site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बसन्त चौधरीको उपन्यास ‘देवयानी’ सार्वजनिक

ललितपुर । प्रतिष्ठित उद्यमी तथा साहित्यकार बसन्त चौधरीको पहिलो उपन्यास ‘देवयानी’ एक समारोहबीच सार्वजनिक भएको छ ।

बुधबार ललितपुरको पुल्चोकमा आयोजित समारोहमा कृतिको डिजिटल विमोचन गरियो । विमोचनलगत्तै भिडियो सन्देशमार्फत् साहित्यकारहरू उषा शेरचन, विश्वविमोहन श्रेष्ठ, कुमारी लामा, बबिता बस्नेत, अमर न्यौपाने र उमा सुवेदीको पाठकीय टिप्पणी प्रस्तुत गरियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पाठकीय मन्तव्यमा साहित्यकारहरूले उपन्यासले केही पृथक कथा बोकेको, नेपाली समाजको एउटा पाटो इंगित गरेको, समाजका अनेक चरित्रलाई खुलाइएको चर्चा गर्दै उपन्यासको केन्द्रविन्दु प्रेम भएको र जीवन प्रेमभन्दा पर नभएको उल्लेख गरे ।

कार्यक्रमको अर्को चरणमा कलाकार दिव्यदेव र कृतिकार चौधरीबीच संवाद सम्पन्न भयो । संवादका क्रममा उपन्यासकार चौधरीले जीवनको यो समयमा आएर केही नयाँ गर्न मन लाग्यो र उपन्यास लेखेको बताए । उपन्यास लेख्न आफूलाई दुई वर्ष लागेको उनको भनाइ थियो ।

एक प्रश्नको उत्तरमा चौधरीले भने, “अनादिकालदेखि आजसम्म कुनै चिजस्थिर रहेको छ भने त्यो हो प्रेम । हामी सबैले जाने बुझेको कुनै कुरा छ भने त्यो पनि प्रेम नै हो ।”

उपन्यासकार चौधरीले आफूले इमानदार भएर यो आख्यानकृति लेखेको बताउँदै कृति पाठकलाई सुम्पिएको बताए । 
उक्त अवसरमा प्रकाशकका तर्फबाट साहित्यकार अन्विका गिरीले नेपाली समाजको छट्पटाहट उपन्यासमा आएको बताइन् ।

साहित्यकार चौधरीका गीत, कविता, गजल, निबन्ध गरेर दर्जनौँ कृति प्रकाशित छन् । सार्वजनिक उपन्यास साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्