site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीमा मनसुन ‘ब्रेक’ ! सामान्य कि असामान्य ?
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशमा मनसुन भित्रिएको १३ दिन भइसकेको छ । जेठ १५ गते राति कोसी प्रदेशमा मनसुन भित्रिएको थियो । 

१३ दिन भए पनि मनसुन कोसी प्रदेशबाट पश्चिमतर्फ अगाडि बढेको छैन । अझै केही समय कोसी मै मनसुन सीमित रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही समय भनेको कति हो त्यो भने विभागले प्रष्ट पारेको छैन । 

मौसमविद् मीनकुमार अर्याल अबको दुई/तीन दिनबाट मनसुनले गति लिने बताउँछन् । 

Argakhachi Cement Island Ad

“भोलिबाट देशभर हल्कादेखि मध्यम वर्षा हुँदै छ,” उनी भन्छन्, “तर, प्रणाली परिपक्व हुन केही दिन लाग्ने देखिन्छ । भोलिको दुई/तीन दिनबाट भने मनसुनले गति लिने देखिन्छ ।” 

मनसुन कोसी प्रदेशमा लामो समय ‘ब्रेक’ हुनु सामान्य भएको उनको भनाइ छ । यसअघिका वर्षमा पनि यस्तो हुने उनी स्मरण गराउँछन् । गर्त वर्ष कोसी प्रदेशमा ९ दिन मनसुन ‘ब्रेक’ भएको थियो । 

“कोसी प्रदेशबाट बंगालको खाडीनजिकै रहेकाले त्यहाँ मनसुनी वायु नेपालमा अन्य प्रदेशको तुलनामा चाँडै आउँछ । कोसी नदीबाट पनि वायु फ्लो भइरहेको हुन्छ,” उनी भन्छन्, “त्यही भएर कोसीमा सधैँ अन्य प्रदेशमा भन्दा चाँडै मनसुन भित्रिन्छ । र, केही समय त्यहीँ रहन्छ । यो सामान्य प्रक्रिया हो ।” 

कोसी प्रदेशमा मनसुनी वायु रहने तर त्यसबाट पश्चिमतर्फ पश्चिमी र स्थानीय वायुको प्रभाव रहने भएकाले पश्चिमी र स्थानीय वायुको ‘डोमिनेन्स’ मनसुनी वायुमा रहँदा कोसीमा मनसुन लामो समय सीमित हुने गरेको मौसमविद् आर्यालको भनाइ छ । 

पानी पर्नुलाई मात्रै मनसुन हो भन्ने बुझ्न नहुने उनको भनाइ छ । “पानी पर्दा मात्रै मनसुन सक्रिय छ भन्ने होइन । मनसुन ब्रेक पनि हुन्छ । ब्रेक लागेको समयमा मनसुन छैन भन्नु गलत हो । मनसुनमा एक्टिभ र ब्रेक भन्ने हुन्छ,” उनी प्रष्ट पार्छन्, “मनसुन ब्रेक हुँदा पानी पर्दैन । एक्टिभ हुँदा वर्षा हुन्छ । दुवै अवस्थामा मनसुनी प्रणाली सक्रिय हुन्छ । अहिले कोसी प्रदेशमा भएको पनि यही नै हो ।” 

पश्चिमी वायुभन्दा मनसुनी वायु थप सक्रिय र स्ट्रङ भएपछि मात्रै अन्य प्रदेशमा मनसुन फैलिँदै जाने उनको भनाइ छ । 

भित्रिसकेको मनसुन फर्किने भन्ने नहुने पनि उनी प्रष्ट पार्छन् । मनसुनमा भएको ‘ब्रेक’लाई मनसुनी प्रणाली नै फर्कियो भनेर बुझ्नु गलत हुने उनको भनाइ छ । 

“यदि, कसैले मनसुन कोसी प्रदेशमा प्रवेश गरेर फेरि फर्कियो भन्छ भने त्यो गलत हो । भ्रम फैल्याउने काम गर्नु हुँदैन,” मौसमविद् आर्याल भन्छन्, “जल तथा मौसम विज्ञान विभागका कोही पनि मौसमविद्ले मनसुन फर्कियो भनेको छैन ।” 

मनसुन सक्रिय भएको घोषणा गर्नलाई दुई दिनसम्म वर्षा हुनुपर्ने, ६० प्रतिशतभन्दा बढी भूभागमा वर्षा भएको हुनुपर्ने मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । यी मापदण्ड पूरा भएपछि मात्रै मनसुनको घोषणा गर्न सकिने उनको बताउँछन् । 

गत वर्ष कोसी प्रदेशमा नौ दिन मनसुन सीमित भएको थियो । तर, यो वर्ष यो रेकर्ड तोडिएको छ । १५ गते राति कोसीमा आइपुगेको मनसुन त्यहाँबाट अगाडि सर्न सकेको छैन । 

मनसुन पूर्वबाट प्रवेश गरी सुदूरपश्चिमसम्म फैलिन्छ । यसका लागि केही समय लाग्ने गरेको छ । 

मौसमविद् डेबिड ढकालका अनुसार गत वर्ष मनसुन देशभर फैलिन करिब १३ दिन लागेको थियो । 

सामान्यतया मनसुन देशभर फैलिन सातदेखि १२/१५ दिनसम्म लाग्ने गरेको उनी बताउँछन् । तर, यसपटक १३ दिन कोसीमै मनसुन सीमित भएको छ । 

गतवर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन असार १० सम्म लागेको थियो । 

मनसुन प्रवेश गरेपछि पश्चिमबाट वायु पूर्वतर्फ चल्यो भने मनसुन देशभर फैलिन लामो समय लाग्ने तर हावाको बेग पूर्वबाट पश्चिमतर्फ चल्यो भने चाँडै मनसुन देशभर फैलिने गरेको मौसमविद् ढकाल बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्