
काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा तीन दिन विद्यालय बन्द गरिने भएको छ । बुधबार (जेठ २८)देखि शुक्रबार (जेठ ३०)सम्म गर्मी बिदा दिइएको गाउँ कार्यपालिकाको कार्यालयले जनाएको छ ।
उक्त अवधिमा बेलडाँडीअन्तर्गतका सबै सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले मंगलबार (जेठ २७) लेखेको पत्रमा उल्लेख छ ।
“उपरोक्त विषय सम्बन्धमा हाल बढिरहेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनमा समस्याका साथै शिक्षक तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था भएको र सो सम्बन्धमा विद्यालयहरूबाट पनि गर्मी बिदा माग भई आएकोले शैक्षिक क्यालेन्डर २०८२ मा उल्लेखित गर्मी बिदाबाट मिलान हुने गरी बेलडाँडी गाउँपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा यही मिति २०८२।०२।२८ गतेदेखि मिति २०८२।०२।३० गतेसम्म गर्मी बिदा दिइएको व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ,” विद्यालयहरूलाई लेखिएको पत्रमा उल्लेख छ ।