
काठमाडौं । न्याय परिषद्ले शुक्रबार उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीशका निम्ति सिफारिश गरेको छ । मुख्य न्यायाधीशहरू सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त हुँदै गएपछि खाली थिए ।
न्यायपरिषद्को निर्णयअनुसार, उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगन्ज)का न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस गरेको छ ।
त्यसरी नै उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर पाटन उच्च अदालतकै मुख्य न्यायाधीशमा निम्ति सिफारिस भएका छन् । कुँवर सर्वाेच्च अदालतको मुख्य रजिष्ट्रारबाट उच्च अदालतको न्यायाधीश भएका थिए ।
उच्च अदालत विराटनगरका न्यायाधीश हरिप्रसाद भण्डारी उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश निम्ति सिफारिस भएका छन् । उनी उच्च अदालत तुलसीपुरमा काजमा थिए ।
उच्च अदालत तुलसीपुर (बुटवल इजलास)का न्यायाधीश राजेश्वर तिवारी उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् ।
न्यायपरिषद्ले उच्च अदालतका एक न्यायाधीशको सरुवाको पनि सिफारिस गरेको छ । उच्च अदालतका दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगन्ज) सरुवा गर्ने निर्णय गरेको छ । डाँगी वैदेशिक रोजगार न्यायाधीकरणमा काजमा थिए ।
न्यायपरिषद्ले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन (हेटौडा इजलास) मा कार्यरत न्यायाधीश डा. शान्ता सेढाईं सापकोटालाई तोक्न सिफारिस गर्ने निर्णय लिएको छ । सिफारिसमा परेका न्यायाधीशलाई मुख्य न्यायाधीश नियुक्त भने प्रधान न्यायाधीशले गर्ने छन् ।