँदै र धरमराउँदै युवक माथि उक्लियो । उसका छाया पनि ऊसँगै लरखराउँदै थियो । उसलाई देखेर फूलमाया एक्कासि झस्किई । दुरुस्तै आफ्नो भाइजस्तो लाग्यो उसलाई । उस्तै छलछन्दविहीन अनुहार, उस्तै झ्याम्म परेका आँखीभौँ र उस्तै हँसिलो अनुहार ।
आज उसको नौनीको डल्लोजस्तो हृदय पग्लेर उसको सम्पूर्ण चेतनालाई स्नेहले ढाक्न थाल्यो । त्यस स्निग्धतामा उसको व्यापारिक विवेक चिप्लिएर आत्मीयताको खाडलमा लड्यो । अनि आद्र र स्नेहपूर्ण दृष्टि लिएर उठी र त्यही युवकको दुवै हात समातेर आफ्नो खाटमा बसाली ।
“साला हारियो निक्कै…माला । हारे पनि…..”
ऊ चुप लाग्यो । फूलमायालाई आश्चर्य लाग्यो, उसले नाम पनि जानेको रहेछ । ऊ कहिल्यै यहाँ आएको जस्तो त लाग्दैन । भलाद्मी, भ्रष्टचारीझैं उसको पनि नाम चलेकै रहेछ ।
“बाबू, म तिमीलाई टीका लगाईदिउँ है ? आज भाइटीका हो ।” ऊ अत्यन्त भावुक भएर ऊतिर हेर्दैछे । ऊ भने आफ्नो मातले चिम्रिएका आँखा खोल्न प्रयत्न गर्दैछ ।
उसले टपरी अगाडि राखेर सबै विधि पुर्याउन्जेल त्यो युवक ऊतिर वाल्ल परेर हेरिराख्यो । माला लगाइदिएर जसै उसले स्नेहपूर्वक युवकको गालामा म्वाइँ खाई, त्यो बुरुक्क उफ्रियो र उसका सबै लुगा कुखुराले भुत्ल्याएझैँ भुत्ल्याएर फ्याँक्तै बरबराउँदै भन्न थाल्यो, “तेरो रेट बीस ह्वैन ?…रेट ।”
उसले चोलो खोल्ने कष्ट पनि गरेन, सबै टाँकहरु छिनालेर उदाङ्गो पार्यो । अनि कुखुराले झैँ एकछिन भ्याटभ्याट गरेर सफाइसाथ बेग्लियो ।
बाहिर सुँगुर र भित्र युवक दुवै धरती खन्दै थिए ।
बिस्तारै उसको चेतना सपनाको सिँढीबाट ओर्लिदै थियो ।
ऊ सर्वाङ्ग नाङ्गी थिई तर युवकले फ्याँकेका दस-दसका दुइवटा नोटले उसको इज्जत ढाकेको थियो । अब त्यहाँ युवक थिएन, थियो ढोका, जो ऊतिर वाल्ल परेर मुख बाएर हेर्दै थिए ।
सूर्य डाँडाँपछाडि झरिसकेछ ।
ऊ सपनाबाट बिउँझेर वर्तमानमा आईपुग्छे । कम्पाउन्डर इन्जेक्सन दिन किन आएन अहिलेसम्म ? आउला । तीन पटक गोनोरियाग्रस्त भइसकेकी थिई भने त्यस दिन टीकोटालो गरेको भाइले दिएको सिफलिस अझै ऊसँग छ । नौलो स्नेहोपहार ।
बिजोर भएको थियो, ग्राहक आउला ।
(ब्राजाकीको कथासंग्रह ‘तिम्री स्वास्नी र म’ बाट) ।
० ० ०
उदास र मलीन अनुहारकी युवती
- मनु ब्राजाकी
एउटा उदास सौन्दर्य काठमाडौँको गोंगबु बसपार्कमा उभिइरहेछ । रातो साडी–चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ तर उदास छ । सम्भवतः एक्ली हुनाले पनि होला उसको साथमा कोही देखिँदैन । उदास अनुहारमा आँखा भने चनाखा छन् ।
एउटी रुपवती युवतीले रात्रिबसमा यात्रा गर्दा चनाखो हुनै पर्यो । दृष्टिको सजगताले अनुहारको मलीनतालाई पखाल्न सकेको छैन । उसको सामु एउटा रात्रिबस उभिएको छ, जसमा अन्य यात्रीहरू चढ्दै आ-आफ्नो सिट खोज्दैछन् । ऊ पनि बसमा उक्लिन्छे र ढोकैनेरको आफ्नो सिटमा एकछिन झ्यालतिर बस्छे र पुनः ओर्लिन्छे । काँधमा झुन्ड्याएको एयरब्याग सिटमा नराखेर काँधमा बोकेको बोक्यै ओर्लिन्छे । उसले काँधमा झुन्ड्याएको एयरब्याग अलि गह्रुंगो पतित हुन्छ । किनभने एयरब्यागको फित्ता उसको मांसल काँधमा किञ्चित गाडिएको छ । उसले आफ्नो एयरब्याग सिटमा सहयात्रीको जिम्मा नछोड्नुको अर्थ हो- त्यसमा कि त आफ्नो मनपर्ने साह्रै मूल्यवान वस्तु छ, कि त ऊ यात्रामा कसैको पनि विश्वास गरिहाल्नु हुँदैन भन्ने विचारले प्रेरित छे । यो रामो कुरा पनि हो । ऊ बसबाट ओर्लिएर सजगताका साथ बस वरिपरि चनाखो दृष्टिले हेर्न थाल्छे । सम्भवतः कोही आउँदै पो छ कि ? तर, बस हिँडुन्जेलसम्म कोही पनि आउँदैन ।
ऊ आफ्नो अधवैंशे सहयात्रीतिर पुलुक्क हेरेर झ्यालतिरको आफ्नो सिटमा बस्छे । अन्ततः साढे ६ बजे बस काठमाडौँ गोंगबु बसपार्कबाट हिँड्छ । अधवैंशे सहयात्रीले देख्छ– उदास र मलीन अनुहार भएकी रूपवती केटी उसको छेउमा बसेकी छे । गोरो र भरिलो जिउडालमा रातो पहिरन सुहाएको छ । गलामा सुनको लकेटयुक्त चेन, कानमा टप र दाहिने हातको औंलामा सुनकै औंठी छ । सिटतल लत्रिएको गोडामा रातो हाइहिल जुत्ता छ । यसप्रकार मध्यमवर्गीय पहिरन र शृंगारमा सज्जित भएर सहयात्रीतिर होइन, बसबाहिर हेरिरहेकी छे । अधवैंशे सहयात्रीलाई चाहिँ सबै कुरा त्यस युवतीमा सुसज्जित भए पनि एउटा कुरा नमिलेझैं लागिरहेछ । त्यो के भने उसले एयरब्यागलाई तल आफ्नो गोडानेर राख्नुसट्टा काखमा लिएकी छे । त्यस अधवैंशेले ठट्यौलो पारामा सोच्यो, आजकाल मनीब्यागको सट्टा एयरब्याग काँधमा झुन्ड्याउने र काखमा राख्ने फेसन आएछ क्यारे !
लामो यात्रा, सुन्दर युवतीको सान्निध्य, रातमा परिणत हुँदै गएको सन्ध्याले त्यस अधवैंशेलाई युवा र वाचाल बनायो ।
"आफ्नो एयरब्यागलाई तलै राख्नुस् न, ठाउँ छ ।"
केही जवाफ आएन ।
"यसमा हीरा–मोती पक्कै पनि नहोला बरु तपाईंलाई सारै मनपर्ने कुनै वस्तु होला, हगी ?"
केही जवाफ आएन ।
उदास युवती झ्यालबाहिर नै हेरिरहेकी थिई । उसले युवतीलाई आफूतिर आकर्षित गर्न उसको काखबाट एयरब्याग टिपेर तल खुट्टानेर राखिदियो । ब्याग किञ्चित गह्रुंगो नै रहेछ । "ल, अब सजिलोसित बस्नुस् ।"
अधवैंशेले सहानुभूति देखायो । यस्तो बलात् सहानुभूतिले ऊ झस्किई । आशंकामिश्रित दृष्टिले कहिले अधवैंशेतिर र कहिले तल खुट्टानेर राखिएको ब्यागतिर हेर्न थाली । तर, उसले ब्याग पुनः आफ्नो काखमा राखिन बरु असजिलो अनुभव गर्दै घरिघरि ब्याग र अधवैंशेतिर हेर्दै रही । सहयात्री अधवैंशेचाहिँ आनन्दित भएर उसको चालामाला हेर्दै थियो । उसलाई थाहा छ, आजको रात यसै युवतीको संगतमा बित्नेछ । अतः उसले परिचय गर्ने अठोटले सोध्यो, "कहाँसम्म जानु हुन्छ ?"
"विराटनगर," मधुरो, अस्पष्ट र भयभित स्वरमा यसपटक जवाफ आयो ।
"म पनि विराटनगर जाँदैछु । विराटनगर कहाँ जानुहुन्छ ?"
केही जवाफ आएन । अनि त त्यस अधवैंशे सहयात्रीले परिचय बढाउन असंख्य प्रश्नहरू गर्यो तर कुनै प्रश्नको पनि जवाफ आएन । बरु उसले कति बेला हो, खुट्टानेरको एयरब्याग टिपेर आफ्नो काखमा राखिसकेकी रहिछे । एकोहोरो प्रश्न गर्दागर्दा त्यो सहयात्री अधवैंशे सिटमा ढल्कियो । अन्तिम पटक सिटमा ढल्किएर उसले प्रश्न गर्यो, "तपाईंको शुभनाम ?"
पुनः केही जवाफ आएन बरु मुग्लिङ आइपुग्यो । साढे १० बजेतिर मुग्लिङ बस पुगेपछि सबै यात्रीहरू खाना खान ओर्लिए । तर, ऊ आफ्नो एयरब्याग काखमा राखेर सिटमा बसिराखी ।
सहयात्रीले उसलाई खान जाऊँ भनेर कर गरेन । आफ्ना प्रश्नहरूको उत्तरहीनताले ऊ वितृष्ण भइसकेको थियो ।
मुग्लिङमा सिमसिम पानी पर्दैछ । पहाडी क्षेत्रमा मनसुन सुरु भइसकेकाले काला काला बादलहरू मुग्लिङवरपरका टाकुराभन्दा तलतल ओर्लिसकेका छन् । तर, तराई क्षेत्रमा अझै मनसुन ओर्लिसकेको छैन ।
रातिको ११ बज्यो । मुग्लिङको झिलिमिलीमा बसहरूको ओहोरदोहोर चलिरहेछ । यो बस पनि विराटनगरतिर हानिन अधैर्यतापूर्वक कराउन थाल्यो । सबै यात्रीहरू बसमा बसे । कन्डक्टरले एउटा सिट खाली देखेर चिच्यायो, "गुरुजी, पखनुस् ! एउटा पेसिन्जर आएन ।"
यसैबेला अधवैंशे सहयात्रीले देख्यो, उसको छेउको सिटमा आफ्नो काखमा एयरब्याग राखेकी युवती थिइन । बरु सिट तल एयरब्याग भने थियो । एक छिनपछि कताकता रुझ्दै खलासी आइपुग्यो, "भेटिएन गुरुजी, वरपर कुनै होटेलमा भेटिएन ।"
"पेसिन्जरको सामान यैं छ, जा खोज ।"
कन्डक्टर करायो, "काँ खोज्नु हउ ?"
१०, १५, २०, ३० तीस अर्थात आधा घण्टा बित्यो । त्यो युवती आइन । यात्रीहरू कराउन थाले । बस अन्ततः मुग्लिङ छोडेर नारायणघाटतिर हिँड्यो । अघि युवतीसँग बसेको अधवैंशे सहयात्रीले उसको उदास र सुन्दर अनुहार सम्झ्यो । पफ लगाएर निधारमा झारेको कपाल पनि सम्झ्यो अनि अझै सम्झ्यो, पक्कै भागेर माइती जान लागेकी चेली होली, यो एयरब्याग गहकिलै हुनुपर्छ । उसले ब्याग आफ्नो कब्जामा लियो ।
"हुँदैन, हुँदैन ए मिस्टर ! हामीले बुझाउनुपर्छ ।"
"त्यो मैले चिनेकी केटी हो । विराटनगरमा मेरै छिमेकी हो । म उसकै घरमा लगेर बुझाइदिन्छु ।"
"हुँदैन, हुँदैन," भनेर कन्डक्टरले ब्याग ऊबाट लियो । नारायणघाट पुगुन्जेलसम्म कन्डक्टर र त्यस अधवैंशे यात्रीको वादविवाद चर्काचर्कीसम्म पुगिसकेको थियो ।
उता, मुग्लिङमा सिमसिम पानी परिरहेथ्यो । बुटवलतिरबाट मुग्लिङ आइपुगेको र अहिले काठमाडौँतिर हिँड्ने तरखर गरिरहेको बसको खलासी ढोकामा उभिएर गाउँदैथ्यो, "सिमसिमे पानीमा ज्यानले माया मार्छ कि जिन्दगानीमा ।"
रातो साडी चोलो लगाएकी, मलिन अनुहार भएकी, उदास सौन्दर्यले त्यस बसको खलासीलाई सोधी, "काठमाडौँका लागि सिट छ ?"
खलासीले ट्वाँ परेर नियालेर हेर्यो र मनमनै र्याल चुहाउँदै भन्यो , "छ, छ सिट छ । म मिलाउँछु, झ्यालनिरै ।"
खलासीले देखाएको सिटमा गएर ऊ बसी । बस काठमाडौँतिर हिँड्यो ।
यता, नारायणघाटमा झलमल्ल तारा देखिएका छन् । एयरब्यागका लागि अधवैंशे र कन्डक्टरको झगडाले गर्दा बस नारायणघाटको पुलचोकमा अड्यो । संयोगवश गस्तीमा हिँडेका उपनिरीक्षक तीन जना प्रहरीसाथ त्यहीँ आइपुगे । कन्डक्टरले एयरब्याग प्रहरीको जिम्मा लगायो । निरीक्षणका लागि बसका यात्रीसामु एयरब्याग खोलियो । त्यसबाट फलाटिनको बाक्लो लुगाले बेरिएको नवजात तर मृत शिशु निस्कियो । मृत शिशुको घाँटी नीलो थियो । प्रहरीहरू बसमा चढे । अब प्रहरी उपनिरीक्षकको आदेशमा बस प्रहरी कार्यालयतिर जाँदैछ ।
उता, मलेखुनेर बुटवलबाट काठमाडौँ जाने बस झमझम पानीमा भिज्दै कुदिरहेथ्यो । उदास र मलीन सौन्दर्य मनसुनको बादलझैं अँध्यारिएको थियो । झ्यालनेर बसेकी ऊ झ्यालमा थाप्लो टसाएर मन, प्राण, आत्मादेखि नै झमझम बर्सिरहेकी थिई । मलेखु भिजिरहेथ्यो, काठमाडौँ जाने बस भिजिरहेथ्यो, बाहिरको अन्धकार र भित्रको खडेरी भिजिरहेथ्यो । खोलानाला उर्लिरहेका थिए । ऊ भविष्यको बाढीमा बगिरहेकी थिई । साथको सहयात्री फ्ँवाफ्ँवा निदाइरहेको थियो । उसले यति सोच्न भ्याएकी थिई– फोहोरमैला फ्ँयाक्ने त्यत्रो ठूलो काठमाडौँ खाल्डोमा उसले आफ्नो एयरब्याग किन फ्याँक्न सकिन ? बरु आफूलाई भने फेरि त्यही काठमाडौँ खाल्टोमा फ्याँक्न भनेर लगिरहेकी थिई । सहयात्री पुरुष जीवनको होस् अथवा जगतको कार्यसमाप्तिपश्चात फ्वाँफवाँ निदाइरहेको थियो । ऊ भने कार्यसमाप्तिपश्चात् बिउँझिरहेकी थिई, रोइरहेकी थिई ।
(साभार : कथाकार ब्राजाकीको कथासंग्रह 'अन्नापूर्णको भोज'बाट)