
काठमाडौं । सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ । मंगलबार (जेठ २७) सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले एनआरएनए नागरिकतासम्बन्धी छुट्टै ऐन र त्यो प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गरिने बताए । परराष्ट्र मन्त्रालयको नेतृत्वमा ऐन निर्माण भइरहेको उनले जानकारी दिए ।
“गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा सरकारले बेग्लै विधेयक तयार गर्दै छ । त्यसमा संविधानको भावना र संविधानको व्यवस्थाबमोजिम गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक हकअधिकार उपभोग गर्ने व्यवस्था त्यसले गर्छ,” उनले भने ।
गृहमन्त्री लेखकले गोर्खा सैनिकका समस्या समाधान गर्न नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न लागिएको स्पष्ट पारे । गोर्खा सैनिकका मागका विषयमा अझै छलफल जरुरी रहेको उनले उल्लेख गरे । उनले गोर्खा सैनिकले उठाएको माग संविधानसँग नै सम्बन्धित रहेको बताए ।
“गोर्खा सैनिकको विषय पनि अहिले निकै चर्चामा छ । तर, यसमा अहिले मेरो धेरै अनुरोध छैन । वास्तवमा गोर्खा सैनिकका समस्या समाधान गर्नको लागि यो विधेयक प्रस्तुत गरिएको होइन,” उनले भने, “किनभने, यसमा अझै छलफल बाँकी छ ।”
गोर्खा सैनिकले बेलायतको नागरिकता पाए पनि नेपालको वंशजको नागरिकतालाई निरन्तरता दिनुपर्ने माग राख्दै आएका छन् । न्युज एजेन्सी नेपाल