site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रिपब्लिक मिडियाले भन्यो– परराष्ट्र मन्त्रीबाट एकोहोरो आक्रमण भयो, मन्त्री भन्छिन्–सामान्य कुरामात्रै गरेको हो

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले परराष्ट्र मन्त्री डा. आरजु राणाले दिएको धम्कीप्रति खेद प्रकट गरेको छ ।

मन्त्री राणाले नेपाल रिपलब्कि मिडियाका निर्देशक शोभा ज्ञवालीलाई प्रकाशित समाचारका विषयमा बिहीबार दिउँसो १ बजेर ५३ मिनेट जाँदा निजी सहायक कमल रावलको ह्वाट्सएपबाट मिडिया र यसका सञ्चालकलाई धरासायी बनाइदिने धम्की दिएको जनाएको छ ।

एक विज्ञप्तिमार्फत रिपब्लिक मिडियाले भनेको छ, “निर्देशक ज्ञवालीले विनम्रतापूर्वक आफूले ती समाचार सामग्री र सम्पादकीय नपढेको र पढेपछि त्यसबारे आफ्नो धारणा बताउने भन्दा भन्दै परराष्ट्रमन्त्री राणाले एकोहोरो आक्रमण गरिरहनुभयो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तो छ विज्ञप्ति 

nrm-1749805041.JPG
 

यसैबीच परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले आफूले नागरिक दैनिक पत्रिका प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसित बिहीबार (जेठ २९) टेलिफोनमा कुरा गरेको उनले स्पष्ट पारेकी छन् । तर, नागरिकले टेलिफोन कुराकानीलाई धम्की दिएको भनेर समाचार प्रकाशन गरेको भन्दै उनले असन्तुष्टि जनाएकी छन् ।

“हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनसायसहित सामाजिक सञ्जालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो,” उनले लेखेकी छन् ।

सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव ज्ञवालीलाई आफूले दिएको उनको भनाइ छ । “बरु, मैले म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ,” उनले भनेकी छन् ।

उनले अगाडि लेखेकी छन्, “तर, हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँ (शोभा ज्ञवाली)ले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।”

मन्त्री राणाले फोन गरेर धम्की दिएको भन्दै नागरिकले शुक्रबार समाचार प्रकाशन गरेको छ । नक्सालस्थित होटेल हिल्टनमा मन्त्री राणा र कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीपुत्र जयवीरको लगानी रहेको ‘रिपोर्ट’ पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेका थिए । त्यसपछि जयवीरको उजुरीमा पाठकलाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको छ । सोही विषयमा समाचार छापेपछि ज्ञवालीलाई मन्त्री राणाले फोन गरेको नागरिकले जनाएको छ ।

“नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन,” उनले लेखेकी छन्, “म सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा छ ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्