site stats
बाह्रखरी :: Baahrakhari
खेल
राजेन्द्र र भगवती सहायक प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षकमा राजेन्द्र तामाङ र भगवती थापालाई नियुक्त गरिएको छ । मंगलबार (जेठ २७) अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरूलाई सहायक प्रशिक्षक नियुक्त गरेको हो ।

योसँगै राष्ट्रिय टिमको अफिसियलको टुंगो लागेको छ । मुख्य प्रशिक्षकमा प्याट्रिक वाइल्ड छन् । गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा र टिम म्यानेजरमा बिन्द्रा देवान रहेका एन्फाले जनाएको छ ।

Argakhachi Cement Island Ad

तामाङ यसअघि मुख्य प्रशिक्षक थिए । एन्फाले उनलाई टिमको पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक वाइल्डको नियुक्तिपछि उक्त जिम्मेवारी दिएको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा महासचिव किरण राईले उनीहरूलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

वाइल्डको नेतृत्वमा अब नेपालले आसन्न एएफसी एसियन महिला कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । समूहबाट विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा स्थान पक्का गर्नेछ ।

छनोटअन्तर्गत नेपालले यही जुन २९ मा लाओससँग खेल्नेछ । जुलाई २ मा श्रीलंका र जुलाई ५ मा उज्वेकिस्तानसित खेल्ने तालिका छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्