
काठमाडौं । स्कटल्यान्डमा सञ्चालन भइरहेको आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्डसविरुद्धको आजको खेलमा सोमपाल कामी र गुल्सन झाले नखेल्ने भएका छन् ।
अभ्यासका क्रममा घाइते भएका कारण दुवैजनाले मंगलबारको खेलका साथै टी–ट्वान्टी आई त्रिकोणीय सिरिजका सम्पूर्ण गुमाउने भएका हुन् ।
“सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले उनीहरूले आजको खेल तथा टी–ट्वान्टी आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने छन्,” नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेका कारण चिकित्सकको परामर्शपश्चात् नेदरल्यान्ड्सविरुद्धको खेल र टी–२० आई त्रिकोणीय शृंखलाका सम्पूर्ण खेलमा समेत सहभागी हुन नसक्ने विज्ञप्तिमा जनाइएको छ ।रासस