
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका छन् । बुधबार (जेठ २८) उपमेयर सुनिता डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षसँगको भेटवार्तापछि उनी बैठक बोलाउन सहमत भएका हुन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरले ६ महिनादेखि रोकिएको नगरसभा र कार्यपालिका बैठकको प्रक्रिया अब अघि बढाइने विश्वास व्यक्त गरे । “हिजोको भेट नगरसभा र कार्यपालिकाकेन्द्रित थियो । अब नगरसभा र कार्यपालिकाको प्रक्रिया अघि बढ्छ होला,” उनले बाह्रखरीसित भने ।
महानगर स्रोतका अनुसार, सुरुमा उपमेयर र तीन वडाध्यक्षसँग भेटवार्ता भएको थियो । त्यसपछि मेयर र उपमेयरबीच छुट्टै वार्ता भएको थियो ।
मानन्धर महानगरका प्रवक्ता एवं नेपाली कांग्रेसका तर्फबाट निर्वाचित काठमाडौंका–१७ का वडाध्यक्ष हुन् । उनीसहित नेकपा (एमाले)का तर्फबाट निर्वाचित काठमाडौं–३२ का वडाध्यक्ष नवराज पराजुली र नेकपा (एकीकृत समाजवादी)मार्फत प्रतिस्पर्धा गरेर जितेका १५ नम्बर वडाका वडाध्यक्ष ईश्वरमान डंगोल वार्तामा सहभागी थिए ।
आन्तरिक विवादका कारण महानगरमा ०८१ पुस ८ गतेयता नगरकार्यपालिकाको बैठक बसेको छैन ।
मेयर बैठक बोलाउन सहमत भएसँगै महानगरको आउँदो आर्थिक वर्षको बजेटका विषयमा छलफल अघि बढाइएको छ । अब निरन्तर छलफल गरिने महानगर स्रोतको भनाइ छ ।