
पोखरा । पोखरा महानगरपालिका–४ मा रहेको एक सुनचाँदी पसलका सञ्चालकलाई यौन दुर्व्यवहारको झुटो आरोप लगाउँदै रकम माग गर्ने तीनजना पक्राउ गरेका छन् । ५० लाख रुपैयाँ माग गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सो सुनचाँदी पसलमा काम गर्ने मरियम राई नाम गरेकी महिलाले आफ्ना दुईजना केटा साथीलाई मोरङ र संखुवासभाबाट पोखरा बोलाएकी थिइन् । उनले पसल सञ्चालकले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै त्यसको बदलामा ५० लाख रुपैयाँ माग्नुपर्ने बताउँदै योजना बनाएकी थिइन् ।
पोखरा–१५, टुटुंगा बस्ने २७ वर्षीय राई, उनका साथी मोरङका ३८ वर्षीय देव लिम्बू र संखुवासभाका ४० वर्षीय टेकबहादुर सुवेदी पोखरा आएका थिए । पोखरा आइपुगेपछि तीनैजनाले मिलेर सञ्चालककी श्रीमतीलाई पोखरा–६ स्थित लेकसाइडको होटेलमा राखी मानसिक दबाब दिएका थिए । उनीहरूले सञ्चालकविरुद्ध यौन शोषणसम्बन्धी मुद्दा लगाउने धम्की दिँदै ‘जिन्दगीभर पुग्ने सम्पत्ति, बस्ने घर र व्यवसायको व्यवस्था गरिदिन’ माग गरेका थिए ।
प्रहरीले दिएको जानकारीअनुसार, पीडित पक्षबाट उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले घटनामा संलग्न तीनैजनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट तीनवटा मोबाइल, बार्गेनिङ गरेको अडियोसहितको एउटा पेनड्राइभ र अन्य कागजातहरू बरामद भएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दा दर्ता गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी उनीहरूलाई अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।