
काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार २) पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, डोटी र डडेलधुरामा महाशाखाले बाढीको ‘मध्यम’ जोखिम औँल्याएको छ ।
इलाम, धनकुटा, तेहथुम, ओखलढुंगा भोजपुर ताप्लेजुङ, काभ्रे, मकवानपुर सल्यान, गोरखा, तनहुँ, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर, बाँके, दाङ, रुकुम पश्चिम, रुकुम पूर्व, रुपन्देही र प्युठान भई बहने अधिकांश साना नदीमा पनि बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, वाग्मती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । तर, यी नदीमा बहाव घटबढ भइरहने महाशाखाले जनाएको छ ।