
काठमाडौं । अमेरिकाको सनफ्रान्सिस्कोस्थित एक संघीय न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सैनिक परिचालनविरुद्धको मुद्दामा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेका छन् ।
राष्ट्रपति ट्रम्पको प्रशासनद्वारा क्यालिफोर्नियामा मेरिन र नेसनल गार्ड परिचान गर्ने निर्णयमा तत्काल रोक लगाउन पर्ने माग गर्दै दायर रिटमा सुनुवाइ गर्नुपर्ने क्यालिफोर्निया राज्यको मागमा न्यायाधीशले अस्वीकार गरेका हुन् ।
अमेरिकाको अध्यागमन एजेन्सीले अवैध आप्रवासीहरूलाई पक्राउ गर्न खोज्दा क्यालिफोर्निया राज्यको लस एन्जलसमा हिंसा भड्किएपछि राष्ट्रपति ट्रम्पको प्रशासनद्वारा मेरिन (नौसेना) र नेसनल गार्ड परिचान गरेका छन् । क्यालिफोर्निया राज्यले यसलाई गैरकानुनी भनेको छ ।
न्यायाधीश चाल्र्स आर ब्रेयरले मंगलबार तत्काल रोक लगाउने आदेश दिन अस्वीकार गरेका हुन् । तर, उनले यो सुनुवाइ बिहीबार दिउँसो साढे १ बजेका लागि समय तोकेका छन् । नेसनल गार्ड प्रयोग गरी राज्यको कानुन लागु गराउने कार्यमा रोक लगाइयोस् भन्दै अस्थायी प्रतिबन्धको माग गरिएको छ ।
क्यालिफोर्निया राज्यका वकिलहरूले ट्रम्प प्रशासनको जवाफबिना नै तुरुन्तै आदेश दिन आग्रह गरेका थिए । तर, न्यायाधीशले दुवै पक्षलाई थप लिखित तर्क पेस गर्न निर्देशन दिएका छन् ।
अमेरिकी न्याय मन्त्रालयले मंगलबार दिउँसो अदालतमा दर्ता गरेको संक्षिप्त ‘फाइलिङ’मा क्यालिफोर्नियाको मागलाई कानुनीरूपमा गलत भएको जिकिर गरेको थियो ।
यो मुद्दाले ट्रम्प प्रशासन र डेमोक्र्याटिक नेतृत्वको क्यालिफोर्निया राज्यबीचको अधिकारको संघर्षलाई उत्कर्षमा पुर्याएको छ । सीएनएन